प्रतिवेदन भन्छ : बोर्डिङभन्दा सरकारी स्कूल ‘खत्तम’, गर्ने के ?

काठमाडौं । केन्द्रिय बालकल्याण समितिले तयार पारेको ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन ०७५’ ले विद्यालय शिक्षाको गुणस्तर क्रमिक रूपमा खस्कँदै गएको देखाएको छ ।

विद्यार्थीको सिकाइउपलब्धि निरन्तर खस्कँदै गएकाले विद्यालयको अवस्था सुधार्न सुझाव दिँदै समितिले संस्थागतभन्दा सामुदायिक विद्यालयको नतिजा गिर्दो रहेको देखाएको छ ।

त्यस्तै सो प्रतिवेदनले सहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका विद्यालयको सिकाइ उपलब्धि खस्किएको देखाएको छ । प्रतिवेदनका अनुसार कक्षा ३ मा नेपाली विषयको विद्यार्थी सिकाइ उपलब्धि राष्ट्रिय औसत सन् २०१२ मा ६३ प्रतिशत रहेको थियो । जुन, सन् २०१५ खस्किएर ५२ प्रतिशतमा झरेको छ । सबैभन्दा बढी गणितमा ६० बाट ४५ प्रतिशतमा झरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, कक्षा ५ को नेपालीमा सिकाइ उपलब्धि सन् २०१२ मा ६० रहेकोमा २०१५ मा ४६, गणितमा ५३ बाट ४८ तथा अंग्रेजीमा ५४ बाट ४७ प्रतिशत हुन आउनुले शिक्षाको गुणस्तर खस्कँदै गएको पुष्टि भएको उक्त प्रतिवेदनमा उल्लेख छ । कक्षा ५ र ८ मा सिकाइको गुणस्तरबारे लिने गरेको परीक्षाको नतिजाखस्किँदै गएको भन्दै प्रतिवेदनमा कक्षा ५ का विद्यार्थीसंग लिने गरिएको गणित, नेपाली र अंग्रेजी तीनै वटा विषयमा सिकाई उपलब्धि अघिल्लो तीन वर्षहरूमा समान रहेको देखिएको जनाइएको छ । तर, शैक्षिक सत्र २०७४ मा सबै विषयमा उल्लेख्य रूपमा घटेको देखिनुले शिक्षाको गुणस्तर घट्दै गएको स्पष्ट भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कक्षा ८ का विद्यार्थीमा लिने गरिएको गणित, नेपाली र सामाजिक विषयमध्ये गणित र नेपाली विषयहरूमा सिकाइ उपलब्धि समान नै देखिएको छ भने सामाजिक विषयको सिकाई उपलब्धि खस्किएको देखिएको छ । ०७२ साल वैशाखमा गएको भूकम्पका कारण ९ हजार ३ सय ५३ विद्यालयका २२ हजार ४ सय १ कक्षाकोठा पूर्णरूपमा क्षति पुगेको, १४हजार २४ कक्षाकोठा आंशिक रूपमा र १८ हजार ९ सय ४२ कक्षाकोठा सामान्यरूपमा क्षतिग्रस्त भएको कारणले पठनपाठनमा नकारात्मक असर पर्ने भएकोले पनि विद्यार्थीको सिकाइ उपलब्धिमा कमी आएको हुनसक्ने अनुमान गरिएको छ ।

‘आर्थिक वर्ष ०७२/७३ को अघोषित नाकाबन्दी र मधेस आन्दोलनबाट विद्यालय महिनौसम्म बन्द भई पठनपाठनमा नकारात्मक असर परेकोले समेत विद्यार्थीको सिकाइ उपलब्धिमा ह्रास आएको हुनसक्ने देखिएको छ’ प्रतिवेदनमा भनिएको छ । बालश्रम, बालविवाह, सडक बालबालिका, अन्याय तथा शारीरिक सजाय र हेपाइबाट प्रभावित बालबालिकाको समस्या उचित रूपमा सम्बोधन नगर्नु समेत चुनौतको रूपमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो अवस्थामा स्थानीय तहमा आएको शिक्षाको अधिकारलाई व्यवहारिक तवरले अघि बढाउनुपर्ने, विद्यार्थीको सिकाइ उपलब्धि बढाउनुपूर्व शिक्षकलाई पेशाप्रति इमान्दार बनाउनुपर्ने शिक्षाविद्हरुको तर्क छ ।गाउँपालिका र नगरपालिकाहरुले अब तल्लो कक्षादेखि नै सिकाई उपलब्धि बढाउने तरिका खोज्नुपर्ने सरोकारवालहरु जोड दिन्छन् ।

:915 Views

Leave a Reply