नपढेको दिन छट्पटाउने शिक्षाविद् केदारभक्त माथेमा

Social studies

मैले कक्षा ८ देखि १० सम्म त्रिपुरेश्वरको विश्व निकेतनमा पढेँ । त्योभन्दा अघिको पढाइचाहिँ भारतमा भएको हो । कक्षा ९–१० मा पढ्दा जस्तो लाग्छ, साथीहरूसँग मिलेर पहिलोपटक ब्रिटिस, अमेरिकन र इन्डियन लाइब्रेरीमा गएर किताबहरू पढेको । त्यहीबेला हो लाइब्रेरीमा गएर किताबसँग नाता गाँसेको । आइए पढ्न थालेपछि झन् बढी पढ्ने बानी बस्यो । स्नातक तहसम्म पुग्दा त धेरै किताब पढिसकेको थिएँ ।

म आइए पढ्दै गर्दा सानेपा त गाउँ नै थियो । त्यसबेला म र साथीहरूले मिलेर एउटा पुस्तकालय बनायौँ । हामीले कविता, लघुकथाहरू समावेश गरेर हस्तलिखित म्यागेजिन पनि चलायौँ । त्यो म्यागेजिन एउटाले पढी भ्याएपछि अर्कोले पढ्थ्यो ।

मैले पढेका धेरै पुस्तकहरू छन् जसले मेरो जीवनमा गहिरो प्रभाव पारेको छ । मलाई मन पर्ने पुस्तक पनि धेरै छन् । लेखकहरू पनि धेरै छन् । म सबै किसिमका किताबहरू पढ्न रुचाउँछु । उपन्यास, नन् फिक्सन, लगायत थुप्रै विधाका किताबहरू पढ्छु ।

नेपालमा नै उपलब्ध भएका पुुस्तक किनेर पढ्छु । कुनै किताब बाहिर साथीहरूबाट मगाउँछु । कुनै किताब एकदमै नयाँ हुन्छन् जुन मार्केटमा नै नआएका किताबहरू पर्यटकहरूले ल्याएका हुन्छन् । ती किताब सेकेन्डह्यान्डमा ल्याएर पढ्छु र खुब रमाइलो पनि हुन्छ ।

पुस्तकहरू छनोट गर्ने केही आधारहरू बनाएको छु । पहिलो त रिभ्यूहरू हेरेरै हो । तर रिभ्यूले नभ्याएका कति पुस्तक पनि म भेट्टाउँछु । पुस्तकालयमाभन्दा पनि पुस्तक पसलहरूमा गएर राम्रा र नयाँको खोजी गर्ने गरेको छु । कुनै पुस्तकका लेखकले पुस्तकप्रति आकर्षित गर्छ त कुनै पुस्तकका विषयवस्तुले ।

पुस्तक पढ्ने बानी भएपछि बजारमा केही नयाँ पुस्तक आयो कि भनेर चासो हुने रहेछ । उपन्यासकार मुराकामी मेरो रोजाइका लेखक हुन् । उनको पुस्तकको प्रतीक्षा हुन्छ मलाई । त्यस्तै जापानका अङ्ग्रेजी लेखक इसु गुरुका पुस्तक पनि पढ्न मन पर्छ । शिक्षासँग सम्बन्धित विषयहरू पनि खोजिरहन्छु ।

अहिले त नेपाली राम्रा राम्रा पुस्तकहरू निस्किरहेका छन् । तिनमा पहिलेभन्दा धेरै सुधार आएको छ । भर्खरै गिरिस गिरीको विरगञ्ज पढेँ । मोहन मैनाली, खगेन्द्र संग्रौला लगायत अन्य नेपाली लेखकहरूका पुस्तकहरूले बजारमा स्थान ओगट्न सफल हुनुले यो प्रमाणित गर्दछ । नेपालको साहित्यिक यात्रा त खासै त्यति लामो छैन । तर नभए पनि नेपाली साहित्यले जुन फड्को मारेको छ त्यो भने प्रशंसनीय छ ।

मलाई पढ्दा मज्जा आउँछ । म पढेरै दिन विताउन चाहन्छु । तर यो सधैँ सम्भव छैन । कार्यक्रमहरूका निमन्त्रणाहरू आइरहन्छन् । त्यसैले कहिलेकाहीँ त सोचेजति र चाहेजति पढ्न पनि पाउँदिन । पढ्नै नपाएको दिन त मलाई दिक्क लाग्छ, छटपटी हुन्छ । विहान, दिउँसो, बेलुकी मेरो स्टडी कर्नरमा बसेर पढ्नु मेरो अति प्रिय काम हो ।

पुस्तकहरू छनोट गर्ने केही आधारहरू बनाएको छु । पहिलो त रिभ्यूहरू हेरेरै हो । तर रिभ्यूले नभ्याएका कति पुस्तक पनि म भेट्टाउँछु । पुस्तकालयमाभन्दा पनि पुस्तक पसलहरूमा गएर राम्रा र नयाँको खोजी गर्ने गरेको छु । कुनै पुस्तकका लेखकले पुस्तकप्रति आकर्षित गर्छ त कुनै पुस्तकका विषयवस्तुले । ठमेल र पोखरातिर जाँदा विशेष त पुरानापुराना कितावहरू खोजेर ल्याउँछु । किनेर ल्याएका सबै किताव पढ्न पाएको हुन्न । मौका मिल्ने वित्तिकै पढिहाल्छु । मलाई नामुद इकोनोमिस्ट ग्यालब्रेथद्वारा लिखित ‘आन एम्बेसेडर जर्नल’ पढ्ने मन छ । मेरा मित्र हरि शर्माले पढ्न दिन्छु भनेका छन् । प्रतीक्षारत छु । यस्तो लाग्छ, किताब मेरा लागि बाँच्ने सहारा हो ।

हामीकहाँ धेरै पढ्ने तर हल्ला नगर्ने मानिसहरूको संख्या ठूलो छ । नपढ्नेको संख्या पनि उत्तिकै छ । आजभोलि काम गर्नका लागि पढ्ने तर काम सकेपछि पढ्दै नपढ्ने संस्कृतिको विकास भइरहेको छ । तर, अहिलेको युवा पुस्तामा भने पढ्ने बानीको विस्तारै विकास भएको पाइनुले आशाबादी हुन सकिन्छ ।

पठन संस्कृतिको विकासका लागि सर्वप्रथम स्कुल तथा कलेजबाट सुरुवाती कदम चाल्नुुपर्छ । विद्यार्थीलाई कोर्सका किताबबाहेक बाहिरी किताब पढ्न प्रोत्साहन गर्नुपर्छ । शिक्षकहरूले पनि उनीहरूलाई किताबबारे चर्चा गरेर पढ्नका लागि उत्सुक बनाउन आवश्यक छ । पुस्तकालय प्रयोगमा जोड दिन पर्छ ।

तर विडम्बना नेपालमा पुस्तकालयको अभाव छ । हरेक सहरमा सार्वजनिक पुस्तकालयको निर्माण गर्न जरुरी छ । सरकारले यो विषयमा मुख्य भूमिका खेल्नुपर्छ ।

:497 Views

Leave a Reply