नैतिक शिक्षाको कमी

moral

आफ्नो र आफ्नो परिवेशको लागि मानिसले कोही कसैको कुनै प्रयोजन नगरी केवल निहित स्वार्थमा आधारित कर्ममा पनि त्यत्तिकै लिप्त भएको अवस्था छ। यसरी परिवर्तन भइरहेको सामाजिक बनावट हेरिरहेका अर्थात् हिजोको परिवेश र आजको परिवेशलाई नियाल्दै आएका कतिपय बुज्रुकहरूले हिजो र आजमा समयको परिवर्तन मात्र होइन मानिसको आहार, विहार, आचरण र व्यवहारमा पनि परिवर्तन भएको स्वीकार्नुहुन्छ।

हिजोको जीवन पद्धति आजको परिस्थितिमा व्यापक फेरबदल आएको छ। समयको परिवर्तनसँगै मानिसको विचार र व्यहारमा पनि ह्रास हुँदै गएको मान्नुहुन्छ। कतिपय कुराहरू सामाजिक संस्कारभित्र परिस्कृत हुँदै आएका छन् भने जमानाअनुसारको सोच र चिन्तनमा अनावश्यक विस्तार भएको छ। भौतिक चकाचौधको विलासीपनले ढपक्क ढाकेको अवस्था छ। आफ्नो र विरानो छुट्याउँदै सामाजिक संस्कारमा समेत परिवर्तन भएको छ। समयको परिवर्तनसँगै सामाजिक न्याय प्रणालीमा पनि व्यापक सुधार हुनुपर्नेमा सामाजिक न्याय प्रणालीमा संकुचित विचार देखिँदै गएको अवस्था छ। यसरी मानिसले आफूले आफैंलाई अंकुश लगाउँदै अघि बढेको अवस्था छ।

जीवनशैलीमा छाडापन बढेको छ। हिजो अनुशासन र मर्यादित जीवन पद्धति थियो। सामाजिक बनोटमा आत्मसहयोगको स्थिति थियो। टोल–छिमेकमा ऐंचोपैंचो सुख–दुःखको सहभागी हुने वातावरण थियो। नीति र नियमलाई जीवनको अभिन्न अंग मानी सही गोरेटो भनेर अनुशरण गरिन्थ्यो। बुजु्रक स्वयम् यसका पथप्रदर्शक थिए। वर्षौं अनुभव संगालेका बुज्रुकको शैली र स्पष्ट निर्देशनलाई जीवनको गति दिने आधार मान्दै मानिसको चालचलन र व्यवहार प्रदर्शन थियो। मानवले मानवलाई दिनुपर्ने सेवा, सत्कार र सद्भावलाई हुबहु मान्यता राखिन्थ्यो। भौतिक सुखसुविधा र विलासीपन नभए पनि जीवन सरल र रस भरिएको फलझैँ थियो।

तर आज भौतिक उन्नतिले ल्याएको परिवर्तनसँगै बढेको विलासी सामग्रीले मानिस चर्मदृष्टिले भरिलो र फूर्तिलो देखिए पनि उसभित्रको चेतनामा खोक्रोपन बढ्दै गएको छ। यति मात्र होइन, मान्यजनप्रतिको सोचाइ र सद्भावमा समेत फेरबदल हुँदै आएको छ। मानिसले मानिसप्रति गर्ने व्यवहारमा परिवर्तन भएको छ। सोच र चिन्तनमा विभेद देखा पर्न थालेको छ। मानिस साँघुरो घेराभित्र बाँच्न विवश र बाध्य छन्।

बालमनोविज्ञानमा बच्चादेखि नै गलत संस्कारको बीजारोपण गरिन थालियो। परम्परादेखि चल्दै आएको संस्कृति र संस्कारलाई आधुनिकताको नाममा गलत दिशातर्फ उन्मुख गराउने कार्यमा मानिस स्वयम् लागिपर्न थाल्यो। समयको परिवर्तनसँगै परिस्कृत हुँदै आएको मासिनको सोच र संस्कृति र नैतिक विलासीले मानिस आफूलाई सभ्य र परिस्कृत त बनायो तर सभ्य र चरित्रवान् नैतिक शिक्षामा अब्बल भएको महसुस गर्न सकेन। चरित्रवान् मानवीय स्वभावमा व्याख्या गरिने थोरै आधार पनि संस्थागत हुन सकेन। सामाजिक मूल्य र मान्यताभित्र बाँचेको उहिलेको आचरणयुक्त जीवनमा पनि परिवर्तन हुँदै आयो। यतिसम्म युग परिवर्तन हुँदै आयो कि जन्मदिने आमा नै उसको मार्गनिर्देशक हो भन्ने कुरासमेत बिर्सने परिस्थिति जन्मन पुग्यो।

