‘पढाउने जागिरदार, सिकाउने प्रोफेशनल, शिक्षक…’

बैकुण्ठ श्रेष्ठ / मेरो आफ्नो अनुभवले पनि शिक्षक दुई प्रकारका छन् । दश बजे आउने, चार बजे जाने जागिरदार शिक्षक हुन् । बच्चाले बुझ्यो बुझेन, बच्चाको के भयो ? कसो भयो ? रिजल्ल्ट कस्तो भो उसलाई मतलब छैन । ऊ, दश बजे आउने, कक्षा लिने, कक्षा सकिएपछि खुरुक्क जाने । त्यो उसको पेशा भयो । साँच्चिकै उसको जिम्मेवारी, म प्रोफेशनल रुपमा शिक्षक भएको हुँ, भन्ने किसिमको उसलाई फिलिङ्स छ भने ऊ प्रोफेशनल । उसले कमसेकम आफूले पढाएको बच्चाले बुझ्यो कि बुझेन ? भन्ने कुराको ख्याल गर्नुपर्छ ।
१० बजे स्कुल आउने, कक्षामा जाने, भट्भटभट् कक्षामा भट्याउने हो । आफूले पढाएको कुराहरु बच्चाले कति बुझ्यो ? बुझेन ? र कसरी बुझाउने हो आफूले पढाएको पाठको असर बच्चाहरुमा कतिको परेको छ ? त्यसको मतलबै छैन । मलाई सबैभन्दा चित्त नबुझेको कुरा के हो भने सबै विषय फेल हुने शिक्षकको पनि त्यति नै तलब, सबै विषय पास हुने गरी पढाएका शिक्षकको पनि तलब त्यति नै भएको छ । यो सबैभन्दा चित्त नबुझेको कुरो हो ।
सबभन्दा पहिला आफ्नो विषयप्रति आफै जवाफदेही हुनुपर्छ । मैले पढाएपछि न्यूनत्तम यति विद्यार्थीलाई त पास गराउँछु भन्ने ग्यारेन्टी शिक्षकबाट चाहिन्छ । जवाफदेहीता नभएपछि के शिक्षक हुनु ? आफूले पढाएपछि पढ्ने विद्यार्थीले सँधै सम्झन सक्ने गरी पढाउन सक्ने खुबी त हुनुपर्यो नि । तर अहिलेका शिक्षकले पढाएको त पानीमा हिँडेको जस्तो भैरहेको छ ।
मान्छे कि डरले काम गर्छ, कि त लोभले । हाम्रो शिक्षकमा डर पनि छैन, लोभ पनि छैन । त्यसको असर खासै परिरहेको छैन । त्यही एसईईको रिजल्ट आउँछ । त्यो बेला दुई चार दिन स्कुलको बारेमा सोच्ने हो, अरु बेला वास्तै छैन । कम्तीमा एकजना यात्रीसँग त म आज यहाँसम्म जान्छु भन्ने गन्तव्य र लक्ष्य हुन्छ तर हाम्रा शिक्षकमा भने त्यो गन्तव्य र लक्ष्य नै छैन । सरकारी स्कुलको खासमा गन्तव्य नै प्रष्ट छैन । हामी यति वर्षपछि यहाँ पुग्ने, यस्तो गर्ने भन्ने योजना र कार्यक्रम नै छैन ।
कुनै काम मनपराएर गर्न थाल्यो भने त्यसमा ज्यादा मज्जा लाग्छ, मन नलागी नलागी काम भयो भने कहिले काम सिध्याउँ, कहिले समय बिताउँ, भन्ने ध्याउन्न हुन्छ, मनै न्यास्रो हुन्छ । हाम्रा शिक्षक पनि त्यही न्यास्रो मन लिएर कक्षामा गइरहेका छन् । त्यस्ता शिक्षकले कसरी शिक्षण गर्दा हुन्, सम्झँदा पनि दया लाग्छ । त्यो हुनुमा शिक्षककै दोष छ । पहिला मैले जागिर खाँदा म ५ सय ७० रुपियाँ खान्थे, त्यो बेला बरु मलाई परिवार पाल्न सजिलो थियो तर अहिले म महिनामा ४० हजार भन्दा बढी खान्छु तर अहिले मलाई परिवार पाल्न गाह्रो भो । यसको मुख्य कारण अहिलेका मान्छेहरु इच्छामा बाँच्न थाले, आवश्यकतामा बाँच्न चाहेनन् । त्यही चाहनाको कालो छाया शिक्षणमा पनि परेको छ ।
