नयाँ लुगा लगाउन दशैं कुर्नुपर्थ्यो

मेरो जन्म गोर्खा जिल्लाको नाम्जुङ गाविसमा भएको हो । अहिलेसम्म मैले ४५ वटा दसैँ–तिहार मनाइसकेँ । सानोमा दसैँ–तिहार आएपछि खुब रमाइलो मान्थेँ । मीठो भोजन, जमघट, खसी काट्ने, पिङ खेल्ने, टीका लगाउने, नाता–कुटुम्ब जम्मा हुने भएकाले बाल्यकालको चाड निकै रौनकले भरिएकोजस्तो लाग्थ्यो । चाडपर्वहरूका सन्दर्भमा भने गाउँमा हुँदा मजाले मनाइन्थ्यो । अहिले र पहिलाको समयलाई तुलना गर्दा धेरै परिवर्तन भएजस्तो लाग्छ ।

बाल्यकाल भनेकै सबैभन्दा रमाइलो गर्ने उमेर हो जस्तो लाग्छ । तर, अहिले परिपक्व सदस्यको नाताले हामीले आफ्ना छोराछोरी र इष्टमित्रका लागि सोच्नुपर्छ ।

सानो बेलामा हामीले दसैँलाई नयाँ कपडा लगाउने पर्वका रूपमा लिन्थ्यौँ । अहिलेजस्तो समय कहाँ थियो र ? नयाँ कपडा दसैँमै मात्र पाइन्थ्यो । त्यसैले त्यस बेलाको दसैँको महत्त्व ज्यादै उच्च थियो ।

हुन त चाडपर्व मनाउनलाई उमेरले छेक्दैन । तर, उमेरअनुसारको मनाउने शैली, भोगाइ र अनुभवमा भने फरकपन आउने रहेछ । सरकारी सेवाको सिलसिलामा म कहिलेकाहीँ बाहिर नै बस्नुपर्ने भएकाले दसैँ र तिहारको टीका लगाउन नपाउँदा घर परिवार र दिदीबहिनीको बेजोड सम्झना आउँथ्यो ।

आजभोलिको चाडपर्व पनि फेरिएको हो कि जस्तो लाग्छ । पहिलेजस्तो रौनक बोकेर आउन छाड्यो जस्तो लाग्छ । सहरमा मात्र होइन, गाउँमै जाँदा पनि दसैँ कता–कता खल्लो लाग्छ । गाउँलाई पनि सहरी हावाले छोएको जस्तो लाग्छ । पहिले–पहिले आफूलाई वर्षभरि चाहिने सामान आफँैले उत्पादन गरेर राखेका हुन्थे, अहिले त्यो अवस्था हराउँदै गएको छ ।

खानपिनदेखि जीवनशैलीमा नै परिवर्तन हुन थालेको महसुस हुन्छ । हामी ब्राह्मण परिवारमा हुर्किएकाले खसीको मात्र मासु खान्थ्यौँ । त्यसैले मासु खान दसैँ कुर्नुपथ्र्यो तर, अहिले मासु खान चाडपर्व कुर्नुपर्दैन । यसले गर्दा हामीमा पहिलाको जस्तो चाडपर्वको रौनक छैन । आधुनिकता र विलासिताले गर्दा फरकपन आएकोजस्तो लाग्छ ।

दसैँ–तिहारमा धेरैजसो मानिस गाउँघर फर्केर जाने चलन अझै पनि व्याप्त छ । विदेशमा भएका मानिसहरू देश फर्कन्छन् । वास्तवमा जहाँ जन्मियो त्यहाँको जस्तो अपनत्व अन्त कहीँ हुँदैन । मेरो गाउँमा बुबाआमा हुनुहुन्न । गाउँमा जग्गा–जमिन त छ, तर त्यहाँ बसाइको व्यवस्थापन छैन । त्यसैले पनि चाडपर्वको रौनक खासै छैन । हामी भने प्रायःजसो दसैँ– तिहार यतै मनाउँछौं।

आफ्नो धर्म–संस्कृतिको जगेर्ना गर्नका लागि यस्ता खालका चाडपर्व मनाउनुपर्छ जस्तो लाग्छ । दसैँको टीका आफ्ना मान्यजन त्यसमा पनि आफ्नै बुबाआमाबाट लगाउने प्रचलन छ । मेरो हकमा भने बुबाआमा बितिसक्नुभएको कारणले चाडपर्वमा बेसरी उहाँहरूलाई सम्झन्छु । बुबाआमा भनेको फेरि पाउने कुरा होइन रहेछ ।

:719 Views

Leave a Reply