पढाईको लागि बेग्लाबेग्लै संघर्ष

सबिना बानियाँ/
कथा १
आफ्ना सन्तानलाई राम्रो शिक्षा दिनका लागि कमला मगर आफ्ना श्रीमान र बच्चासँग ७ वर्षअघि सिन्धुपाल्चोकबाट काठमाडौंमा छिरिन् ।

काठमाडौं छिरेपछि दायित्व थप भयो, श्रीमान मौसम अनुसारको फलफूल डुलाउँदै बेच्न थाले । उनीसँग कुनै रोजगारी थिएन । श्रीमानको मात्र आयश्रोतले ५ सदस्यीय परिवारको जीवन कसरी चलाउने चिन्ताले सताउन थालेको उनको भनाई थियो । श्रीमानको मात्र कमाईले जीवन नचल्ने देखिएपछि अन्तत उनले पनि काम गर्ने निर्णय गरिन् । ‘काठमाडौंमा बाच्नको लागि संघर्ष त गर्नु नै थियो त्यसैलै जे काम पाइन्छ, त्यही काम गर्न थालेँ । विगतका दुःखलाई सम्झँदै आफ्नो अनुभव बाँडिन् ।

विगत २ वर्षबाट उनले सुरु गरिन्, श्रीमानकै जस्तो व्यापार अर्थात्, गाडामा मौसमी फलफूल र बदामको व्यापार । उनी हाल भक्तपुरको सल्लाघारीमा बदाम र भुटेको मकै बेच्छिन् ।

५ जनाको उनको परिवारलाई भुकम्पले झन् खाने मुखहरु थपिदिए । भुकम्पपछि सासु र ससुरालाई पनि गाउँमा बस्न मुस्किल भयो र उनीहरुले बुवाआमालाई यतै बोलाए । परिवारलाई धान्नु, बालबालिकालाई पढाउन मुस्किल हुदाँ झन् उनको लागि आर्थिक भार थियो देवरको मृगौला उपचार ।

बदाम बेचेर उनको महिनामा ७ हजार कमाइ हुन्छ उनको र, उनको श्रीमानले पनि दिनभर डुलेर त्यति नै व्यापार गर्थे । महिनामा जम्मा १४ हजारको आम्दानी । त्यहि आम्दानीमध्ये ४ हजार ५ सय त कोठा भाडामा जान्छ र खानामा ८ हजार । पढाईका लागि खर्च खोई ? कहिलेकाही सोचेभन्दा बढि व्यापार हुने त कहिले सापटी मागेर नानीबाबुको पढाई खर्च जुटाउँछिन् । त्यसो त महिनामा ६ हजार त बच्चाको पढाईको लागि छुट्याउनु नै पर्छ उनलाई ।

उनले आफ्ना २ छोरी र १ छोरालाई पहिला निजी विद्यालयमा पढाउँथिन् तर आर्थिक भार धेरै भएकाले केही सहज बनाउन २ वर्षदेखि अर्को स्कुलमा हालेकी छिन् । तर त्यहाँ पनि खर्च जुटाउन हम्मे पर्छ उनलाई ।
‘पहिला त स्कुलले भर्ना गर्नु पर्दैन के के भन्थ्यो, तर अहिले कम्प्युटर, परिचयपत्र, बसभाडा, के–के तिर्नुपर्छ, छोराछोरीलाई पढाउनै गार्हो भयो ।’ उनले गुनासो गरिन् ।

भुकम्प पछि देवरको छोरीलाई पढाउने जिम्मा पनि उनकै छ । देवरको छोरी सानी भएकीले नजिकैको निजी विद्यालयमा हालेकी छिन् । ४ बालबालिकाको पढाई खर्च जुटाउन मुस्किल छ उनलाई । महिनामा २ हजार ५ सय लाग्छ खर्च त्यी नानीको ।
उनको ११ वर्षे छोरो ३ कक्षामा, १० वर्षे र ९ वर्षे दुई छोरी कक्षा २ मा पढ्छन् भने ३ वर्षे नानी प्ले गुप्रमा ।

कथा २
२० वर्ष अघि काठमाडौं छिरे, रामेछापका हरि कार्की, छोरा र छोरीलाई राम्रो शिक्षा दिनका लागि । अरुले निजी स्कुल पढाएकाले काठमाडौं छिरेका उनी गर्मीयाममा बरफ र आइसक्रिम बेच्छन् भने जाडोयाममा घर जान्छन् र खेती गर्छन् । हाल उनी टिकाथलीमा बस्छन् ।