शिक्षणको दर्शन मैनबत्ती बनेर उज्यालो छर्नु नै हो । जीउने तरिका सिकाउनु हो । आफ्नो खुट्टामा आफै उभिएर, कसैकोमा निर्भर नभइकन बाँच्न जान्नु भनेको शिक्षाले त्यसलाई गाइड गर्नु भन्ने हुन्छ । विदेशमा कुनै निश्चित पढाइ सकिसकेपछि जस्तोसुकै काम गर्न पनि तयार हुन्छ, विद्यार्थी, हामीकहाँ नभएको इज्जत होज्ने चलन छ । बीए पास गरेको मान्छे, हकर नि हुने ? भन्ने मानसिकता पाल्छ । शिक्षा भनेको आफ्नै खुट्टामा उभिन सक्ने बन्नु हो । हामी त्यस्तो शिक्षा दिँदै छौं, जसले बेरोजगार उत्पादन गरिरहेका छौं । विद्यालयहरु त बेरोजगार उत्पादन गर्ने कारखाना भएका छन् । किनभने त्यहाँ पढ्ने विद्यार्थीहरुमा अहिलेसम्म आफू के बन्ने भन्ने कुनै निश्चित लक्ष्य छैन । हामीले के बनाउने भन्नेमा हामी स्वयम् पनि स्पष्ट छैनौं । उसको आमाबाबलाई त झन् थाहै छैन ।
सरकारले शिक्षा सुधार्न दुईटा कुरा गरे पुग्छ, पढाइ र दबाइ । सबैले सबै विषय पढ्न लायक व्यवस्था सरकारले गर्नुपर्छ । यहाँ त भेडा दौड र घोडा दौड भैरहेको छ । कसरी एकैठाउँमा दौडिन्छन् । के त्यो सम्भव कुरा हो । घोडा दौड भनेको बोर्डिङको शिक्षा, भेडा दौड भनेको सामुदायिक शिक्षा । त्यस्तै हुनेखानेलाई भने महंगा अस्पताल छ । सरकारले पढाइ र दवाइलाई समान रुपमा अवसर दिने हो भने परिवर्तन आउँछ ।
शिक्षक भएपछि पहिलो स्वयम्ले उक्त पेशालाई कुन हिसाबमा लिइरहेको हो ? त्यसको जवाफदेहीता आफैंले दिनुपर्छ । यहाँ धेरैजसो शिक्षकले कोर्स सिध्याउन भनेको आफ्नो लागि सिध्याउँछ । तर आफ्नो लागि कोर्स त ती बालबालिकाहरु नजन्मेकै बेला सिकेर आएको हो । कोर्स त बच्चाहरुको लागि पो सिध्याउनुपर्छ त । त्यो कोर्स बनाएको त बच्चाहरुको लागि हो नि, शिक्षकको लागि होइन । त्यो कोर्स सकिसकेपछि हाम्रो करिकुलमले के अपेक्षा गरेको छ ? त्यो कोर्स सकिसकेपछि उसले के, के जानेको हुनुपर्यो ? के के थाहा पाएको हुनुपर्यो ? के के समस्या समाधान गर्न सक्ने भएको हुनुपर्यो ? त्यसको जवाफ शिक्षकले दिनुपर्छ तर मतलब छैन । यसरी समय बिताउँछन् हाम्रा शिक्षकहरु ।

काठमाडौं गोल्फूटार बसिरहेका श्रेष्ठ पेशाले शिक्षक हुन् । उनी २०३९ सालदेखि शिक्षण पेशामा संलग्न छन् । उनी मावि तहलाई लेखा विषय अध्यापन गर्छन् ।

:812 Views

Leave a Reply