प्रौढकक्षाबाटै स्कुल खोल्ने प्रेरणा

पहिलो भेटमै उनको लवाइले थाहा हुन्छ, उनी सादा जीवनका हुन । उनी सामान्य लवाइमै रमाउँछन्, उनको विश्वास लवाइमा भन्दा ज्यादा काममा छ, कामप्रतिको लगावमा छ । यही लगावले उनको परिचय बनेको हो, उनीसँगै उनको ठाउँको परिचय बनेको हो । अत ः उनलाई अरुलाई भन्दा बढी नै चिन्ता छ स्कुलको, शिक्षाप्रति उनको दृढ अनुराग छ । यही चिन्तालाई उनले चिन्तनमा ढालेर शिक्षाप्रतिको अनुराग ज्योति माध्यमिक विद्यालयमा पोखिरहेका छन् । भक्तपुर सूर्यविनायक नगरपालिकाको गुण्डुको किबाचोकमा रहेको सो स्थानमा उनले ‘किवा’ अर्थात् ‘बगैंचा’ जस्तै ज्योति माध्यमिक विद्यालयलाई बनाइरहेका छन् । त्यहीँबाट मगमगाइरहेछ, शिक्षाको सुगन्ध, त्यहीँबाट फिँजिरहेको छ शिक्षाको ज्योति ।

 ‘म कहिले पनि पछि नहट्ने स्वभावको मान्छे, म लागेँपछि लागेँ, लागेँ । साथीभाइले सहयोग गरे नगरेको वास्ता गर्दिनँ । भन्नपर्नेलाई भनीरहन्छ, आफू लागिरहन्छु ।’

 

त्यो ज्योति त्यतिकै धपक्क बलेको होइन, ज्योति बाल्नका लागि चाहिने दियो, तेल र धागो(बत्ती बाल्ने धागो) बनाउने कामको अगुवाई कृष्णलाल न्हेमाफूकीले गरेका हुन् । यसैले उनी जसरी भए पनि त्यो ज्योतिलाई अखण्ड ज्योति बनाउने सपना बुनिरहेका छन्, विद्यालयमा बिहान ६ बजे नै आएर घोत्लिरहेका छन् । सोही चोका स्थानीय न्हेमाफूकी(४९)ले औपचारिक अध्ययन मात्र एसएलसीसम्म गरेका छन् । १९ वर्षको उमेरमै विद्यालयको संस्थापक प्रिन्सिपल भएपछि स्कुल बनाएर अरुलाई पढाउनकै लागि वातावरण बनाउँदा बनाउँदै उनले त्योभन्दा अघिको पढाइ गर्न सकेनन् । त्यसले कहिलेकाहिँ उनको मन अमिलो बनाउँछ, भित्रभित्र चिमट्छ पनि । उनलाई त्योभन्दा बढी सुर्ता स्कुलकै लाग्ने उनी बताउँछन्, ‘मलाई हरदम स्कुलकै चिन्ता लागिरहन्छ, एकछिन पनि छोड्न मन लाग्दैन स्कुल, राती सुत्दा पनि स्कुल देख्छु, उठ्दा पनि स्कुल देख्छु, अनि कहिँकतै जाँदा पनि स्कुलकै झल्को आउँछ, स्कुललाई नदेखी निदाउन पनि गा¥हो महशुस हुन्छ ।’