सन्तानको पढाई खर्च जटाउन उनी बिहान ६ बजेदेखि कोठाबाट कारखानातर्फ लाग्छन् र दिनभर काठमाडौं, भक्तपुर र ललितपुर घुमेर रातको ८ बजे घर पुग्छन् । उनको मासिक आम्दानी १७ हजार हुन्छ ।

उनले एक छोरी र कान्छो छोरालाई निजी विद्यालयमा पढाएका थिए । एउटा सन्तानलाई पढाईको लागि वर्षमा ७० हजार छुट्याउनु पथ्र्यो । अहिले उनकी छोरी काठमाडौंको एउटा स्कुलबाट कक्षा १२ सकाएर स्नातकमा भर्नाका लागि तयारीमा छिन् भने कान्छो छोरो कक्षा १२ मा पढ्दैछ ।

उनले वार्षिक रुपमा छोरा–छोरीको शिक्षा खर्च बुझाउने गर्छन् । कक्षा ११ र १२ का लागि वर्षमा ३५ हजार एक सन्तानको लाग्ने उनले बताए ।

७ महिनाको कमाईले सन्तानको बर्षभरिको पढाई, बसाई , खानामा खर्च जुटाउँछन् उनले । बरफ व्यापार गर्दा पनि नगरपालिकाले दुःख दिने गुनासो गर्दै उनले भने, ‘काठमाडौंमा बाच्न गाहे छ, छोरा–छोरीलाई पढाउन बरफको व्यापार गर्दा नगरपालिकाले देखी सहदैन । एकै ठाउँमा नबसी घुम्दै व्यापार गर्दा पनि रोक्ने गर्छ ।’

कथा ३
त्यस्तै दोलखा घर भई हाल भक्तपुरमा बस्ने शर्मिला श्रेष्ठले आफ्नो सन्तानको पढाई खर्च तिर्न नसकेर अर्को विद्यालयमा भर्ना गरिदिएकी छिन् । उनी बिहान बेलुका बाटो छेउमा तरकारी बेच्ने गर्छिन् ।

८ वर्षदेखी भक्तपुर बस्दै आएकी शर्मिलाको मासिक आम्दानी ५ हजार हुन्छ भने उनका श्रीमान सुरक्षा गार्डको जागिरबाट ११ हजार कमाउँछन् । मासिक घर भाडा ३ हजार, खानाको लागि रासन पैसा मात्र पसलमा ८ हजार बुझाउनु पर्ने उनले बताइन् ।

पहिला उनले सन्तानलाई नजिकैको स्कुलमा पढाएकी थिइन् । उनी भन्छिन्, ‘त्यो स्कुलमा अझ १० हजार तिर्न बाकी छ, पढाउन पैसा पुर्याउन गाहे भयो र अर्को स्कुलमा राखिदिए ।’ त्यहाँ उनले दुई सन्तानको मासिक २ देखी ३ हजार तिर्ने जनाइन् ।

कथा ४
अभिभावकले मात्र होइन, पढ्नका लागि विद्यार्थी आफैले पनि संघर्ष गर्ने गर्छन् । ओखलढुङ्गामा बस्ने १४ वर्षीय सिता भुजेल (नाम परिवर्तन) पढ्नकै लागि भनेर काठमाडौं आइन् अरुको घरमा काम गर्ने मन्जुरीमा । उनी काठमाडौंको एक सामुदायिक विद्यालयमा कक्षा ५ मा पढ्छिन् ।

पहिला उनी आफ्ना बुबा आमासँग बसेर काठमाडौंको गुह्येश्वरी स्कुलमा कक्षा ४ सम्म पढेकी थिइन् । उनको जिवन सरल थियो । तर २ वर्ष अगाडि उनका आमा बुबा झगडा गरेर अलग भए र उनलाई कसैले हेरेनन् । उनले विगतका दुःख सम्झदै आँखा भरि आँसु राख्दै पिडा सुनाइन् ।

त्यसपछि उनी गाउँमा हजुरआमासँग बस्ने भइन् । त्यहाँको स्कुलले प्रमाणपत्र छैन भन्दै उनलाई कक्षा ५ मा भर्ना लिएन । पढ्ने भए कक्षा १ बाट फेरि सुरु गर्नुपर्ने भयो र १ वर्षपछि उनी फूपुमार्फत काठमाडौं आएर अरुको घरमा काम गर्दै पढ्न थालिन् । उनको पढ्ने इच्छाले उनलाई फेरि काठमाडौं ल्यायो ।

