छोराछोरीलाई सामुदायिकमा नपठाउनु : प्रअ र शिक्षकको ‘छक्कापञ्जा’

शैक्षिक विषयवस्तु राखेर बनाइएको छ भन्ने प्रचारप्रसारको कारण पनि हलमै गई छक्कापन्जा –३ फिल्म हेरियो । अन्त्यसम्ममा हेर्दा फिल्मको मूल आशय प्रशासन कमजोर बनाउने मूल तत्व नै राजनीति हो भन्ने देखियो । जब राजनीति सुध्रन्छ, गरिबका छोराछोरी पढ्ने सामुदायिक विद्यालयमा पद र प्रतिष्ठाको लडाइँ बन्द हुन्छ, तब मात्र विद्यालय सुधारको प्रारम्भ गर्न सकिन्छ भन्ने सन्देश फिल्मले दिन खोजेको जस्तो लाग्यो । त्यस्तै अन्य थुप्रै पक्षहरूलाई पनि फिल्मले औंल्याएको छ जस्तै:

शिव सस्मित

१. निजी विद्यालयमा लगानी गर्नेहरूले सामुदायिक विद्यालयको कुप्रचार गर्नु । सामुदायिक विद्यालयको सुधार भएको देख्नै नचाहनु, नेताहरूले निजीबाट लाभ लिएर सामुदायिकमा राजनीति गर्नु । आम जनताको नेता भएर पनि निजीकै स्वार्थमा चल्नु । यो कुरा बुझ्न निजीको स्वार्थका लागि सामुदायिक विद्यालयकी होनहार छात्राको बिहे गराइदिने प्रपन्च रच्ने फिल्मको घटना काफी छ ।

२. समाजका प्रतिष्ठित व्यक्तिहरू नै सरकारी स्कुलमा जे गरे पनि हुन्छ भन्ने मानसिकताबाट ग्रसित हुनु । आफ्ना छोराछोरीले नपढ्ने भएपछि अरुका छोराछोरी बिग्रे बिग्रुन भन्ने मानसिकता बोक्नु । काजीका कार्यक्रममा विद्यालय बन्द हुनु, राजाको बिहेमा विद्यालयमै भोजभतेर गरिनु फिल्मको घटना यसको उदाहरण हो ।

३. प्रअ र शिक्षकका छोराछोरीलाई नै सामुदायिकमा नपढाइनु । जसका कारण शिक्षक र प्रअलाई शिक्षण सिकाइ सुधारको दायित्व बोध नहुनु ।

४. स्पष्ट दृष्टिकोण र योजना नभएका असक्षम प्रअलाई कसैले नटेर्नु । यसबाट प्रअ कसरी नियुक्त हुन्छन् भन्ने कुराको रहस्योद्घाटन गर्न सकिन्छ । राजनीतिक टीका लगाएका शिक्षकले कसरी विद्यालय सुधार्छन् ?

५.फरर अङ्ग्रेजी बोल्न जान्नु नै शिक्षा हो भन्ने सामाजिक बुझाइ हुनु ।

६. शिक्षक कर्मचारीहरूले विद्यालय समयमा पनि अन्य आर्थिक आम्दानीका बाटा खोज्नुको आशय के देखिन्छ भने समाजमा धनको मात्रै पूजा गरिनु, बौद्धिकताको कदर नगरिनु र शिक्षकको तलबले पारिवारिक आर्थिक व्यवहार चलाउन कठिन हुनु । फिल्ममा माग्ने बाजा बजाउन हिँड्नु , नेपाली शिक्षक जग्गा बेच्न हिंड्नु यसको उदाहरण हो ।

७. राम्राको भन्दा पनि हाम्राको संरक्षणमा शिक्षकका पेसागत संघसङ्गठनको भूमिका रहनु । विद्यालयमा नपढाउने कामचोर शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँनु र तिनलाई संरक्षण गर्न खोज्नु फिल्मको घटना यसको उदाहरण हो । स्वयं सङ्गठनमा आबद्ध शिक्षक नै पेसाप्रति बफादार नभएको कुरा स्पष्ट छ ।

८. एकदुई राम्रा शिक्षकले विद्यालयमा राम्रो काम गर्न खोज्नु तर बहुसंख्यक कामचोरहरूले तिनको खुट्टा तानेर, अनेक आरोप लगाएर विद्यालय नै छोड्न बाध्यसम्म बनाउनु ।

सामुदायिक विद्यालयलाई राजनीतिको अखडा बनाइएको छ, पद र प्रतिष्ठाको लागि लड्ने रणभूमि बनाइएको छ । हुँदा खानेहरूले मात्र पढ्ने विद्यालयको रुपमा विकास गरेर चरम वर्गीय खाडल खनिएको छ ।

९. विद्यालयको भद्रगोल सुधार्न गएका शिक्षा अधिकारीहरू समेत मन्त्री र नेताको तपछायाँमा रहनुपर्ने । ती शिक्षा अधिकारीहरू पनि राजनीति गर्ने र चाकडीमा रमाउने गर्छन् जुन कुरालाई भने फिल्मले देखाएको छैन ।