जन्म दिने आमा र कर्म दिने बाबुको सत्यतामाथि प्रश्न उठ्न थाल्यो। पारिवारिक संरचनामा फेरबदल हुँदै गयो। छोटो परिवार सुखी परिवार भन्दै वृद्ध बुबाआमालाई वृद्धाश्रममा रहने स्थिति जन्माइयो। बाबु र आमाप्रति मानिसले निर्वाह गर्नुपर्ने दायित्व र जिम्मेवारी रकममा सटही हुन थाल्यो। बाबुआमाकै सम्पत्तिमा बाबुआमालाई नै अर्गेलो देखाउँदै जाने मानिसको सोच र चिन्तनमा परिवर्तन भयो। हुँदा–हुँदा आध्यात्मिक सत्यको सत्यतालाई विज्ञानको खोजको नाममा ओझेल बनाउन थालियो। आध्यात्मिक सत्यलाई धर्ममा रूपान्तरण गर्दै विविध विचार बाहिर आउन थाल्यो। सबै कुरा विज्ञानको खोज भन्दै आध्यात्मिक सत्यभित्रको प्राकृतिक यथार्थलाई बंग्याउने धृष्टता हुँदै गयो।

अरुलाई कुदृष्टिले हेर्नुहुँदैन, प्रकृति हाम्रो जीवन हो। यही प्रकृतिबाट हाम्रो जीवनशैलीमा स्वच्छता पैदा हुन्छ। उत्तम विचार उत्पन्न गर्न सक्छ भन्ने मान्यतामा प्रश्न उठाउन थालियो। सूर्योदयसँगै चलायमान हुने मानवस्वभावमा स्वार्थले प्रवेश गर्न पुग्यो। आफूबाहेक अरु कसैलाई प्रगति गरेको देख्न नसक्ने परम्परा र संस्कृतिको विकास हुन थाल्यो। समय परिवर्तन भयो। मानिसको सोच र चिन्तनले ल्याएको विकृति र विसंगतिका कारण संस्कृति र संस्कारमा परिमार्जितको नाममा अनुशासनहीन चरित्रतर्फ मानव चिन्तन बढ्न थाल्यो।

हिजो पानीको मुहान संरक्षण गर्नुपर्छ, पानी जीवन हो भन्ने आचरणले मानिस आफूलाई स्वयम् जिम्मेवार बनाउँथे तर वर्तमानमा मुहानलाई कानुनले संरक्षण गर्नुपर्ने बाध्यता देखिँदै आयो। नैतिकतामा प्रश्नचिह्न खडा हुन थाल्यो। वातावरणमा असन्तुलन आइरहेको यथार्थ सत्यलाई गोलमटोल गरी स्वार्थसिद्ध गर्ने मानवीय संस्कृतिले आफ्नो खुट्टामा आफैंले बन्चरो हान्दै आफैंलाई कानुनी कठघरामा उभ्याउन थालियो।हुँदा–हुँदा राष्ट्रिय गौरव बोकेको नेपालको प्राकृतिक सत्य र सौन्दर्यलाई किताबी पानामा खोजिनुपर्ने परिस्थिति उत्पन्न गराइँदै जान थाल्यो। यसरी समय परिवर्तन भयो, संस्कार र संस्कृतिमा फेरबदल भयो, तर पनि मानिसले आफ्नो गतिलाई निर्धारण गर्न सकेन र भविष्यमा आउने खतराप्रति निशंकोच रहँदै आफैंलाई आफ्नो संस्कारलाई स्थापित गर्दै अगाडि बढ्यो। अब नैतिक शिक्षालाई मुख्य प्राथमिकतामा राखेर सरकारले ध्यान दिनुपर्ने अपरिहार्यता छ।

सरस्वती न्यौपाने, काठमाडौं

:587 Views

Leave a Reply