उनकी एक बहिनी र दुई भाईलाई उनका काकाले स्कुल भर्ना गरिदिएको उनले बताइन् । उनी बिहान साढे ५ बजे उठ्छिन् र कुकुर डुलाएर, घर बडारेर खाना बनाउँछिन् र त्यसपछि मात्र स्कुल आउँछिन् । घर फर्किएर खाना बनाएर भाडा माझिसकेर स्कुलको गृहकार्य गर्छिन् ।
डाक्टर बन्ने सपना भएकी उनले खुसी हुँदै भनिन्, ‘म बस्ने घरमा माया गर्नुहुन्छ, भाईटिका पनि डाक्टर दाईलाई नै लगाइदिएँ । मलाई घरमा डाक्टर बन्ने भएपनि पढाउँछु भन्नु भएको छ ।’

कथा ५
मोरङका विमल श्रेष्ठ (नाम परिवर्तन) लगायत उनको १ जना दाई, दिदी र बहिनी पढ्दै अरुको घरमा काम गर्ने गर्छन् । इन्जिनियर बन्ने लक्ष्य लिएका विकास सानैदेखी अरुको घरमा काम गर्दै पढ्ने गर्थे ।

उनको बुबाले पनि सानैदेखी अरुको घरमा काम गर्ने गरेकाले उनको परिवार पनि अरुको घरमा काम गरेको उनले जनाए । विकास र उनकी बहिनी पहिला एउटै घरमा बस्थे र बहिनीले खाना बनाउने, लुगा धुने, बडार्ने काम गर्थिन् भने उनले घाँस काट्ने, पालेको कुखुरा हेर्ने र चारा हाल्ने गर्थे । गाउँमा उनले ९ कक्षा पास गरेका थिए ।

घर मालिक नै काठमाडौं आएपछि यही वर्षबाट विकास र उसको बहिनी पनि काठमाडौंमा आए । तर अहिले उनीहरु फरक–फरक घरमा काम गर्छन् । अहिले उ एयरपोर्टमा रहेको घरमा काम गर्छन् । घरबाट आधा घण्टा हिँडेर उनी स्कुल जान्छन् । अहिले पनि ९ कक्षामा नै पढ्दै गरेका उनी बिहान साढे ५ बजे उठी आफ्नो काम गर्छन् । साझँ घरको काम सकेर गृहकार्य गरी साढे दश बजे सुत्छन् ।

कथा ६
१५ वर्षिया धनमाया श्रेष्ठ, अरुबेला ७ बजे उठ्थिन् भने मंसिरको दोस्रो हप्तादेखि २ बजे उठ्छिन् । कारण हो इँटा पार्न । १० वर्षको उमेरदेखी इँटा पार्न सुरु गरेकी धनमाया बिहान ५ घण्टा इँटा पार्छिन् भने कहिलेकाहीँ बेलुका पनि । उनले एक दिनमा ६ सय इँटा पार्ने बताइन् । अहिले उनी कक्षा ८ मा पढ्छिन् ।

घरको जेठी छोरी उनलाई इँटा पार्दा बालश्रम भएन भन्दा उनले भनिन्, ‘आफ्ना बाआमालाई अलि–अलि काम सघाउँदैमा कहाँ बालश्रम हुन्छ र, त्यसमा पनि आफुलाई इच्छा लागेर गरेको हुँ, यसले मेरो पढाईमा असर गरेको छैन ।’

उनको ३ दिदिबहिनी र १ भाईलाई उनका आमाबुवाले ६ महिना इट्टा पारेर र बाँकी महिनामा अरुको खेतमा खेताला गरेर, घर बनाउने ज्यामी काम गरेर पालेका छन् ।

उनले सामुदायिक स्कुलमा पढे तापनि कक्षा ८ सम्म विद्यालयले निजी जस्तै पढाउने भन्दै महिना शुल्क लिन्छ । पहिला पढाउन खर्च लागेको भएता पनि अहिले स्कुलमा शुल्क तिर्नु नपर्ने उनले बताइन् । कारण थियो, उनको अनुसार हिमालयन फाउण्डेसनले उनको विद्यालयमा पढ्ने इँटाभट्टामा काम गर्ने बालबालिकाको महिना शुल्क तिर्ने गरेको छ ।

पढ्नकै लागि भनेर विद्यार्थी स्वयम् र उनीहरुलाई पढाउन भनेर अभिभावकहरुले धेरै संघर्ष गरेका हुन्छन् । माथि उल्लेखित त केही पात्र मात्र हुन् । पढाईको महत्व बुझ्दै अभिभावकले आफ्ना सन्तानलाई बच्चाले चाहेकोजति पढाउनुपर्छ भने सन्तानले पनि आफ्ना बुवाआमाले उनीहरुको पढाईको लागि गरेको संघर्षलाई खेर जान दिनुहुदैन ।

:523 Views

Leave a Reply