१०. परिवर्तनको सशक्त भूमिकामा मिडियालाई फिल्मले देखाएको छ । विद्यालयको फोहोर सफा गर्ने अन्तिम अस्त्रको रुपमा फिल्मले मिडियालाई अघि सार्नुको आशय के हुन सक्छ भने देशमा अब त्यस्तो संयन्त्ररव्यवस्था आउनुपर्छ, जुन राजनीतिक स्वार्थबाट नितान्त अलग छ । किनकि मिडियाहरू पनि आआफ्नै पार्टीका छन् । फिल्ममा मिडिया सन्चालकलाई त्यो विद्यालयमा रिपोर्टिङ गर्न जानु अघि केही रकम चखाइदिएको भए वा राजनीतिक तबरबाट लबिङ गर्न भ्याएको भए सायद सन्चालकले रिपोर्टरहरू नपठाउन पनि सक्थ्यो तर त्यसो गर्दा अरु उपाय थिएन, फिल्म टुङ्याउनु थियो । भद्रगोल पारामा नै फिल्म टुङ्ग्याउँदा फिल्मको अर्थ हुने पनि थिएन । त्यसैले अन्तिममा मिडियाको प्रयोग फिल्म निर्देशकले गरेको होला भन्ने बुझाइ हो ।

११. फिल्ममा केही त्यस्ता घटनाहरू पनि भेटिन्छन् जसले सामुदायिक विद्यालयलाई चाहिनेभन्दा बढी निरीह देखाइदिएका छन् जस्तै ः (क) एउटी गर्भवती शिक्षिकाको प्रसङ्ग । चार वटा बच्चा जन्माउनेको भूमिकामा शिक्षिकालाई नदेखाएर अरु नै भुमिका खोजेको भए हुन्थ्यो । किनकि विद्यालयमा ठग्नकै लागि कुनै शिक्षिका पटक पटक गर्भवती हुँदैनन् । (ख) नयाँ शिक्षिकाको शिक्षकमाथि थप्पड । विद्यालयको प्रशासनिक प्रमुख प्रअ हो । आफ्नो अधिकारक्षेत्रभित्र रहेर जे गरे पनि प्रअले गर्ने हो । कुनै पनि शिक्षकले आफ्नो सहकर्मीलाई थप्पड लगाउँदैन । (ग) खेतालै शिक्षक भए नि आफ्नो ठाउँमा केही योग्य मान्छेलाई पठाइन्छ । खेताला शिक्षकको रुपमा अनपढ बाउ पठाउनु अलि बढी नै खिसिट्युरी हो । (घ) शिक्षकजस्तो मान्छेलाई स्कुलै छोडी छोडी केटीको चक्करमा लागेको देखाउनु पनि सामुदायिक शिक्षकप्रति गरेको बढ्ता अपमान हो । यसको सामान्यीकरण आम शिक्षकमा हुन सक्दैन ।

फिल्म हेरिसकेपछि अन्य थुप्रै कोणबाट विश्लेषण गर्न सकिन्छ तर जताबाट गरे पनि निष्कर्ष चाहिं के हो भने सामुदायिक विद्यालयमा थुप्रै बेथितिहरू निम्त्याइएको छ । भद्रगोल थुपारिएको छ, सामुदायिक विद्यालयलाई राजनीतिको अखडा बनाइएको छ, पद र प्रतिष्ठाको लागि लड्ने रणभूमी बनाइएको छ । हुँदा खानेहरूले मात्र पढ्ने विद्यालयको रुपमा विकास गरेर चरम वर्गीय खाडल खनिएको छ । जसले गर्दा संविधानको समाजवाद कुहिराको काग बन्ने निश्चित छ । किनकि एकैखालको शिक्षाले मात्र समाजबादको मार्ग्चित्र कोर्न सक्छ । समाजवादको पहिलो आधार नै वर्गीय शिक्षाको अन्त्य हो । राज्यले चाहने हो भने निजी र सार्वजनिक शिक्षाको खाडल त पुर्न सक्छ तर चेत कहिले पस्ने ?

जे होस् फिल्म हेरियो । हामी (शिक्षक) ले भोग्दै, देख्दै आएको परिघटना र विषयवस्तुलाई फिल्मले रोमान्चकारी ढङ्गबाट प्रस्तुत गरेको छ । नेता, मन्त्री र शिक्षा प्रशासनको उच्च तहका कर्मचारी, जो नीति निर्माणको तहमा छन् तिनलाई पनि सबै थाहा छ तर निजीको स्वार्थबाट कोही पनि माथि उठ्न सकेका छैनन् ।
अहिलेलाई यत्ति ।

– शिव सस्मित, सस्मित शिक्षक तथा लेखक हुनुहुन्छ ।

:1157 Views

Leave a Reply