परीक्षा किन बिहीबारबाटै ?

ललितपुरका समृद्धि बस्नेत यो पटकको एसईई परीक्षामा सहभागी हुँदैछिन् । त्यसको तयारीमा उनी लागिपरेकी छिन् । परीक्षा तयारी गरिरहँदा उनको मनमा एउटा जिज्ञासाले डेरा गरिरहेको छः ‘खासमा किन हरेक परीक्षा बिहीबारबाटै सुरु हुने गर्छ ?’
उनले सो विषयमा आफ्ना सहपाठी, शिक्षक र अभिभावकलाई समेत सोधिन् । त्यसरी सोध्दा चित्तबुझ्दो जवाफको सट्टा उनले शिक्षक, अभिभावकबाट समेत यस्तो जवाफ पाइन्, ‘हाम्रो पालामा पनि बिहीबारबाटै सुरु भएको हो, तिम्रो पालामा पनि भयो ।’
विद्यालय तहको सबैभन्दा महत्वपूर्ण मानिएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को यो वर्षको परीक्षा आज चैत्र ८ गते विहीबार बाटै सुरु भएको छ  । यो वर्षमात्र होइन, एसईई २०७३ पनि बिहीबारबाटै सुरु भएको थियो । यो परीक्षामात्र होइन, स्थनीय तहले लिने आधारभूत तहको परीक्षा पनि बिहीबारबाटै हुने गरेको छ ।
खासमा के कारणले परीक्षा बिहीबारबाटै सुरु गर्छन् ? यो प्रश्नको खास कुनै वैज्ञानिक आधार नभएको स्वयम् परीक्षा सञ्चालन गर्ने निकाय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी बताउँछन् । उनले बिहीबारबाटै सुरु हुनुको ठोस् वैज्ञानिक कारण नभएको बताउँदै भने, बिहीबारबाटै सुरु गर्नुपर्छ भन्ने कुनै कानून छैन, नीति छैन तर पनि पहिलेदेखि चलिआएको परम्पराअनुसार बिहीबारबाटै सुरु गर्ने गरेका हौँ ।’ उनले भने ।
परीक्षा नियन्त्रण कार्यालयले लिने परीक्षामात्र नभएर विद्यालयले लिने परीक्षादेखि लिएर विद्यालयका विभिन्न छाता संगठनहरूले संयुक्त रूपमा लिने परीक्षा पनि बिहीबारबाटै सुरु गर्ने अभ्यास हामीकहाँ रहेको छ । बिहीबारबाटै परीक्षा किन सुरु गर्नुहुन्छ तपाईँहरू ? को जवाफमा भक्तपुर एनप्याब्सनका अध्यक्ष जिबी खड्कासँग पनि चित्तबुझ्दो जवाफ छैन । उनी पनि पहिलेदेखि चलिआएकै कारणले बिहीबारबाटै परीक्षा हुने गरेको बताउँछन् ।
परीक्षा बिहीबारबाटै सञ्चालन गर्नुको पछाडि विज्ञान, वा गणित विषयलाई बढी जोड दिइएको धेरै शिक्षकहरूको अनुमान छ । उनीहरू अनुमान गर्छन्, ‘गणित र विज्ञान विषय भनेका बुझ्न गाह्रो विषयका रूपमा विद्यार्थीले लिने गरेका छन्, यसको लागि अन्य विषयमाभन्दा बढी समय चाहिन्छ भन्ने शिक्षकमा पनि, अभिभावकमा पनि र विद्यार्थीमा पनि मानसिकता छ, त्यही मानसिकताको कारण बिहीबारबाटै परीक्षा सुरु हुने गरेको हुनुपर्छ ।’ शिक्षकहरूको साझा मत छ ।
परीक्षा नियन्त्रक रेग्मी पनि शिक्षकहरूको उक्त कुरामा सहमत भएका छन् । उनी भन्छन्, ‘बिहीबारबाट सुरु भएपछि सुरुमा विद्यार्थीले सजिलो विषयमा जाँच दिन्छन्, अनि आइतबार प्रायः कि गणित कि विज्ञान विषयको जाँच हुने गर्दछ । आइतबार ती विषयको भएपछि शनिबार अलि बढी अभ्यास गर्ने, पढ्ने समय पाउँछन् भनेर हो ।’
एसईईमा कति विद्यार्थी ?
चैतको २० गतेसम्म सञ्चालन हुने यो वर्षको एसईईमा नियमित र एक्जाम्टेड समूहबाट गरी कूल ४ लाख ८७ हजार परीक्षार्थी सहभागी हुँदैछन् । गतवर्ष एसईईमा ५ लाख ३८ हजार परीक्षार्थी थिए । परीक्षा नियन्त्रक रेग्मीले कक्षा १० को पाठ्यक्रम परिवर्तन भएसँगै प्राक्टिकल गर्नुपर्ने विषय पनि थपिएका छन् । रेग्मीका अनुसार अनिवार्य ६ वटा विषयमध्ये ५ वटामा प्राक्टिकल हुनेछ । ऐच्छिक विषयमा पनि प्राक्टिकल हुन्छ । नेपालीमा पनि कुल सय पूर्णाङ्कमध्ये ७५ नम्बरको सैद्धान्तिक र २५ नम्बरको प्राक्टिकल हुनेछ । ‘अब गणितमा मात्र प्राक्टिकल हुँदैन’, उनले भने ।
यसवर्ष १ हजार ९ सय ५६ वटा परीक्षा केन्द्र तोकिएको छ । यो गत वर्षको भन्दा ३३ ले बढी हो । यस पटकको परीक्षामा सामान्य, संस्कृत र प्राविधिक धारका गरी ८८ वटा विषयको परीक्षा हुनेछ । शिक्षा ऐन संशोधन भएर कक्षा १२ सम्म माध्यमिक शिक्षा भएपछि गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत रहेर एसईई सञ्चालन हुन लागेको हो । बोर्ड गठन हुनुअघि एसईई परीक्षा एसएलसीको नामबाट परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गथ्र्यो ।
यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले कूल ८ सय पूर्णाङ्कको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न लागिएको जनाएको छ ।
गत वर्ष कक्षा १० का सबै विषयको पाठ्यक्रम परिवर्तन भएकाले नयाँ विद्यार्थीलाई सोही पाठ्क्रमअनुसार प्रश्न सोधिने छ । रेग्मीका अनुसार गत वर्षको परीक्षामा जीपीएमा १ दशमलव ६ भन्दा थोरै स्कोर आएका अधिकांश विद्यार्थी एक्जाम्टेड समूहमा सहभागी हुँदैछन् । त्यसबाहेक कुनै विषयमा उच्च ग्रेड ल्याए पनि कुनै विषयमा न्यूनतम प्राप्ताङ्क पनि ल्याउन नसकेका विद्यार्थीसमेत यो समूहबाट परीक्षामा सहभागी हुँदैछन् ।

नुवागी मासिकको २०७४ चैत्र अंकबाट साभार

:852 Views

Leave a Reply