निमावि शिक्षकबाट इसिडी इन्चार्ज बनेकी शिक्षकलाई बालबालिकाभन्दा शिक्षक मर्ने चिन्ता !

निमावि शिक्षकलाई इसिडीमा आउन केले मन गरायो ?

मलाई बालबालिकासँग् खेल्न, रमाउन मन पर्छ । पहिला अर्को स्कुलमा पढ्दा पन बच्चाहरुलाई नै केन्द्रमा राखेर पढाउँथेँ । विभिन्न शैक्षिक सामग्रीहरु निर्माण गर्ने, गीतहरु, नृत्यहरु पनि बालबालिकालाई नै लक्षित गरी गर्थेँ ।

अरु स्कुल पनि भन्नुभो, अन्त नि पढाउनु भो ?

हजुर, पहिला मैले शारदा मावि पढाइसेकेको छु । त्यस्तै लकस्टार भन्ने निजी स्कुलमा पढाइसकेकी छु । त्यहाँबाट पनि मैले प्रेरणा पाएकी हुँ ।

पढाइ रहँदा त शैक्षिक क्रियाकलाप निकै गराउनुहुन्छ नि हैन ? अझ बालबालिकालाई त क्रियाकलाप नभई हुन्न । आज चाहिँ के के गराउनुभयो ?

यो हप्ता चाहिँ हाम्रो थिम अनुसार विश्वमा हाम्रो नेपाल भन्ने छ । हाम्रो देशको परिचय गराउनुपर्ने । हामी चाहिँ त्यो वेशमा त्यही थिमअनुसार नै जान्छौं । जस्तै, नेपालको विशेषता के हो ? राष्ट्रिय जनावर के हो ? चरा के हो ? तिनीहरुको बारेमा अनि नेपालको विशेषता झल्किने गीत, कविताहरु सिकाउँछौं । हाम्रो हप्तापिच्छे नै थिमवाइज पढाइ हुन्छ र अर्को हप्ता फेरिन्छ ।

त्यो थिम चाहिँ कहाँबाट ल्याउनुहुन्छ ?

पाठ्यक्रमबाटै थिम निकाल्छौं अनि त्यही अनुसार पढाइ हुन्छ ।

के के गराउनुहुन्छ, बालबालिकालाई क्रियाकलापहरु, वर्षभरिको भन्न सकिन्छ कि ?

नयाँ बच्चाहरु आउनुहुन्छ । पहिला उहाँहरुलाई आफू परिचित गराउने काम गराउँछौं । म मेरो शरीरलाई परिचित गराउँछु । थिम बेसमै जान्छौं । त्यसपछि विस्तारै परिवारमा जान्छौं । समुदायमा जान्छौं, हाम्रो वरिपरि हुने क्रियाकलापमा जान्छौं । चाडपर्वहरुमा जान्छौं । त्यसैसँग सन्दर्भ मिलाएर हामी गणित, विज्ञान विषयलाई पनि अँगाल्छौं ।

जस्तै तपाइँले भन्नुभयो, आफैले आफैंलाई शरीर चिनाउनका लागि क्रियाकलाप चाहिँ के गर्नुहुन्छ ? नाक छुने हो कि, दाँत देखाउने हो कि ?

डान्स हुन्छ, कविता हुन्छ, कथा हुन्छ । त्योमार्फत् उनीहरुलाई पढाउँछौं । उनीहरुलाई संलग्न गराएर, जस्तै रोल प्ले गराएर हुन्छ कि, उनीहरुलाई आफैले गीत गाएर लगाएर हुन्छ कि ? त्यो विधिबाट गरिन्छ । शरिरको बारेमा सिकाउन पर्यो भने शरिरको एउटा गीत गाउन लगाउने ।

जस्तो कि ?
यी मेरा हातका दश औंला,
दश औंला है दश औंला ।
बच्चाहरुले त्यहाँ गणना पनि सिके, त्यसपछि दुई हातमा दश औंला हुन्छन् भन्ने पनि सिके । हात कतिवटा हुन्छ ? दुईटा भनेर पनि सिके ।
दायाँ हातको पाँच औंला
बायाँ हातको पाँच औंला
यसमा आएर दायाँ र बायाँ पनि सिके । यसरी हामी सिकाउँछौं । त्यसपछि

