प्र.अले चाहेर पनि राख्न सक्दैनन् गुणस्तरीय शिक्षक

काभ्रे । यस वर्षको विश्व शिक्षक दिवसको नारा नै थियो ‘शिक्षा पाउने अधिकार भनेकै गुणस्तरीय शिक्षक पाउनुपर्ने अधिकार हो’ । तर  काभ्रेको आशापुरेश्वरस्थित श्री जागृत आधारभूत विद्यालयका प्रधानाध्यापक राजु वस्नेत भने आफुले ‘गुणस्तरीयहिन शिक्षक’ लाई विद्यालयमा राख्नुपरेकोमा दुखित छन् ।

राजनितिक कारणले गर्दा, गल्ती गर्ने, समयमा नआउने, कक्षामा नजाने, नपढाउने शिक्षकमाथि कारबाही गर्न नपाएको उनको गुनासो छ । उनी भन्छन्, ‘प्रधानाध्यापकलाई हात खुट्टा बाधेर काम गर भनेर नेतृत्व दिइएको छ, कुनै शिक्षकले राम्रो पढाउन सक्दैन भने पनि केही कारबाही गर्न पाउँदिन ।’

माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानिय तहलाई दिदाँ पनि स्थानिय तहबाट केही सहयोग नआएको र  अनुगमनमा पनि बेवास्ता गरेको गुनासो उनले सुनाए । भौतिक पुवार्धार र शिक्षकको लागि लेखित र मौखिक माग गरिरहेको भन्दै उनी भन्छन्, ‘वडामा ३५ लाख आएको छ भन्ने सुनेको थिए, २ रोपनी जग्गा हुँदा पनि भौतिक समस्या कै कारण पुस्तकालय, विज्ञान र कम्प्यिुटर प्रयोगशाला एउटै कोठामा टहरा बनाएर चलाउनुपर्ने बाध्यता छ ।’

वि.स २०५९ सालमा उनी सो विद्यालयमा प्र.अ भएर आउँदा विद्यालयमा ६ वटा कोठा थिए । उनी आएपछि उनले नै गा.वि.स र जि.वि.सबाट सहयोग जुटाएरै विद्यालय भवन निर्माण र मर्मत गरेको दाबी गर्छन् ।

५८ वर्ष अघि स्थापना भएको सोे विद्यालयमा हाल लगभग ८० जना विद्यार्थी छन् ।

स्थानियमा तामाङ जातिको बहुल्यता भएकाले पनि सुरुमा उनीहरुलाई नेपाली भाषामा पढाउन मुस्किल रहेको उनको अनुभव छ । सो समस्या न्युनिकरण गर्न बालबालिकालाई सुरुको एक वर्ष नेपाली भाषा मात्र सिकाइएको उनले जानकारी दिए । अहिले पनि विद्यालयमा सत प्रतिशत नै तामाङ विद्यार्थी रहेको उनले जनाए ।

पहिला भाषाको समस्या रहेकोमा अहिले भने विद्यार्थीको नियमिततामा समस्या रहेको उनले बताए । उनी भन्छन्, ‘अभिभावकलाई बच्चा पढाउनुपर्छ भन्ने ज्ञान नै छैन, यही नै हाम्रा लागि ठुलो चुनौती खडा भएको छ ।’

उनले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नका लागि सामुदायिक विद्यालयमा नर्सरी कक्षादेखी नै कक्षा व्यवस्थापन गर्नुपर्ने महसुस गरे र यसै वर्षबाट विद्यालयमा प्ले गुप्र र नर्सरी कक्षा सञ्चालनमा ल्याए । विद्यालय राम्रो बनाउन शिक्षक तालिम र अनुगमन हुनुपर्ने उनको सुझाव छ ।

:937 Views

Leave a Reply