पहिलो पटक योमारी बनाए अभिभावकले

काठमाडौं । कक्षा २ मा पढ्ने अनमोलको स्कुलबाट उनको आमा रञ्जु अधिकारीलाई पत्र आयो । पत्रमा लेखिएको थियो, ‘स्कुलले ब्रिटिस काउन्सिलको अन्तराष्ट्रिय स्कुल अवार्ड आयोजनामा काम गरिरहेकोले त्यसका लागि एकपटक सामुदायिकस्तरको नेवारी खाना योमरी बनाउन सहभागी हुनुहोला ।’ उनी नैकापबाट खुसी हुँदै स्कुल आइन् योमरी बनाउन । उनले पहिलो पटक बनाएकी थिइन् योमरी । स्कुलमा योमरी बनाउनकै लागि भनेर अघिल्लो दिन युटुवबाट योमरी कसरी बनाउने भन्ने ज्ञान लिएको बताउँदै भनिन्, ‘यसरी योमरी बनाउँदा नयाँ कुरा सिक्न पाइयो, साथीहरुबाट यसमा चाक्कु मात्र नभई खुवा, किमा र भेज पनि बनाउन सकिने कुरा थाहा भयो ।’

काठमाडौं कुलेश्वरस्थित नवनीत टड्लर्स जोनका विद्यार्थी र अभिभावक मिलेर शुक्रबारका दिन योमरी बनाइरहँदा उनले आफ्नो खुसी साटेकी थिइन् । योमरी स्वास्थ्यको लागि पनि राम्रो मानिने भएकाले नेवार मात्र होइन अरुले पनि बनाएर खानुपर्नेमा उनले जोड दिइन् ।

विद्यालयले किताबी ज्ञान मात्र नभएर योमरी कसरी बनाउने भने जस्तै खाना कसरी बनाउने जस्ता व्यवहारिक ज्ञान सिकाएकोमा उनले खुसी हुँदै भनिन्, ‘बच्चा ठूलो भएपछि घरमा एक्लै हुँदाबुवाआमा आएर मलाई पकाएर खुवाउनुहुन्छ भनि फास्ट फुडतिर आकर्षिण भइरहेका छन् । यसरी खाना बनाउँदा बच्चाहरू अरुमा निर्भर हुन पर्दैन ।’ कार्यक्रमले गर्दा शिक्षक र अभिभावकबीच पनि आत्मीयता बढेको उनले बताइन् ।

त्यस्तै सुष्मा मल्ल पनि आएकी थिइन् स्कुलमा योमरी बनाउन । नेवारी संस्कार र खानालाई स्कुलले प्राथमिकता दिएकोमा खुसी हुँदै उनले भनिन्, ‘अहिलेको समयमा सबैजना व्यस्त भन्दै हाम्रो संस्कार लोप हुँदै गएको अवस्थामा यसरी कार्यक्रम गर्दा हाम्रो संस्कार जोगाउन सहयोग हुन्छ ।’ नेवारी संस्कार अनुसार २ वर्षदेखी १२ वर्षसम्म जोेड वर्षमा नानीहरूलाई उमेर अनुसारको योमरीको माला लगाइदिने गरेको उनले बताइन् । उनका अनुसार जाडो महिनामा योमरी खाँदा शरीरलाई तातो रस्वास्थबनाउँछ र योमरीको चुच्चो जति लामो भयो पूर्णिमाको दिनदेखि त्यो अनुसार दिन लम्बिदै जान्छ भन्ने मान्यता छ ।

अण्डाकार पिठोको बिचको प्वालमा चाकु भर्दै कक्षा २ मा पढ्ने सुप्रिना कार्की । योमरी बनाउने कार्यक्रममा संयोजक अनुपमा मुखियाले योमरी बनाउन के के चाहिन्छ भन्दा उनले हात उठाएर भन्न थालिन् ‘राइस फ्लोर, चाक्कु, मिल्क, वएल, सिसेम’ । आफ्नो घरमा योमरी कहिले नपाकेको र स्कुलमा योमरी आफैले बनाउन पाउकोमा उनी दङ्ग थिइन् ।

त्यस्तै उनीसँगै पढ्ने साहसिका श्रेष्ठ स्कुलमा आफ्नो ममिसँगै बसेर योमरी बनाउन पाउँदा खुसी देखिरहेकी थिइन् । कार्यक्रम संयोजक मुखियाले योमरी खाए के हुन्छ भनि विद्यार्थीलाई प्रश्न गर्दा उनले भनिन्, ‘इट गिभ्स अस एनर्जी, प्रोटिन, भिटामिन एण्ड मेक हेल्दी’ ।

नेपालको स्कुलमा अन्तर्राष्ट्रिय स्तर ल्याउनका लागि ब्रिटिस काउन्सिलले गरेको कार्यक्रममा स्कुलले सहभागी जनाउन यो कार्यक्रम गरेको संयोजक मुखियाले जानकारी दिइन् । उनी भन्छिन्, ‘नेपाल सरकारले बनाएको पाठ्यक्रम अनुसार २० प्रतिशतमा स्थानीय पाठ्यक्रममा स्थानीय नेवार खाना छनोट गर्यौ र त्यसमा पनि बारा र योमरी । त्यतिमै सीमित नगरेर इटलीको पास्ता र भारतको डोसा छनोट गरी विद्यार्थीलाई सिकायौँ ।’ यस्ता कार्यक्रमबाट नेवारी संस्कार, जीवनका सिप र विद्यार्थी, शिक्षक र अभिभावक एकजुट भएर काम गर्न सिक्ने उनले बताइन् ।

शनिबार किर्तिपुरस्थित राइजिङ लोटस चिल्ड्रेन भिलेज नेपालमा कक्षा २ का नानीहरूले योमरी बाँडेका थिए ।उनका अनुसार नानीहरूले आश्रमका बच्चाबीच अन्तक्र्रिया गरेका थिए ।

‘बच्चाहरूमा आफ्नो जन्मदिनमा वा अरु कुनै चाड मनाउँदा केक काटेर वा हामीले मात्र खाने होइन कि अरुलाई पनि बाँड्ने र सहयोग गर्नुपर्ने भन्ने कुराको भावना सानै उमेरमा सिकेमा उनीहरूले पछि पनि आफुले सहयोग गर्दै जान्छन् । त्यसैले स्कुलले यस्ता कार्यक्रम गरिरहनुपर्छ ।’ अभिभावक रञ्जु अधिकारीले भनिन् ।

:717 Views

Leave a Reply