निजि चिन्तित, सरकारी उदासीन

computer education

हरिसुन्दर छुकां/ काठमाडौं । ‘असल अभिभावकत्व बारेमा तीनघण्टा धाराप्रवाह रुपमा बोल्नुभयो, तीनघन्टा सकिएको पत्तै भएन ।’ असल अभिभावकत्वबारेमा गरिएको अभिमुखीकरण कार्यक्रमको अन्त्यपछिको चिया खाँदै गरेका एक अभिभावकले सँगै रहेका अर्का अभिभावकलाई सुनाए ।

हातमा प्लेट बोक्दै रहेका अर्का अभिभावकले पनि उनको कुरामा सहमत जनाए । उनले सहमति सूचक टाउकोमात्र हल्लाएनन्, उनले थपे पनि, ‘साँच्चै, कति मीठो र कति कामलाग्ने कुरा त्यो पनि मन छुने किसिमले सुनाउनुभयो, मेरो पनि मन छोयो, आज यहाँ नआएको भए… ।’

पछिल्लो समयमा बढेको अभिभावक शिक्षा कार्यक्रममा अभिभावकहरुको उपस्थिति बाक्लिएको छ । अभिभावक शिक्षाका लागि विशेष कार्यक्रमको आयोजना विद्यालयहरुबाट हुन थालेका छन् । ‘तीन वर्षअघि नै यो कार्यक्रम गरिएको भए, मेरो छोरा….. हुने थिएन ।’ एक विद्यालयद्वारा आयोजित अभिभावक शिक्षा कार्यक्रमले आफूलाई असल अभिभावकत्वबारेमा जानकार बनाएको बताउँदै अभिभावकले भने ।

उनले प्रत्येक अभिभावकलाई असल अभिभावकत्वबारेमा ज्ञान आवश्यक हुने ठम्याए । उनीमात्र होइन, अभिभावक शिक्षा अभियानमै लागिरहेका अभियन्ताहरु क्रमशः हेमन्त पनेरु, रविन कटवाल, कमल सिलवाल र महालक्ष्मी आचार्य पनि अभिभावक शिक्षाको जरुरी रहेको बताउँछन् ।

सन्तानलाई जन्माएर, हुर्काएर, पढाएरमात्र असल अभिभावक नहुने रहेछ, सन्तानलाई संस्कार दिन सकेको खण्डमा मात्र अभिभावकीय दायित्व पूरा गरेको ठहरिने रहेछ

उनीहरुले अभिभावक शिक्षाको महत्व बुझेरै आफूहरु त्यसतर्फ लागिरहेको बताए । ‘असल अभिभावकत्वसम्बन्धी अभिमुखीकरणबाट अभिभावकहरु प्रभावित पनि भएका छन् । उनीहरुले आफ्नो सन्तानलाई कसरी सिकाउने भन्ने तरिका, कसरी उत्साहित बनाउने भन्ने कुरा अभिमुखीकरणबाट थाहा पाएको प्रतिक्रिया दिने गरेका छन् । ’ उनीहरुको साझा मत छ ।

‘सन्तानलाई जन्माएर, हुर्काएर, पढाएरमात्र असल अभिभावक नहुने रहेछ, सन्तानलाई संस्कार दिन सकेको खण्डमा मात्र अभिभावकीय दायित्व पूरा गरेको ठहरिने रहेछ ‘अहिलेका अभिभावकहरु निक्कै व्यस्त भइरहेका छन्, सन्तानलाई विद्यालय पठाए पुग्यो, मेरो दायित्व सकियो भन्ने मानसिकता अभिभावकमा  छ । आफ्नो कुरा सबै विद्यालयले नै गरिदेओस् भन्ने चाहिरहेका छन् । यस्तो अवस्थामा अभिभावकलाई अभिभावक शिक्षाको जरुरी छ । यही आवश्यकतालाई मनन् गरी अभिमुखीकरणमा सरिक भइरहेको छु ।’ मनोपरामर्शकर्ता रविन कट्वालले भने ।

मनोपरामर्शदाता कटवालले अभिभावकहरुको व्यवहारको सिकारमा सन्तान परिरहेको उल्लेख गर्दै अभिभावक नै सचेत र जागरुक हुनुपर्ने र उक्त कामको बोझ पनि स्कुलले नै उठाउनुपर्ने समय आएको बताए । ‘विद्यार्थीको भविष्यको लागि विद्यालय, शिक्षकले मात्र ध्यान दिए नपुग्ने भएकोले अभिभावकले अझ जिम्मेवारीपूर्ण तवरले भूमिका निर्वाह गर्नु आवश्यक छ, अभिभावकले सन्तानलाई व्यवहारिक ज्ञान, स्कुलले बौद्धिक ज्ञान दिन सकेको खण्डमा मात्र अहिलेका बालबालिकाहरुको भविष्य राम्रो हुन्छ, यसैले अभिभावक र शिक्षक दुबैले यो विषयमा ध्यान दिनुपर्छ ।’ उनले भने ।

