बालक हाम्रो खेलौना होइन

एउटा सानो बालकको कपडा समातेर अग्लो ठाउँबाट तल खसाल्न लागेको जस्तो दृश्यको अल्जेरियाको तस्विर सन् २०१७ मा सनसनि भएको थियो । जसलाई एउटा पुरुषले ‘हजार लाइक वा म उसलाई खसाल्ने छु’ क्याप्सनसहित फेसबुकमा पोष्ट गरेका थिए । १५ तलामाथि झ्याल बाहिर खिचिएको सो तस्विर हेर्दा लाग्छ कि त्यो एउटा बालक नभई एउटा कुनै खेलौना हो । भलै उसको त्यो कामले गर्दा उसले २ वर्षको जेल सजाय पाएको थियो ।

यो त एउटा प्रतिनिधिमूलक घटना मात्र हो । यस्ता हजारौँ घटना हाम्रो समाजमा व्याप्त रूपमा देख्न सकिन्छ । जहाँ बालकलाई एउटा खेलौना जसरी व्यवहार गरिरहेको हुन्छ । कोहीले बालबालिकालाई आफ्नो दारी दल्ने, उफार्ने, बच्चाको फरक फरक अभिव्यक्ति हेर्नका लागि उसलाई हँसाउने, रुवाउने र रमाइलो मान्ने । कतिले त बच्चालाई ‘कस्तो किउट’ भन्दै माया गरेको जसरी बेस्मारी गाला तान्ने पनि गर्छन् । साथै बालकलाई यहाँबाट खसालिदिऊँ भन्दै उचाईबाट तर्साउने, डर देखाउने र झुठो कुरा बोलेर बच्चाको खिल्ली उडाउने कार्य पनि हाम्रो समाजमा भइ आइरहेका कार्यहरू हुन् । बालकलाई एउटा जिम्मेवारीभन्दा पनि खेलाउने वस्तुको रूपमा हेरिन्छ । आफूलाई फुर्सद हुँदा या अल्छि लाग्दा त्यो बालकलाई घुमाउने, खेलाउने र अन्तक्र्रिया गरिन्छ ।

कोहीले बालबालिकालाई आफ्नो दारी दल्ने, उफार्ने, बच्चाको फरक फरक अभिव्यक्ति हेर्नका लागि उसलाई हँसाउने, रुवाउने र रमाइलो मान्ने । कतिले त बच्चालाई ‘कस्तो किउट’ भन्दै माया गरेको जसरी बेस्मारी गाला तान्ने पनि गर्छन् । साथै बालकलाई यहाँबाट खसालिदिऊँ भन्दै उचाईबाट तर्साउने, डर देखाउने र झुठो कुरा बोलेर बच्चाको खिल्ली उडाउने कार्य पनि हाम्रो समाजमा भइ आइरहेका कार्यहरू हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा भेटिएको एउटा भिडियोले त मेरो मन नै रोयो । त्यस भिडियोमा एउटा बुवाले आफ्ना साना २ छोरा अन्दाजी एउटा ३ वर्ष र अर्को ६ वर्षको बच्चामध्ये एउटालाई खुट्टामा कपडा बाधेर झुन्डाइएको र अर्कोलाई उसले लगाएको भेस्टमा एउटा बाँसमा अड्काइएको थियो । र ती बुवाले चप्पल र डोरीले दुवै बच्चालाई बेस्मारी कुट्दै थिए र दुवै बच्चाहरू रोइरहेका थिए । के त्यो बुवाको नजरमा त्यो बच्चा एउटा मान्छे थिएन ?

