पठनपाठनको माध्यम फेरियो तर समस्या ज्युँ का त्युँ

ललितपुर उपमहानगरपालिका वडा नं १५ मा रहेको नमूना मच्छिन्द्र माविमा अंग्रेजी माध्यमबाट पढाइ हुन थालेको १० वर्ष भयो । अभिभावकहरूले अंग्रेजी माध्यमबाट पढाइ हुने विशेष गरी संस्थागत विद्यालय रोज्न थालेपछि अभिभावकहरूको मनोविज्ञानअनुसारै अंग्रेजी माध्यमबाट पठनपाठन गराउन थालेपछि विद्यालयमा विद्यार्थी संख्या पनि बढ्यो ।

‘नेपाली माध्यममा पढाइरहँदा धेरै अभिभावकहरूले अंग्रेजी माध्यमबाट पढाइदिनुप¥यो भन्ने माग गरे, सोहीअनुसार हामीले समयको माग र आवश्यकतालाई मध्यनजर गरी अंग्रेजी माध्यमबाटै पढाइ सुरु ग¥यौँ, जसको परिणाम आज विद्यालयमा करिब ६ सय विद्यार्थी छन् ।’ नेपाली माध्यमबाट पढाइ भइरहेको बेला विद्यालयमा चारसयको हाराहारीमा विद्यार्थी रहेको जनाउँदै विद्यालयका प्रअ राधाकृष्ण महतले भने । त्यस्तै भक्तपुरको यालाछें र दूधपाटीमा रहेको विद्यालयहरू क्रमशः शारदा मावि र गणेश माविमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि विद्यार्थी संख्या बढेको उनीहरूले बताएका छन् ।

‘पहिला नर्सरीमा १०/१२ जना विद्यार्थी हुनेमा अंग्रेजी माध्यमबाट पठनपाठन थालेपछि २२/२४ जना विद्यार्थी भएका छन् ।’ शारदाका प्रअ रोशनराज तुइँतुइँ र गणेशका प्रअ गंगाप्रसाद याकामीले भने ।

राजधानीसँग जोडिएको भक्तपुर र ललितपुरका ती प्रतिनीधि विद्यालयहरूमात्र नभएर सरकारी विद्यालयहरूमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि देशका विभिन्न ठाउँमा रहेका विद्यालयहरूमा पनि विद्यार्थी संख्या बढेको यथार्थ हो ।

बदलिँदो परिस्थिति अनुसार अंग्रेजी भाषा अनिवार्यजस्तै बनेको छ । अंग्रेजीमा पठनपाठन हुने विद्यालयहरूप्रति अभिभावकहरूको छुट्टै लगाव र आकर्षण छ । अभिभावकहरूको यही मनोभावनालाई बुझेर सरकारी विद्यालयहरू पनि अंग्रेजी माध्यमबाट पठनपाठनको दिशातिर अग्रसर भएका छन् ।

सरकारी विद्यालयहरूले त्यतातिर अग्रसरता देखाए पनि विद्यालयहरूले भने अझै शिक्षकहरूको समस्या झेलिरहेका छन् । ‘ विद्यालयमा दरबन्दीमा रहेका शिक्षकहरू छन् तर दरबन्दीका शिक्षकहरूलाई अभिभावकले पत्याएका छैनन् ।’ शारदा माविका प्रअ तुइँतुइँ भन्छन्, ‘सोही कारण आफूले निजी शिक्षक राखेर अध्यापन गराइरहेको छु ।’ यस्तै साझा समस्यामा छन् धेरै सरकारी विद्यालयहरू । यसैले काठमाडौं महानगरपालिकाको शिक्षा शाखाका अधिकारी सीताराम अधिकारीको सुझाव छ, ‘अंग्रेजी माध्यममा पढाउन सक्ने शिक्षकहरू छन् भने त्यस्ता विद्यालयलाई अंग्रेजी माध्यममा पढाउन दिऔँ, छैनन् भने जबर्जस्ती नलादौँ ।’

