प्याब्सन महाधिवेशनबाट कस्तो नेतृत्व छान्ने ?

महाधिवेशन कस्तो हुनेमा अब धेरै आदर्शका कुराहरु गर्नु हुँदैन । हामीले यथार्थको जगमा ओर्लिएर नेतृत्व चयन गर्नुपर्छ । जो नेतृत्वले रामेछाप, दोलखादेखि लिएर रसुवासम्मका स्कुल बचाउने हिम्मत राख्छ । जो नेतृत्व वर्तमान सरकारको प्रकृति थाहा पाएर पनि प्याब्सनको हितमा काम गर्न सक्छ, त्यस्तो नेृत्वलाई रोज्नुपर्छ ।

फागुन २८ र २९ गते १४औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व छान्दै गर्दा तपाई हामीले हाम्रो विद्यालयको चाबी नेतृत्वका हातमा राख्न सकियोस् । हाम्रो प्रमाणपत्र उसका हातमा राख्न सकियोस् र उसले साचै नै त्यो फिर्ता ल्याउन सक्छ भन्ने विश्वास गर्न सकियोस् । हाम्रो लगानी बचाउन सक्छ भन्ने विश्वास गर्न सकियोस ।

प्याब्सनमा राजनितिक मान्छे आउन हुन्छ कि हुँदैन, प्याब्सनमा राजनिति हुनुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा मेरो जवाफ हो, प्याब्सनमा कुनै राजनितिक भाव, विचार आउनु हुँदैन । प्याब्सन राजनितिक दलसँग निकट र टाढा हुनुहुँदैन । प्याब्सन राजनितिक दलको भातृ संगठन होइन । तर प्याब्सनमा जो नेतृत्वमा आउँछ, उसले राजनितिक दल र तिनका घोषणा पत्र पढेको र बुझेको हुनुपर्छ । ती दलहरुले आफ्नो महाधिवेशनमार्फत निजी शिक्षाका विषयमा अवलम्बन गरिरहेको निति बुझेको हुनुपर्छ । उसले शिक्षाको यात्रालाई कता लैजान खोजेको हो, नेतृत्व चयन गर्दा यो कुरा पनि ध्यान दिनुपर्छ ।

अब म नेतृत्व गर्छु, संगठनको यो पदमा बस्छु भन्ने मान्छेहरुका बिच हामी ककस गरौँ । ‘मेरो विद्यालयको लगानी तिमी बचाउँछौँ कि बचाउँदैनौँ ?, हप्तौ अनशन बसेर भएपनि हाम्रो विद्यालयको लगानी बचाउछौँ कि बचाउँदैनौँ?’ भनेर हामी सोधौँ ।

त्यस्तै सोधौँ, ‘निजी विद्यालयमा अझ गुणस्तरीय शिक्षा बनाउन तिम्रो योजना के हो?, हामीलाई विद्यालयमा शिक्षक कर्मचारी चाहियो भने प्याब्सनलाई फोन गर्दा पाइन्छ ?, हाम्रा शिक्षकलाई तालिम गराउनु परेमा प्याब्सनमा ठाउँ छ ? केन्द्रिय प्याब्सनको नेतृत्वले कक्षाकोठामा गएर १ घण्टा पढाउँछ ? केन्द्रिय प्याब्सनका नेतृत्वले हाम्रा शिक्षक कर्मचारीको सदाचारको विषयमा बोल्न सक्छ?’ यस्ता ककस गरेपछि अनि नेतृत्व चयन गरौँ ।

१३ वटा महाधिवेशनहरुमा हामीले कति राम्रा र कति नराम्रा कार्य गरेका छौँ । राम्रो कामहरुलाई निरन्तरता दिदैँ र नराम्रा कामहरुबाट शिक्षा लिदैँ परिमार्जित र परिष्कृत किसिमको राष्ट्रिय महाअधिवेशन गरौँ ।

आइतबार भएको प्याब्सन प्रदेश ३ को दोस्रो अधिवेशनमा प्याब्सन केन्द्रिय कार्यसमितिका महासचिव  तथा सीइए हाइस्कुलको प्रिन्सिपल बानियाँले राखेको अभिव्यक्ति ।

:882 Views

One thought on "प्याब्सन महाधिवेशनबाट कस्तो नेतृत्व छान्ने ?"

  1. चुडामणि डुम्रे says:

    यी र यस्तै बस्तुपरक तथ्यपरक कुरा बुझ्न अनि गर्न सक्ने ब्याक्तीलाई नेतृत्व दिनु पर्छ।

Leave a Reply