प्याब्सक एकल आधुनिक गायन प्रतियोगितामा उत्कृष्ट २५ छानिए

काठमाडौं, २० भदौ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सक) द्वारा आयोजित एकल आधुनिक गायन प्रतियोगिताको मेगा राउण्डबाट उत्कृष्ट २५ विद्यार्थीको छनोट गरिएको छ । काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सम्पन्न सो कार्यक्रममा नेसनल प्याव्सनका केन्द्रीय सल्लाहकार कर्णबहादुर शाहीले उत्कृष्ट प्रतियोगीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
प्याब्सक अध्यक्ष बालकुमार गुरुङका अनुसार विद्यार्थीको प्रतिभाको पहिचान गर्दै उनीहरूमा सिर्जनात्मक विकासका लागि दोस्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता गरिएको हो । शुरुमा प्रतियोगीहरूमध्ये २० जना उत्कृष्टलाई मात्र अन्तिम प्रतिस्पर्धाका लागि छनोट गर्ने भनिएता पनि विद्यार्थीका उत्कृष्ट प्रस्तुतीका कारण २५ जनालाई छनोट गरिएको उनले बताए ।
५५ वटा विद्यालयका ९६ जना प्रतिस्पर्धीको गायन क्षमताको निर्णय गर्न नेपालका लोकप्रिय गायक उदय सोताङ र गायिका मनिला सोताङ कार्यक्रममा निर्णायकको भूमिकामा उपस्थित थिए । मेगा राउन्डबाट छानिएका उत्कृष्ट २५ प्रतियोगीहरूबीच यही असोज १ गते अन्तिम प्रतिस्पर्धा हुने छ ।


प्याब्सकको दोस्रो उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिताका उत्कृष्ट २५ प्रतियोगीहरूमा प्रीति तामाङ (बिपुल शिक्षा निकेतन), कोसिस पाण्डे र अप्रतिम भण्डारी (ग्रीनलन्च एकेडेमी), राजु पौडेल (चक्षु स्कूल), युमिशा बानियाँ (कोहिनुर स्कूल), अङ्शु तामाङ र सिमोन सुनार (लुम्बिनी एकेडेमी), निशान लिम्बु र इरोज राई (लिबर्टी एकेडेमी), समिरा महत र अश्मी
श्रेष्ठ (मिल्कि वे इन्टरनेशनल स्कूल), सर्गम लामा (नव सुन्ताखान एकेडेमी), सुनिल गुरुङ (प्रस्फुटन इन्टरनेशनल एकेडेमी), शर्मिला लिम्बु र सोनाम शेर्पा (पिक प्वाइन्टर एकेडेमी), अर्पन राई (शारदा एकेडेमी), सौरभी भित्रकोटी (रिलायन्स इन्टरनेशनल एकेडेमी), निमा साङगे शेर्पा (साम्तेन मेमोरियल स्कूल), अमिश थापा (श्रीदिवा स्कूल), ध्रुव बिक (तिरूपति इङलिस स्कूल), महिमा तामाङ (भेनस पब्लिक स्कूल), लक्की शेर्पा (तारा सदन इङलिस स्कूल), सोनिया बान (त्रिनेत्र विद्या निकेतन), दावा जाङ्बो शेर्पा (पायनियर पब्लिक स्कूल) र कृपा राई (फेरिल्यान्ड इन्टरनेशनल स्कूल) रहेका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद क्रमश ः ७ हजार, ५ हजार र ३ हजारका साथ ट्रफि र प्रमाणपत्र दिइने छ । उत्कृष्ट १० प्रतियोगीले ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाले बताएको छ ।

:1234 Views

Leave a Reply