दुई वर्ष पुरा भएका बच्चालाई किन पठाउने प्रि स्कुल?

कक्षाकोठामा थरीथरीका सामग्री । हस्तकलामार्फत बनाइएका सामग्रीले कक्षाकोठा सजिएका । यिनै कलात्मक सामग्रीले साना नानीहरूको मन तानेको छ । जसका कारण साना बालबालिका कक्षामै भुल्ने गर्छन् । बाहिर निस्कन मान्दैनन् । कक्षाकोठामा नाच्छन्, गाउँछन्, रमाउँछन् । शिक्षिकाले उनीहरूलाई सघाउँछिन् ।

यस्तै वातावरणमा बालविकासका बालबालिकाले रमाइलो गर्दै पढ्ने गरेका छन् । विद्यालयमा बालमैत्री शिक्षण सिकाइ क्रियाकलाप हुने गरेको छ । मनोरञ्जनसहितको वातावरणमा उनीहरूलाई पढाउने गरिन्छ । ‘ क’ देखि ‘ज्ञ’ सम्मका अक्षरअनुसार सामग्री सजाएर राखिएका छन् । सामग्री देखाएरविद्यार्थीलाई ‘कखरा’ चिनाउने काम भइरहेको छ । पढाएका कुरा बालबालिकाले छिट्टै बुझून् भनेर यस्तो अभ्यास गरिन थालिएको छ । बालबालिकालाई गोलो आकारमा राखेर एकै स्वरमा कखरा भन्न लगाउने पनि गरिएको छ । काँइयो, खरायो, गमला, घर, चरा, छाता, जरायो, झन्डा, टोपी, डमरु, ढक्की, तराजु, ठेकी, दराज, धनुष, नरिवल, परेवा, फर्सी, भकुण्डो, बल, मकै, मादल, यज्ञको चित्रलगायत सामग्री कक्षाकोठामा सजाएर राखिएको छ ।

घरमा बसेर खेल्नु भन्दा स्कुल जादा केही सिक्ने
घरमा खेलेर बस्नुभन्दा मन्टेश्वरीमा गए थोरै भएपनि बाबुनानीले पढ्छन् र सिक्छन्’ ललितपुरको गोदावरी नगरपालिकाकी रश्मी घिमिरेले भनिन्, ‘साना बालबालिकालाई एकैपटक स्कुलमा पढ्न पठाउनुभन्दा सुरुमा प्रिस्कुलमा लैजाँदा राम्रो, त्यहीँ खेल्छन्, सिक्छन्, त्यहीँ खान्छन् निदाउँछन् । काममा व्यस्त हुने अभिभावकलाई पनि सजिलो हुन्छ, अहिले त टोलटोलमै मन्टेश्वरी, बालविकास केन्द्र, अनेकौं नामका प्रिस्कुल पनि खुल्न थालेका छन् ।

उनले पाँच वर्षभन्दा मुनिका बालबालिकाको लागि अहिले पूर्व स्कुलको कक्षाको रूपमा विकास भइरहेको मन्टेश्वरीमा आकर्षण भइरहेको बताउँदै आफूले पनि प्रिस्कुलमा आफ्ना सन्तान पठाएको बताइन् ।

विराटनगरबाट बसाइँसरी आएकी उनका दुई सन्तान, एक छोरा, एक छोरी गोदावरीकै एक इंग्लिस स्कुलमा पढिरहेका छन् । दुई सन्तानका अभिभभावक रश्मीले दुई वर्ष कटेका र सोभन्दा साना उमेर भएका बालबालिकालाई प्रिस्कुलमा राख्दा उनीहरूको भविष्यका लागि निक्कै फाइदा पुग्ने बताइन् ।

काममा व्यस्त अभिभावकलाई पनि सजिलो
उनीमात्र नभएर उनकी छिमेकी शिला श्रेष्ठले पनि बालबालिकाका लागि प्रिस्कुल स्वर्ग नै भएको अनुभव गरेकी छन् । त्यस्ता स्कुलले बालबालिकालाई मात्र नभएर अभिभावकलाई पनि फाइदा पुगेको अनुभव उनी यसरी सुनाउँछिन् । ‘आमाबुबा कामको सिलसिलामा व्यस्त हुने, उनीहरूलाई घरमा हेर्ने मानिसको अभाव हुने, घरमा खेलेर बस्नुभन्दा सानै उमेरदेखि पढ्ने लेख्ने बानीको विकास हुने गरेको छ, यसले मलाई निक्कै सजिलो भएको छ ।’

बालबालिकाको आत्मविश्वास र मनोवैज्ञानिक विकास
कक्षाकोठामा सामग्रीलाई ६ वटा ‘कर्नर’ मा राखिएको कारण शैक्षिक स्थितिमा सुधार ल्याउन मद्दत पुगेको छ । प्रिस्कुल बच्चाहरूलाई सामाजिक बनाउने थलो हो । स्कुलमा उनीहरूले नयाँ साथी बनाउन पाउँछन् । समूहमा रहेर काम गर्न सिक्छन् । प्रिस्कुल बच्चाहरूलाई सामाजिक बनाउने थलो हो । स्कुलमा उनीहरूले नयाँ साथी बनाउन पाउँछन् । समूहमा रहेर काम गर्न सिक्छन् । बालबालिकामा आत्मविश्वास वृद्धि गर्न, मनोवैज्ञानिक विकास गर्न पनि पूर्व प्राथमिक विद्यालय आवश्यक हुन्छ ।

‘हामी बालबालिकालाई विभिन्न सामाजिक क्रियाकलापका बारेमा सिकाउँछौँ, दैनिक जीवनका कुराहरू सिकाउँछौँ, जस्तो बत्तीको स्विच कसरी प्रयोग गर्ने, ट्राफिक नियम, ठूला मान्छेहरूसँग बोल्ने तरिका, लुगा लगाउने तरिका सिकाउँछाँै ।’ यस्ता क्रियाकलापले बालबालिकाको सामाजिकीकरणमा सहयोग पुगिरहेको छ । विभिन्न चाडपर्व र उत्सवहरूमा पनि बालबालिकालाई सहभागी गराइन्छ । स्कुलमा बालबालिकाको जन्मदिन पनि सामूहिक रूपमा मनाउने गरिएको छ ।’ प्रिस्कुल सञ्चालकहरुले बताए ।

विद्यालय तहको अध्ययन सुरु हुनुभन्दा पहिला नै उनीहरूलाई सिकाइने पठनपाठन र अतिरिक्त क्रियाकलापले विद्यालयमा पढाउने शिक्षकहरूलाई मात्र नभएर स्वयम् त्यो अवसर पाएका बालबालिकाको शैक्षिक भविष्यका लागि सहज हुनेमा दुईमत छैन । यो सम्बन्धमा भएका अध्ययन, अनुसन्धानले पनि त्यो कुरालाई पुष्टि गरिसकेको छ ।

:1142 Views

Leave a Reply