पहिलो पटक पहाडको दशैं

हिन्दुहरूको महान चाड दशैं के बालबालिका ? के युवा ? के बुढा ? सबैका लागि उत्तिकै महत्वपूर्ण हुन्छ र हरेक दशैं आ–आफ्नै किसिमले अविष्मरणीय पनि हुन्छ । मेरो जीवनमा पनि त्यस्ता याद गर्न लायक दशैं धेरै छन् तर त्यस मध्ये पनि यात्रा र चाड दुवै मिसिएको सन् १९९० (वि.स २०४७) को दशैं आज पनि सम्झन्छु । म त्यति बेला कक्षा २ मा पढ्थेँ । नवलपरासीमा जन्मेर चितवनमा हुर्केको म त्यस वर्ष पहिलो चोटि बुबाको मावलीघर बाग्लुङ्ग दशैं मनाउन गएको थिएँ । त्यसबेला पोखरा–बाग्लुङ्ग सडक बनिसकेको थिएन । त्यसैले म, मेरो बुवा, आमा, बहिनी र गाउँका केही छिमेकीहरू जो पर्वत र बाग्लुङ्गसँग सम्बन्धित थिए सबै फुलपातीको दिन त्यसतर्फ लाग्यौँ ।

झोलुङ्गे पुलको जिल्ला बाग्लुङ्ग भएता पनि धरै खोलाहरूमा पुलै थिएन । त्यसैले हामी साना चाहिँ बुबाको काँधमा बसेर र आमा र छिमेकीहरू मानव साँङ्गलो बनाएर त्यो कम्मर कम्मरसम्म आउने खोलाहरू तर्दै हिड्यौँ । पहिलो पल्ट सिस्नु छोएको र पोलेर रोएको अझै सम्झनामा आउँछ । आमा र आन्टीहरू विस्तारै हिँड्नु हुने हुनाले चन्द्रमाको प्रकाशमा राति ८ –९ बजेसम्म हिँडेको र बाटोमा बास बसी अर्को दिन बाग्लुङ्ग पुगेका थियौँ ।

मलाई याद छ बाग्लुङ्गको उपल्लाचौरमा पुग्ने वित्तिकै मैले पहिलो चोटि त्यति ठूलो लिङ्गे पिङ्गमा मानिस मच्चिएर खेलेको र दशैंमा चङ्गा उडाएको देखेको । त्यो मेरो लागि नौलो थियो किनभने हामी चितवनमा चैत बैशाखमा चङ्गा उडाउँथ्याँै । बुबाको मामाघरमा अझ भनाँै पहाडमा त्यो दशैं निकै उल्लासमय बितेको थियो । हाम्रा हजुरबुवा, हजुरआमा र मान्यजनको हातबाट टिका लगाई दशैंको तेस्रो दिन त्यहाँबाट चितवन हिँडेका थियौँ । आउँदा भने मेरी आमा र बहिनी बलेवाबाट हवाइजहाजमा र बुबा र म हिँडेर आउने कार्यक्रम थियो । त्यसैले हामीले आमा र बहिनीलाई बाग्लुङ्गमै छोडी बिहान झिस्मिसेमै त्यहाँबाट हिँड्यौँ ।

बाटोमा जे जे पाइन्छ त्यही खाँदै कतै नरोकिकन हामी त्यसै दिन बेलुका ३–४बजे तिर स्याङ्जा नौडाँडा आएका थियौँ जहाँबाट पोखराको लागि ट्याक्सी चढेका थियौँ । त्यसबखत त्यस ट्याक्सीमा बजेको “हावाहावा ए हावा” बोलको हिन्दी गीत यात्राकै क्रममा कण्ठ पारेको थिएँ । अझ मलाई रमाइलो लागेको कुरा हामीले त्यसबेला स्याङ्जा नआउँदै भर्खरै ट्रयाक खोलेको बाटोमा गाडी चढ्ने मौका पाएका थियौँ ।

तर विडम्बना त्यस गाडी रोकिएको बेला एक महिलाले मरेको कुखुरा गाडीमुनी फालेर गाडीलाई दोष लगाएर क्षतिपूर्ति माग्दै रडाको मच्चाएपछि हाम्रो गाडी चढ्ने सपना त्यहीँ तुहिएको थियो । पोखरा बसपार्क आउनासाथ चितवनको लागि बस पाएकोले हामी त्यसै दिन राती ९ बजे तिर घर आएका थियौँ । आमा र बहिनी अर्को दिन आइपुग्नु भएको थियो ।

यातायातको सुविधा भएपछि ती बाटोहरूमा सायदै मानिसहरू हिँड्छन् होला । तर पनि मेरा रमाइला यादहरू ती बाटामा यत्रतत्र पोखिएको मलाई आभाष हुन्छ । त्यसैले अहिले पनि म बाग्लुङ्ग जाँदा पहिला हिँडेको बाटोतिर मेरा नजरहरू लोलाउन थाल्छन् र पुराना याद मेरा आँखा वरीपरि घुम्न थाल्छन् जसले मलाई रमाइलोको अनुभूति गराउँछ ।

सुन्दर कुमार श्रेष्ठ, प्रिन्सिपल, हाई भ्यू स्कुल, टिकाथली, ललितपुर

:569 Views

Leave a Reply