दुई आँखा झिमिक्क, जिब्रो निकालेर भनेपछि आँखा पनि झिमिक्क, यहाँ के झिमिक्क हुन्छ ? भनेर सोधे, आँखा झिमिक्क हुुन्छ, मुखभित्र के छ ? भनेर भने जिब्रो भनेर भन्छन् । मेरो ३२ वटा दाँत हुन्छ भनेर बच्चाहरुले गणना पनि त सिके नि ।
म्याथ भनेर, म्याथलाई मात्र जोड दिँदैनौं हामी, साइन्स भनेर साइन्सलाई मात्र जोड दिँदैनौं हामी । हामी हरेक दिन हरेक विषयवस्तुलाई अँगाल्छौं ।

त्यसरी गर्ने सीप तालिमले दियो कि तपार्इं आफैंले बनाउने हो ?

गीतहरु, त हामी आफै बनाउँछौं ।
लेख्नुहुन्छ आफै ?

हजुर ।

कसरी आउँछ ?
आउँछ, हामी करिकुलम हेर्छौं, अनि यो हप्ताको थिम र विषय के छ ? त्यो विषयलाई बच्चाहरुले बुझ्न सक्ने, बोल्न सक्ने कुरालाई टिपेर हामी गीत, कविता लेख्छौं । जस्तो पेशाको गीत बनाउनु पर्यो रे ? के बन्ने भनेर हामी बच्चाहरुलाई सोध्छौं हामी ? उनीहरुले कोहीले डाक्टर भन्ला, कोही शिक्षक बन्ला, हैन म त ममीजस्तै सुचिकार बन्छु भन्ला । त्यसैलाई अँगालेर हामी गीत बनाउँछौं । जस्तै,
आउ साथी आउ,
आउ साथी आउ
आउ साथी आउ, मिलेर खेलौं ।
म बनुँला के ?, तिमी बन के ?
बन्छु म शिक्षक, बन्छु म शिक्षक
पढ्न बस लौ ।
बन्छु म डाक्टर, बन्छु म डाक्टर
जाँच्ने बिरामी ।
यहीँ आयो नि बिरामीलाई कसले जाँच्छ ? नानी हो ? भनेर सोध्यौं भने उनीहरुले नै जवाफ दिन्छ, डाक्टरले । शिक्षकले के गर्नुहुन्छ ? पढाउनुहुन्छ । मैले पढाइहरनै परेन, गीतबाटै आइसक्यो । तपाइँहरु भोलिपछि सूचिकार बन्नुभयो भने के गर्नुहुन्छ ? भनेर सोध्यो भने, कपडा सिउँछु मिस भनेर भन्छन् । गीतबाटै सिकाउने हो हामीले ।

हामील थिम वाइज कक्षामै क्षेत्र छुट्याएका छौं । कक्षामै हामीले अभिनय क्षेत्र बनाएका छौं, विज्ञान क्षेत्र, गणित क्षेत्र, भाषा सिकाइ क्षेत्र, संगीत क्षेत्र छ । नेपाली, अँग्रेजी भाषा क्षेत्र छ । बालुवाबाट खेल्ने सिकाइ क्षेत्र छ । पानीबाट सिक्ने सक्ने क्षेत्र छ । पुस्तकालय छ । ती क्षेत्रमा बालबालिकाहरु गएर आज कुन थिम वेसमा हामी गएका छौं, त्यो अनुसारको कार्य गर्छन् ।

एउटै कक्षाकोठाभित्र यति धेरै सिकाइ क्षेत्रहरु छन् ?

छन् । हामी फेरि प्रत्येक बालबालिकालाई एउटै सेक्टरमा पठाउँदैनौं । उनीहरुको समूह छ । हामीले उनीहरुको ६ वटा समूह बनाएका छौं । उनीहरुलाई पालैपालो ती सिकाइ क्षेत्रमा पठाउँछौं ।

जस्तो ?

