प्रिन्सिपलको अठारौं कृति ‘मेरो घाम’

पनौति । शिक्षण कर्ममा मात्र नभएर साहित्यिक कर्ममा पनि उत्तिकै दत्तचित्त भएर लागिरहेका पनौतिको सूर्याेदय माविका प्रिन्सिपल एवं कवि सूर्यप्रसाद लाकोजूको ‘मेरो घाम’ विमोचन भएको छ ।

लाकोजूको उक्त कवितासंग्रह संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि सरुभक्तले गरेका हुन् ।

अनुज बुक इन्टरप्राइजेज काठमाडौले प्रकाशित गरेको उक्त कविता संग्रह लाकोजूको अठारौं कृति हो । विभिन्न विषयसँग सम्बन्धित त्रिपन्न ओटा कविताहरू समावेश गरिएको सो कृतिभित्रका कविताहरूमा राष्ट्रप्रेम, स्वाभिमान, सामाजिक विकृति, विसंगति, राजनैतिक बेथिती, कुसंस्कारजस्ता विषयहरूलाई मूल विषयका रुपमा उठाइएका छन् ।

संग्रहमा संग्रहित कविताहरुले सहिदप्रतिको सम्मान, आफूलाई जन्मदिने आमा बुबाप्रतिको श्रद्धा, प्रेमप्रणयका भाव, जीवनका आरोह, अवरोह, दैनिकीलगायतका विषयलाई पनि कविताका विषय बनाएका छन् ।

मोफसलमा रहेर नेपाली भाषा र साहित्यको सेवा गर्दै आएका लाकोजूका भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत स्वरहरू गरी तीनवटा मुक्तकसङ्ग्रह, गुराँस फुल्ने मन र अक्षरका स्वरहरू गरी दुईवटा हाइकुसङ्ग्रह, पनौती, पनौतीको बाह्रवर्षे मकरमेला, केही काभ्रेली अक्षरकर्मी, स्मृतिका आलेखहरू, प्रेरणाको चौतारी गरी पाँचवटा निबन्धात्मक कृतिहरू, सुसेली नामक एउटा गीतसङ्ग्रह, कोपिला र घाम उदायो गरी दुईवटा बालकवितासङ्ग्रहहरू प्रकाशित छन् । त्यसैगरी स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्वन, मेरो घामगरी चारवटा कवितासङ्ग्रहहरू पनि प्रकाशित छन् ।

काभ्रे सेवा समाजले आयोजना गरेको कार्यक्रममा काभ्रे जिल्लामा जन्मेर नेपाली भाषा र साहित्यमा योगदान गरेबापत कवि सूर्य लाकोजू, राष्ट्रको उच्च ओहदामा पुगेर सेवा गरेबापत राष्टिय सतर्कता केन्द्रका सचिब विष्णु ओम बादे र सर्वोच्चका रजिष्टार महेन्द्रनाथ उपाध्यायलाई सम्मान गरिएको थियो ।

सम्मनित प्रतिभाहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ सरुभक्तले सम्मानपत्र, माला र दोसल्ला ओढाई सम्मान गरेका थिए । कार्यक्रममा विशेष अतिथि प्रा.डा. तुलसी भट्टराई, डा. नवराज लम्साल, डा. कुमार कोइराला, सूर्य लाकोजू, प्रा. ज्ञानू अधिकारी, मोहन दुवाल, प्रल्हाद के.सी लगायतले मन्तव्य राखेका थिए ।

:949 Views

Leave a Reply