बाजेबज्यैसामु देखाए नातिनातिनाले प्रतिभा

भक्तपुर । घरमा मात्र भेटिने बाजे÷बज्यैलाई आफू पढ्ने स्कुलमै पाउँदा ससाना बाबुनानीहरु दंग परेका छन् ।

भक्तपुरको पाण्डुबजारस्थित वी किड्स स्कुलले आयोजना गरेको ग्राण्डप्यारेन्ट्स डे(हजुरआमा÷हजुरबुबा दिवस) का अवसरमा विद्यालयमै आफ्ना बाजे÷बज्यै पाउँदा दंग परेका हुन् । हजुरआमा र हजुरबुबाबीचको सम्बन्धलाई ससाना बाबुनानीहरुलाई बुझाउने प्रयासस्वरुप गरिएको उक्त कार्यक्रममा बाबुनानीहरु बाजेबज्यैसामु विभिन्न प्रतिभा समेत देखाएका थिए ।

कार्यक्रममा देशको संस्कृति झल्किने विभिन्न नृत्यसँगै विद्यार्थीहरुले प्रदर्शन गरेको नाटक हेरेर हजुरआमा र हजुरबुबा दंग परेका थिए । सोही अवसरमा बाजेबज्यैबीच राइलो खेलको पनि आयोजना गरिएको थियो ।

विद्यालयकी प्रिन्सिपल मञ्जु दुवालले प्रविधिप्रति बढी लगाव राख्ने तर परिवारका सदस्यप्रति भने कम चासो राख्ने प्रवृत्तिबाट हुर्किरहेका बाबुनानीहरुलाई ज्येष्ठ नागरिकहरुको अनुभवबाट पनि अध्यापन गराउन सकिने अवधारणाअनुसार सो कार्यक्रम गरिएको जानकारी दिइन् ।
विद्यालयको आमन्त्रणमा सहभागी बाजे÷बज्यैलाई विद्यार्थीहरुले स्वागत गरेका थिए । कार्यक्रममा वाल विकास प्रशिक्षक सत्यलाल मूलले ससाना विद्यार्थीहरुमा पारिवारिक सम्बन्धको जानकारी दिनका लागि कार्यक्रम प्रभावकारी भएको बताए । उनले अनुभवी ज्येष्ठ नागरिकहरुलाई सबैबाट उचित सम्मान गर्न जरुरी रहेको बताउँदै नयाँ पुस्तालाई त्यसको व्यवहारिक अभ्यास गराउँदै लग्नुपर्ने बताए ।
सोही अवसरमा समाजसेवी गणेशप्रसाद भट्टराईले विद्यालयले नयाँ पुस्तालाई संस्कार सिकाउने अभ्यासको थालनी प्रशंसनीय रहेको उल्लेख गरे ।

:282 Views

Leave a Reply