जस्तै, आज मेरो पालो मतलब एप्पलको पालो आज। आज एप्पलको पालो विज्ञानमा छ भने एप्पल विज्ञान क्षेत्रमा गएर आफ्नो प्रस्तुति दिन्छ । जस्तो विश्वसामु नेपाल भनेको छ, साइन्स एरियामा गयो, त्यहाँ हेर्नुहुन्छ, नेपालमा के पाउँछ, त्यहाँ के केछ खोज्नुस्, उहाँले त्यहाँबाट भन्नसक्नुहुन्छ । ठूला मान्छेले पो नेपालको एउटामात्र विशेषता छ भनेर पढ्न सक्छ त बच्चाले त मिस साइन्सअनुसार त एप्पल पनि नेपालमा पाइन्छ, बनाना पनि पाउँछ । उसले जे भए पनि ज्ञान पाउने त हो नि । त्यसपछि म्युजिक एरियामा जानुहुन्छ । मादल घन्काउनु हुन्छ । मादल कहाँको बाजा हो त ? नेपालको । भाषा सिकाइमा जानुहुन्छ, भाषा सिकाइमा झण्डाहरु छन्, नेपाली पहिरन लगाएका पुतलीहरु छन् । पुतलीहरुलाई देखेपछि यो देखेपछि उनीहरुले आफैले भन्न सक्छन् । कहिलेकाहिँ हामी बच्चाहरुबाट पनि सिक्छौं । हामीलाई थाहा नपाएकोजस्तो गरेर सोध्छौं पनि । त्यो हुँदा बच्चाहरुमा पनि कन्फिडेन्ट बढ्छ, बच्चाले पनि शिक्षकभन्दा जान्ने छु भन्ने भावना पैदा हुन् कन्फिडेन्ट बढ्छ, बच्चाले पनि शिक्षकभन्दा जान्ने छु भन्ने भावना पैदा हुन्छ अनि आफूसँगैका साथीहरुलाई सिकाउन उत्सुक हुन्छन् ।

इसिडी त बालबालिकाको सर्वाङ्गीण विकास गर्ने थलो हो । यो अन्तर्गत शारीरिक विकासको लागि के गर्नुहुन्छ ?
हामीले शारिरीक विकासको लागि बिहान सर्कल टाइम हुन्छ । त्यसमा पिटी पनि जान्छ, साधारण कसरत पनि जान्छ । त्यो भएपछि शारीरिक विकासमा सहयोग पुगिरहेको छ । व्यायाम त भयो ।

मानसिक विकासको लाग चाहिँ ?
त्यसको लागि हामीसँग उन्ने, गुन्ने । त्यसले विद्यार्थीलाई एकाग्र बनाउन सहयोग मिल्छ ।

यो उन्ने गुन्ने भनेको चाहिँ के ?
यो भनेको धागोमा मकैको घोगाहरुलाई टुक्राटुक्रा गरेर रंग लगाएका छौं । कसैले पँहेलोमात्र उन्नुस्, भन्छौं । यसको मुख्य उद्देश्य भनेको उसलाई एकाग्र बनाउन सकुँ । एकाग्र भएपछि मानसिक विकास गर्न सहयोग हुन्छ ।

सामाजिक विकासको लागि नि ?
म, मेरो शरीरबाट सुरु गरेर परिवारमा जान्छौं, समुदायमा जान्छौं, समुदायपछि देशमा जान्छौं । यसका लागि गीतहरु पनि छन्, छिमेकीका । जस्तो,
वल्लो घर, पल्लो घर
हाम्रो छिमेकी ।
माया गर्ने, साथ दिने
राम्रो छिमेकी ।
बालबालिकालाई यो गीतबाट राम्रो हुनुपर्छ, साथ दिने हुनुपर्छ भन्ने थाहा हुन्छ । छुच्चो भए, कोहीले माया गर्दैन भन्ने थाहा हुन्छ ।

संवेगात्मक विकासको लागि चाहिँ के गराउनुहुन्छ ?
हामी त्यसको लागि विशेषत ः गीत र कथालाई जोड दिन्छौं । जस्तै, मैले पिटेँ, उनलाई धे….रै.. दुख्यो । धेरै दुखेपछि ऊ के गर्न थाल्यो त ? हाँस्छ हो ?. मैले हाँस्छ भनेर भनेपछि विद्यार्थी आफैंले जवाफ दिन्छ, हैन । के गर्छ त ? रुन्छ । चिमटेँ मैले, के हुन्छ ? जवाफ मैले भन्दा पहिला विद्यार्थीले दिन्छन् । म त मात्र के गर्छु भने मात्र प्रेरणा दिन्छु । पुसअप गर्ने हो, शिक्षकको काम ।त्यही गर्छु । तानेर लाने र घचेटर लाने हैन, प्रेरणा(पुसअप) दिने हो ।

