‘प्याब्सनलाई प्राज्ञहरूको संगठन बनाउने मेरो योजना हो ’

म प्याब्सनमा विगत एघार वर्षदेखि निरन्तर रूपमा विभिन्न जिम्मेवारीमा रहेर आबद्ध रहँदै आएको छु । काठमाडौँ जिल्लाको सदस्य, केन्द्रिय सदस्य, केन्द्रिय सचिव र केन्द्रिय उपमहासचिव हुँदै अहिले महासचिवको भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको छु । जतिबेला म महासचिव भएको थिएँ, त्यो बेलाको परिस्थिति अत्यन्त जटिल थियो । नीतिगत रूपमा समस्या थियो । विगतमा प्याब्सन देखिने तर अनुभुति नहुने, निर्वाचित हुने तर ऊ विद्यालयभित्र नछिर्ने, नेतृत्व नेताको लागि मात्र रहने तर समुदाय र विद्यालयमा नहुने जस्ता अवस्था र समस्यालाई चिर्दै प्याब्सनको परिभाषालाई बदल्ने काम हामीले गरेका छौँ । प्याब्सन भनेको विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको लागि हो भन्ने कुरा स्थापित गर्न सकेको छु । मैले विभिन्न विद्यालयमा गएर अभिभावक अभिमुखिकरण र शिक्षक तालिमको काम पनि गरेको छु । आफ्नो कार्यकालमा विद्यालयमा भएका विभिन्न समस्याहरूलाई प्राज्ञिक र निडर भई नीतिगत त्यसको समाधानमा मेरो भूमिका रहेको छ ।

अनिवार्य तथा निःशुल्क ऐन बन्दै गर्दा त्यसमा भएको शत प्रतिशत निःशुल्क र ५० र २५ प्रतिशत छात्रवृत्तिको कुरालाई १०, १२ र १५ प्रतिशतमा ल्याउन संसदलाई हामीले बाध्य पारेका थियौँ । तथापी त्यो १० प्रतिशत नै हुनुपर्छ र ४५ प्रतिशतको आरक्षण छात्रवृत्तिको विभेदकारी व्यवस्था खारेज हुनुपर्ने मागमा हामी लागि परेका छौँ । संघीय शिक्षा ऐनका विषयमा पनि हामीले काम गरिरहेका छौँ । राज्य, अभिभावक, विद्यार्थी र शिक्षकले म जुन पदमा रहँदा मबाट शिक्षा क्षेत्रमा योगदान पाउँछ त्यही अनुसार मैले प्याब्सनमा पद छनोट गर्ने हो । साथै यो महाधिवेशनमा म ‘घरकी बुढी आमा’ हो । महासचिवको हिसाबले यो १४ औँ महाधिवेशन भब्य रूपमा सफल पार्नु मेरो दायित्व हो । देशभरको ७३ जिल्ला र करिब ५०० स्थानीय पालिकामा प्याब्सनका समिति र यसको सञ्जाल रहेका छन् ।

वि.स २०७५ सालको भदौ २ गते कोहलपुर नगरपालिका प्याब्सनको अधिवेशन आरम्भ गरेर फागुन ५ गते प्रदेश ३ को प्रदेश अधिवेशन गर्दासम्म म निरन्तर संगठनको महासचिवका रूपमा अधिकांश प्रदेश, जिल्ला र स्थानीय पालिका पुगेर वर्तमान समयको शिक्षाको अवस्था, आवश्यकता र चुनौतीको विषयमा केन्द्रित रहेर कुराकानी गरेको थिएँ । अधिकांश साथीहरूको भनाई थियो, ‘अव युवाको काँधमा प्याब्सन’ । प्याब्सनमा व्यक्तिगत नभई सामूहिक नेतृत्वको कुरा आउँछ । ‘प्याब्सनको स्थापनादेखि हालसम्म केही नाम चलेका अग्रजहरू भोजबहादुर शाह, सिताराम मास्केलगायतका महासचिवका रूपमा सम्झन योग्य नामहरूको सूचीको अग्रपंक्तिमा तपाई हुनुहुन्छ’ भनेर साथीहरूले भन्नु भएको छ । त्यो भनेको उहाँहरूले मेरो कामप्रति गरेको सम्मान र मबाट भोलिको उहाँहरूको अपेक्षा हो । मेरो २ वर्ष कार्यकाल संरचनागत विकासमा भन्दा पनि कानुनी संरचना र आधार बनाउनमा वित्यो । प्राज्ञिक खालको प्याब्सन बनाउने मेरो योजना रहेको छ ।

मेरा एजेण्डाहरू
१. प्याब्सन आबद्ध विद्यालयका सम्पूर्ण तहका शिक्षकहरूलाई तालिम दिने ।
२. प्याब्सन आफैले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ र कस्ता पाठ्यक्रम बनाउनुपर्छ भन्ने विषयमा एउटा अनुसन्धान केन्द्र खोलेर अनुसन्धान गर्ने ।
३. प्याब्सनका प्रिन्सिपल, प्याब्सन सदस्यहरू र शिक्षकहरूलाई प्याब्सनको समन्वयमा विभिन्न दुतावाससँग सहकार्य गरेर विभिन्न विदेशी विश्वविद्यालयहरू र अनुसन्धान केन्द्रमा लगेर सिकाउने ।
४. प्याब्सनबाट विद्यार्थीलाई छात्रवृत्ति दिलाउन कोषको व्यवस्थापन गर्ने ।
५. शिक्षक व्यवस्थापन र तालिम व्यवस्थापन गर्ने ।
६. शिक्षालाई नाफामुखी नभई सेवामुखी व्यवसाय बनाउने ।

:642 Views

Leave a Reply