एकजना सरकारी स्कुलको नेतृत्व गर्ने प्रअलाई त्यत्रो चासो, चिन्ता र चिन्तन किन ? ‘सरकारी काम कहिले जाला घाम’ गरेरै ध्वस्त बनेको सरकारी विद्यालय र उनको विद्यालयबीचको भिन्नता पनि यही हो । अरु चासो कम गर्छन्, उनी बढी गर्छन् । दिन भन्दैनन्, रात भन्दैनन्, निरन्तर स्कुल बनाउन, राम्रो बनाउनतिरै लाग्छन् । यो खुबी छ उनीसित, उनीसँग त्यो दृढता छ । त्यही दृढताले उनलाई लािगरहन भित्रैबाट उर्जा मिलेको उनी स्वीकार्छन् । ‘म कहिले पनि पछि नहट्ने स्वभावको मान्छे, म लागेँपछि लागेँ, लागेँ । साथीभाइले सहयोग गरे नगरेको वास्ता गर्दिनँ । भन्नपर्नेलाई भनीरहन्छ, आफू लागिरहन्छु ।’ यही प्रतिवद्धताले विद्यालयले छोटो समयमा उपलब्धि हासिल गरेकोमा दुईमत छैन । विक्रम सम्वत २०४४ सालमा स्थापना भएको यो विद्यालय २०५९ सम्म निमावि भयो, त्यसको दुई वर्षमै मावि । यतिमात्र होइन, सामुदायिक विद्यालयको उपलब्धिको मानक तत्कालिन एसएलसीमा पनि विद्यालयले शतप्रतिशतसम्मको नतिजा ल्याए । ‘२०६८ सालमा पहिलोपल्ट एसएलसी दिएकामा ६० प्रतिशत पास, २०६९ मा ७० प्रतिशत र २०७० मा शत्प्रतिशत पास गराएका थियौं ।’ यतिमात्र होइन, प्रावि हुँदा ६० को दशकमा ४०/४५ जनामा सीमित हुन गएको विद्यार्थी संख्यालाई क्रमशः बढाएर उनले अहिले तीनसयको हाराहारीमा विद्यार्थी पुर्याइसकेका छन् । तीन वटा त पक्की भवन बनेका छन् , विद्यार्थीलाई पुग्दो मात्रामा खानेपानी र शौचालयको बन्दोबस्त छ । १८ वटा कोठा छन् । तीन दशक विद्यालयमा बिताउँदा पछाडि फर्कन नपर्ने गरी काम गरेर विद्यालयलाई अगाडि बढाएर कृष्ण विद्यालयका सारथी हुन् । अहिले उनी दरबन्दीअन्तर्गत १ मावि, ३ निमावि, ११ प्रावि, ३ जना इसीडी शिक्षक, २ कर्मचारी, ४ जना नीजि स्रोतका शिक्षक र विद्यार्थीहरु सहयोग, सहकार्यमा छन् ।

कसरी स्थापना भयो ज्योति ?
कुरा २०३८/ ३९ सालतिरको हो । त्यो बेला किवाचोककै कृष्णका समकालीन युवाहरुले आफ्नो ठाउँमा स्कुल खोल्नुपर्ने विषयमा गाइँगुइँ कुराकानी गर्न थाले । आफ्नो ठाउँमा विद्यालय नहुँदाको पीडा पढ्नेलाई पनि अनि नपढ्ने तर आफ्नो सन्तान पढाउनेलाई पनि थियो । त्यही आवश्यकता पूरा गर्न स्थानीयहरु जुटेर २०४४ सालमा ज्योति स्कुलका शिलान्यास गरेका हुन् । त्यो पनि स्थानीय झलकबहादुर न्हेमाफूकीको घरमा । २०४२ सालमा एसएलसी दिएका कृष्णलाल पनि त्यो स्कुलका संस्थापक बने । यतिमात्र होइन, स्कुलका सबै जिम्मा नै उनको काँधमा आयो ।

स्कुलको जिम्मेवारी नलिँदै उनी जब कक्षा ५मा पढ्थे, त्यही बेलादेखि उनले पढाउन थालेका थिए । गणित विषय भन्नेबित्तिक्कै हुरुक्क हुने कृष्णलाल गणित विषयमा पोख्त पनि थिए । अनि उनले गाउँकै समकालीनदेखि लिएर अनुज र अग्रज गरी त्यो बेलै अनौपचारिक रुपमा करिब एकसयजनालाई गणितमा साक्षर बनाए । एसएसलसी दिएपछि भने गाउँमा प्रौढ शिक्षाको एउटा प्रोजेक्ट आयो, ललितपुरको सेवा सदन संस्थाबाट । त्यही प्रौढ कक्षाको अगुवाई गर्ने जिम्मा पनि कृष्णकै काँधमा आयो ,। उनले दिनको १० रुपियाँ पाउने गरी प्रौढ शिक्षा पढाए । प्रौढको प्रोजेक्टपछि आएको चेतनाले ज्योति स्कुल स्थापना भयो, २०४४ साल असार १ गते ।

विक्रम संवत २०१५ साल जेठ १५ गते बुवा लालबहादुर र आमा शंखमायाको कोखबाट चार दाजुभाइमध्ये सबैभन्दा कान्छो भएर जन्मिएका कृष्णको पारिवारिक परिवेश आफू अनुकूल भए पनि उनले आफ्नो अनुकूलताभन्दा बढी सामाजिक र शैक्षिक अनुकूलता हेरे । ‘मलाई शिक्षा क्षेत्रमै केही गर्ने इच्छा भो, त्यही इच्छाले विद्यालय बन्यो, विद्यार्थी बने, यो ठाउँमा शिक्षाको ज्योति बल्यो, सबैमा उज्यालो छायो, अब यसलाई निभ्न दिनुहुन्न भन्ने नै मेरो आगामी योजना छ ।’

:580 Views

Leave a Reply