बढी क्रियाकलाप, गीत, कथा, कवितामै केन्द्रित रहेछ नि किन ?
बालबालिकाहरुलाई पढाइ, लेखाइमा त केन्द्रित गर्न सक्तैनौं । किनकि इसिडीको मान्यताले पढाइ, लेखाइलाई बढी प्राथमिकतामा राखेको छैन । तैपनि हामीले अभिभभावकहरुको इच्छाको लागि चाहिँ बुक चाहिँ राखेका छौं ।तर बढी हामी विषयवस्तु केन्द्रित थिमवाइज काम गर्छौं । जस्तो फलफूलकै कुरा भयो । त्यो त नेपालीमा पनि पढ्नुपर्छ, विज्ञानमा पनि पढ्नुपर्छ । गणितमा पनि पढ्नुपर्छ । एप्पलस् भन्यो, म्याथमा पनि त जान्छ नि, वन एप्पल, टु एप्पल भनेर । बच्चाहरुलाई सिकाउने त्यसरी नै हो ।

कक्षाभित्र चाहिँ त्यो भयो, कक्षाबाहिर चाहिँ के गराउनुहुन्छ ?
सर्कल टाइम हाम्रो बाहिरै हुन्छ ।

त्यो बाहेक अरु के क्रियाकपाल बाहिर हुन्छ ?
बालुवाको खेल हुन्छ, पानीको खेल हुन्छ। हामी महिनाको एकचोटि टाउन भिजिट भनेर लैजान्छौं । जस्तो गत शुक्रबार पनि हामीले लग्यौं । टाउन भिजिटको लागि पनि हामी थिमवेस नै ठाउँ रोज्छौं । हामीले योपटक शुक्रबार लग्दा आजको लागि टार्गेट गरेर लग्यौं । यो के हो त ? नेपालको झण्डा, बच्चाहरुले चिनेपछि मैले सिकाउँदा नेपालको झण्डा, यो कस्तो छ भन्यो भने उसले कलर पनि, सेप पनि बताइदिन्छ । मैले भनिरहनै परेन । हामीले कहाँ देखेका थियौं ? मिस फलानो ठाउँमा देखेका थियौं नि ।

बाहिर हामीले नेट गेमका सामान पनि राखेका छौं । त्यो म्याथ क्लासको लागि सहयोग गर्छ । क्लाइम्बिङको लागि पनि त्यसले सहयोग गर्छ । त्यसले बच्चाको शारीरिक विकास हुन्छ । माथि गएर उफ्रिन्छ पनि, उफ्रिँदा उसले गन्छ, त्यसले गणित सीप विकास हुन्छ ।

यहाँ हामीकहाँ हिमाल, पहाड र तराई छ । हाम्रो चाहिँ बेसिकल्ली तीन स्टेपका कक्षाहरु छन् । तराई भनेको न्यू कमर्स, बिगिनर्सलाई हामी पहाड भन्छौं । हिमाल भनेको इण्डिङ अर्थात् कक्षा १ मा जाने ।

क्रियाकलाप गराउनुहुँदा तपाईंहरु थाक्नुहुन्न ?
अब त हामी ह्याबिच्युअल भइसकेका छौं । थकाइ भन्दा नि नानीहरुलाई जति इन्गेज गराउन सक्यौं, त्यति हामी चाहिँ रिफ्रेस भएको महशुस गर्छौं । उहाँहरुले जति सिक्नुहुन्छ, त्यति हाम्रो लागि मल प्राप्त हुन्छ, हामी मलजल प्राप्त गरेको ठान्छौं ।

भक्तपुरको दोस्रो विद्यालयको रुपमा रहेको विद्यार्थी निकेतन माविकी इसिडी इन्चार्ज रेशिका ग्वाँयमरुसँग हरिसुन्दर छुकांले गरेको कुराकानी ।

:1971 Views

Leave a Reply