पाठक तान्ने पुस्तकालय, जुन शनिबार पनि खुल्छ

-हरिसुन्दर छुकां/भक्तपुर । पुस्तकालय छेवैमा नःपुखु(गुह्य पोखरी) । पारिलो घाम, पुस्तकालयको उत्तरी झ्यालबाट देखिन्छ, भक्तपुरको उत्तरी रमणीय भाग, चाँगुनारायणको भूभागदेखि सुदूरको हिमाल पनि। कोठाबाटै देखिने मनोरम दृश्य, दृष्यसँगै मनलाई आनन्दी दिने शान्त वातावरण र फराकिलो कोठा । त्यही कोठामा बसी पुस्तक र पत्रपत्रिका पढ्न पाउँदाको आनन्दी ।

‘नःपुखुको मनोरम दृश्यसँगै आधुनिक तवरबाट आरामदायी, शान्त, फराकिलो र उज्यालो कोठामा पुस्तक र पत्रपत्रिका पढ्न आउने पाठकहरु रमाएका छन्।’ पुस्तकालयको वातावरणमा आएको फेरबदलले पुस्तकप्रेमीहरु दंग पर्ने गरेको पुस्तकालय प्रमुख भूपाल मुल भन्छन् ।

भक्तपुरको दरबार स्क्वायरमा रहेको बेला अहिलेको जस्तो वातावरण थिएन, त्यहाँ पाठकलाई पनि गाह्रो, कर्मचारीलाई पनि गाह्रो थियो, पुस्तकालय भक्तपुर नगरपालिका वडा नं. २ नः पुखुसँगैको भवनमा सरेपछि सबैलाई सहज भएको छ । पाठकमैत्री वातावरण बनेको छ । त्यही सहज भएर भन्नुपर्छ, पुस्तकालयमा आउने पाठकहरुको संख्या पनि बढेको छ ‘पुस्तकालय यता सारेपछि पहिले भन्दा अध्ययन गर्न आउने पाठकहरुको संख्यामा समेत वृद्धि भएको छ ।’ उज्यालो अनुहारका साथ प्रमुख मूल बताउँछन् ।

पुस्तकालय सञ्चालन गरिरहेको भक्तपुर नगरपालिकाले पुरानो ठाउँबाट नयाँ भवनमा सारेसँगै नयाँनयाँ पुस्तकहरु पनि थपिएका छन् । पुस्तक राख्ने र्याकहरु बढाइएको छ । विषयवस्तु अनुसारका पुस्तकहरु लहरै ठड्याएर राखिएका छन् । त्यो सबै गर्न भक्तपुर नगरपालिकाले रु. ५ लाख सहयोग गरेको पुस्तकालय प्रमुख मुलले जानकारी दिए । ‘पाठकको माग अनुसार बजारमा आएका नयाँ साहित्य, राजनीतिक, दर्शन, विद्यार्थीहरुका लागि आवश्यक रिफ्रेसमेन्ट किताबहरु थपेका छौं, प्रत्येक वर्ष नपाकै सहयोगमा थप आवश्यक पुस्तकहरु थप्दै जाने हाम्रो लक्ष्य छ।’ उनी भन्छन् ।

पुस्तकालयमा पढ्नका लागि राष्ट्रियस्तरका सबै दैनिक, साप्ताहिक, पाक्षिक र मासिक पत्रपत्रिकाको व्यवस्था गरिएको छ। पुस्तकालयमा नेपाली, अंग्रेजी, नेपाल र हिन्दी भाषा लगायत विभिन्न साहित्यक क्षेत्रसँग सम्बन्धित पुस्तकहरु समेत संकलनमा राखिएका छन्। पुस्तकालयमा गोरखापत्र दैनिकको २०५६ सालयताका सबै अंकहरु व्यवस्थित रुपमा अभिलेख राखिएका छन्। त्यसका साथै अन्य विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुको दुई दुई वर्षका अभिलेख राख्ने गरिएको छ।

यतिमात्र नभएर पुस्तकालयमा छिरिसकेपछि बाहिर निस्कन मन नलाग्ने गरी लोभलाग्दो तरिकाले राखिएका पुस्तकका र्याक, र्याकमा टाँसिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखक र साहित्यकारहरुका तस्बिरले एकपटक गएका पाठकलाई फेरि फेरि जाउँ बनाएको छ ।

पुस्तकालयका अनुसार अहिले पुस्तकालयमा नयाँ र पुराना गरी एकजार दुईसयभन्दा बढी सदस्य छन् । पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन गर्न, पाठकहरुलाई निगरानी गर्न सीसी क्यामरा समेत जडान गरिएको छ। पुस्तकालयलाई ईलाइब्रेरी बनाउने सपना देखेका मूलले पाठकलाई सजिलो हुने गरी १२ हजार भन्दा बढी पुस्तकको विद्युत्तीय दर्ता गर्ने काम भइरहेको बताए ।

बुधबारको दिनबाहेक जाडो महिनामा दैनिक बिहान ११ बजेदेखि ५ बजेसम्म र गर्मी मौसममा बिहान ११ बजेदेखि ६ बजेसम्म खुल्ला हुने पुस्तकालय शनिबार पनि खुल्छ । सरकारी तथा गैरसरकारी संस्थाहरु, शैक्षिक संस्थाहरु शनिबार बन्द हुन्छन् तर, यो पुस्तकालय भने शनिबार खुल्छ । यसले आमपाठकलाई अझ सहज बनाएको छ । यसैले यो दिन अझ पुस्तकालयमा पाठकको संख्या बढ्ने गरेको छ ।

पुस्तकालय व्यवस्थित भएसँगै पाठकका लागि निःशुल्क इन्टरनेट सुविधादेखि अध्ययन कक्ष र शौचालयको समेत छुट्टै व्यवस्था गरिएको छ। ‘पुस्तकालयमा आधुनिक तवरले विकास गर्न वैज्ञानिक पद्धतिलाई अवलम्बन गरी पुस्तकहरु राखेका छौं,’ मुलले भने।

पुस्तकालयमा चार जना कर्मचारी छन्, प्राविधिक कर्मचारीको अभाव भएको मुलले बताए। ‘प्राविधिक क्षमता भएका जनशक्ति भए पुस्तकालय थप व्यवस्थित ढंगले सञ्चालनमा ल्याउन सकिनेछ उनले भने।

जिल्लाकै पुरानो, देशकै राम्रो र व्यवस्थित पुस्तकालयको सूचीमा दरिएको जनज्योति पुस्तकालयलेको ठाउँ फेरिएसँगै यसल् आफ्नो मुहारमा पनि चमक ल्याएको छ । लामो समय भक्तपुर दरवारस्क्वायरस्थित साँघुरो कोठामा सञ्चालन भइरहेको ६८ वर्ष पुरानो पुस्तकालय नयाँ र व्यवस्थित भवनमा सरेसँगै यसको मुहार फेरिएको हो।

जनज्योति पुस्तकालयको स्थापना २००७ सालमा भएको हो। तत्कालिन राजा त्रिभुवनले घट्खामा उद्घाटन गरी सञ्चालनमा ल्याएकोे पुस्तकालय करिव ५ दशक दरवारस्क्वायरस्थित नपाको भवनमा सञ्चालन हुँदै आएको थियो।

:748 Views

Leave a Reply