यसैगरी विगत ७ वर्षदेखि अभिभावक शिक्षाकै विषयमा अध्ययन गरिरहेका, अभिभावक शिक्षा कार्यक्रम सञ्चालनमा पनि चाखपूर्वक लागिरहेका अभियन्ता कमल सिलवाल अभिभावककै कारण अभिभावक शिक्षाको जरुरी रहेको बताए । उनी भन्छन्, ‘हामीकहाँ तीन खालका अभिावकहरु रहेको मैले भेटेको छु, एक नम्बरमा आर्थिक, सामाजिक हैसियत भएका अनि पैसा भएपछि जे पनि हुन्छ भन्ने खालका, दोस्रो परम्परागत धारणामा बढी विश्वास गर्ने स्वभावका र तेस्रोमा नवविकसित अभिभावक । ती तिनैथरीका अभिभावकहरुका लागि अभिभावक शिक्षाको जरुरी छ । एउटा स्कुलमा पुग्यौं भने हामी ती तिनैथरीका अभिभावक भेट्छौं ।’

उनले शिक्षा तथा विद्यालयको उद्देश्य पूरा गर्नका लागि पनि विद्यालयहरुले अभिभावक शिक्षा कार्यक्रम गरिरहनु जरुरी रहेको बताए ।

उनले अभिभावक शिक्षाको अभाव हुँदा शिक्षकमाथि प्रश्न उठ्ने गरेको पनि जनाए । उनले भने, ‘शिक्षकले विद्यार्थीलाई तयार गरेर घर पठाएको हुन्छ, त्यो कुरालाई अभिभावकले भत्काइदिन्छ, यसो भएपछि कसरी हाम्रा बालबालिकाहरुको भविष्य बन्छ, यहाँ त अभिभावकले नै सन्तानको भविष्य बिगार्ने काम गरिरहेको छ ।’

यसैगरी अर्का अभियन्ता हेमन्त पनेरु भने अभिभावकको सक्रिय सहभागितालाई नरुचाउने शिक्षक पनि रहेको बताउँछन् । ‘पढेलेखेका शिक्षकका अगाडि अपठीत अभिभावकको जरुरी छैन भन्ने मान्यताले नराम्रोसँग जरो गाड्दै आएको छ । अभिभावकको संलग्नताले शिक्षकको स्वायत्तता गुम्ने होइन, उल्टो विद्यालयको र शिक्षकको सुरक्षा कवचको काम गर्नेछ भन्ने बुझाउनका लागि पनि अभिभावक शिक्षाको खाँचो छ ।’ उनी भन्छन् ।

एक नम्बरमा आर्थिक, सामाजिक हैसियत भएका अनि पैसा भएपछि जे पनि हुन्छ भन्ने खालका, दोस्रो परम्परागत धारणामा बढी विश्वास गर्ने स्वभावका र तेस्रोमा नवविकसित अभिभावक ।

विद्यालय राम्रो बन्न शिक्षक, अभिभावकको उचित समन्वयविना सम्भव छैन । यही कारण अभिभावक शिक्षामा रुचि बढेको बताउने अर्का अभियन्ता महालक्ष्मी आचार्य बालबालिकाको संरक्षण, पालन–पोषण गर्ने जिम्मेवारी वहन गर्ने आमा बाबु वा अरु कुनै व्यक्तिलाई अभिभावकको संज्ञा दिन्छिन् । ‘ अभिभावकले आफ्ना छोराछोरी वा आफ्नो अभिभावकत्वमा संरक्षित बालबालिकालाई उचित रेखदेख, शिक्षा, दिक्षा आदि दिने जिम्मेवारी हुन्छ र सो वहन गर्नुपर्छ ।

प्रत्येक आमा बाबु छोरा छोरीको पहिलो शिक्षक हुन् भने प्रत्येक शिक्षक बालबालिकाको दोस्रो अभिभावक हुन् ।’ उनी भन्छिन्, ‘ अभिभावक वर्गमा चेतनाको जरुरी छ । अभिभावक वर्गमा सही चेतना प्रदान गर्नका लागि विद्यालयले उचित प्रकारको कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्यस्तो कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकको बीच अनिवार्य उपस्थिति गराउनु पर्छ र तीनै पक्षका बीचमा अन्तरक्रिया गराउनु पर्छ अनि मात्र देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा टेवा मिल्छ । विद्यार्थीहरुलाई सही शिक्षा दिनका लागि विद्यालयले अभिभावकहरुलाई अभिभावकीय शिक्षा दिनुपर्छ ।’

:661 Views

Leave a Reply