राजधानीकै ज्ञानोदय माविका शिक्षक अञ्जु लामाले अंग्रेजी माध्यमकै कारण विद्यार्थी र शिक्षकबीच दोहोरो छलफल नहुने आफूले अध्ययनको क्रममा फेला पारेको बताइन् । ‘स्थलगत अवलोकनका क्रममा शिक्षक सामाजिक शिक्षा पढाउँदै हुनुहुन्थ्यो । विद्यार्थी चुपचाप थिए । अर्को दिन उहाँलाई त्यही पाठ नेपालीमा पढाउन लगाएँ । असाध्यै राम्रो अन्तरक्रिया भयो । उही शिक्षक, उही विद्यार्थी । तर माध्यमका कारण कत्रो ठूलो फरक प्रभाव । विद्यार्थीलाई अंग्रेजी भाषा सिकाउने हो कि बुझने गरी विषयवस्तु ?’

‘एक त सरकारले पुग्दो मात्रामा दरबन्दी दिँदैनन् दिएका दरबन्दीका सबै शिक्षकहरू पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराउन सक्ने क्षमताका छैनन् ।’ कोटेश्वरको कोटेश्वर सरस्वती माविका प्रअ पुष्पराज कुँवरले पनि अंग्रेजी माध्यमबाट कक्षा सञ्चालनमा शिक्षकहरूकै समस्या झेल्नु परेको अनुभव सुनाए । ‘पुराना शिक्षकहरूमा बढी समस्या छ, उहाँहरू आफूलाई अंगे्रजी माध्यमबाट
पढाउनुपर्ने विषय नदिए नि हुन्थ्यो भन्ने बताउँछन् ।’

उनले अंग्रेजी माध्यमबाट सुरु गरेपछि निजी स्कुलमा पढिरहेका विद्यार्थीहरूको पनि आकर्षण बढेको तर शिक्षकहरूलाई त्यही अनुसार ढाल्न नसकेको स्वीकारे । पठनपाठनको माध्यम फेरिएसँगै धेरै विद्यालयहरूले नेपाली र अंग्रेजी दुबै माध्यमबाट पठनपाठन गराइरहेको प्रअहरूले बताएका छन् । सरकारी विद्यालयका प्रअहरूले अभिभावकको आवश्यकता र आकांक्षालाई मात्र नहेरी विद्यालयको बाध्यता हेरेर दुबै माध्यमबाट पठनपाठन गराइरहेको जनाएका छन् ।

सरकारी शिक्षकहरू अंग्रेजी माध्यमबाट पढाउन योग्य, सक्षम र ती शिक्षकहरूले आँट नगर्दा कुनै विद्यालयहरूले जसोतसो अंग्रेजी माध्यमलाई पछ्याएका छन् भने कतिपय विद्यालयहरू निजी शिक्षकहरूको भरमा चलिरहेका छन् ।

‘हामीकहाँ कक्षा ५ सम्म पूर्ण रूपमा अंग्रेजी माध्यमबाट पठनपाठन हुन्छ, त्यहाँ पाँच जना सरकारी कोटाका शिक्षक छन् भने १० जना निजी शिक्षक ।’ बासु माविका प्रअ अम्बिका न्याइच्याइले भने ।

उनले अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदा समग्र विद्यालयलाई लाभ पुगेको भए पनि सरकारी शिक्षकहरूलाई उक्त कुरा बोध गराउन नसकेको बताइन् । ‘कोशिशसम्म पनि गर्दैनन्, सीधै सक्तैनौँ भन्छन्, यसले समस्या भएको छ ।’ प्रअहरूले विद्यालयहरूले जसोतसो भए पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदा पनि शिक्षा मन्त्रालयबाट प्रोत्साहन नहुँदा पनि समस्या भएको बताएका छन् ।

‘अंग्रेजी माध्यमबाट पठनपाठन गराउनु भएको रहेछ, ठीक छ मात्र भन्छन् विनि र शिक्षा कार्यालयका अधिकारीहरू, शिक्षकहरूलाई कसरी अंग्रेजी भाषा अध्यापन गराउने आफै केही कार्यक्रम गर्दैनन् ।’ प्रअ याकामीले भने ।

:509 Views

Leave a Reply