देवी माविले स्वर्ण स्मारिका निकाल्ने, सहयोग गर्न प्रअको आग्रह

भक्तपुर ३१ भदौ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीस्थित देवी माध्यमिक विद्यालयले स्वर्ण स्मारिका प्रकाशन गर्ने भएको छ ।

विक्रम सम्वत २०२५ सालमा स्थापना भएको उक्त विद्यालयले आफ्नो स्वर्णजयन्तीको अवरमा स्मारिका प्रकाशन गर्ने तयारीमा लागेको सो विद्यालयका प्रधानाध्यापक राजाराम छुकांले बताए ।

सोही विद्यालयबाट २०५८ सालमा प्रवेशिका परीक्षा(एसएलसी) दिएका विद्यार्थीहरुको आयोजनामा शनिबार भएको भेटघाटमा प्रधानाध्यापक छुकांले सो जानकारी दिँदै स्वर्ण स्मारिकाका लागि मात्र नभएर विद्यालयको विकासका लागि सहयोग गर्न पनि अनुरोध गरेका थिए ।

उनले विद्यालयले अहिले अभिभावकको मागअनुसार अँग्रेजी र नेपाली माध्यम गरी दुई माध्यमबाट पठनपाठन गराइरहेको बताउँदै दुई माध्यमबाट विद्यालय सञ्चालनको व्यवस्थापन गर्न मुश्किल भइरहेको उल्लेख गरे ।

सोही कार्यक्रममा उनले शिक्षामा क्रमशः गुणस्तरीयता कम हुँदै गएको अनुभव सुनाउँदै सरकारले ल्याएको अक्षरांकन प्रणाली र फेल नहुने भन्ने भ्रमको सिकारमा विद्यार्थी पर्दा त्यसको असर समग्र विद्यालयमा परिरहेको पनि बताए ।

भेटघाटमा शिक्षकहरु रामगोपाल कोजू, राजन कपाली र कविर खड्कालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा हरिसुन्दर छुकां, प्रमेश्वर खड्कालगायतले भेटघाटको सान्दर्भिकताबारे चर्चा गरेका थिए ।

भेटघाटमा सहभागी विद्यार्थीहरुले विद्यालयको हितका लागि आवश्यक सहयोग गर्न आफूहरु तत्पर रहेको पनि बताएका थिए ।

:955 Views

Leave a Reply