संस्कृतिमा विभेद
ब्राहमण परिवारमा पहिलेदेखि ८÷१० वर्ष वा व्रतवन्ध नगरेको बालकलाई र बिहे नगरिसकेसम्म बालिकालाई चुल्हो र खाना छुन दिइँदैनथ्यो । र त्यो अहिले पनि कतिपय क्षेत्रमा विद्यमान नै छ । त्यसले पनि बालक एउटा मानवको रूपमा विकसित भइनसकेको देखाउँछ ।

विद्यालय/कलेजको गलत बुझाइ
कतिपय विद्यालय क्याम्पसहरूमा बालबालिका र किशोर–किशोरीलाई तह लगाउन वा दबाउन र अनुशासनको नाममा डर देखाउनका लागि अनुशासन इन्चार्ज (डिआई–डिसिपिलेन इन्चार्ज) राख्ने चलन छ । यसले साधारणतया बालबालिका खराब नियतका हुन्छन् र यिनलाई हामीले सुधार गर्नुपर्छ भन्ने दर्शाउँछ ।

समाजमा बालकलाई एउटा स्वतन्त्र, पूर्ण मानवको रूपमा हेरिँदैन । बालकलाई एउटा मानवलाई दिइने आदर दिइँदैन । बसको सिटमा पनि कोही बालक बसिरहेको छ भने, उसले भाडा तिरेर बस चढेको भएपनि अरु मान्छेभन्दा पहिला उसलाई सिट छोडिदिनको लागि हप्काइन्छ । अभिभावक, शिक्षकको व्यवहारले नै बालकलाई एउटा व्यक्तिको रूपमा नहेरिएको पाइन्छ ।

अभिभावकको गलत सोच र व्यवहार
अभिभावकहरू आफ्नो बालक आफूले भनेको मान्ने र आफूले सोचे जस्तो होस् भन्ने सोच्छन् । उनीहरू आफ्नो बालकलाई शतप्रतिशत आफ्नो अधिनमा राख्न खोज्छन् । अभिभावकको यस्तो स्वभाव र व्यवहारले गर्दा त्यो बालक स्वतस्फूर्त विकास हुन पाउँदैन र उसले स्वनियन्त्रण पनि गुमाउँछ । त्यो बालकले आफूले आफूलाई पूर्ण नभएको महसुस गर्छ । उसमा आत्मविश्वासमा कमि भई उसको आत्मपहिचानमा पनि आघात पुग्छ ।


समाजमा बालकलाई एउटा स्वतन्त्र, पूर्ण मानवको रूपमा हेरिँदैन । बालकलाई एउटा मानवलाई दिइने आदर दिइँदैन । बसको सिटमा पनि कोही बालक बसिरहेको छ भने, उसले भाडा तिरेर बस चढेको भएपनि अरु मान्छेभन्दा पहिला उसलाई सिट छोडिदिनको लागि हप्काइन्छ । अभिभावक, शिक्षकको व्यवहारले नै बालकलाई एउटा व्यक्तिको रूपमा नहेरिएको पाइन्छ ।

आजको समाजमा अभिभावकले बालबालिकालाई मान्छे भइसकेको छैन भन्ने सोच्छन् । बालकले मलाई र अरुलाई खुसी बनाउनुपर्छ र उसले हामीले भनेको जस्तै गर्नुपर्छ भन्ने चाहन्छन् । बालकको सबै काम मैले गरिदिनुपर्छ, मैले नै बाटो देखाइदिनुपर्छ र उसले आफै निर्णय गर्न सक्दैन भन्ने अभिभावकको धारणा छ ।

पिटेर हुन्छ कि गाली गरेर या अरु केही उपायबाट जसरी भएपनि अभिभावकले बालकलाई आफ्नो नियन्त्रणमा राख्न खोजिरहेको हुन्छ । बालबालिकाले केही काम गर्दा वा गर्न खोज्दा अभिभावकले उसलाई गाली गर्ने या नकारात्मक प्रतिक्रिया दिने गर्छन् । बालबालिकाले बुझोस् कि नबुझोस्, उसलाई आवश्यक होस् या नहोस् उसलाई जहिले अर्ती उपदेश दिने गरिन्छ । त्यसैले पनि कतिपय परिवारमा आमाबुवाले केही विषयमा बोल्दा बालबालिकाहरू ‘उ भाषण सुरु भयो’ भन्ने गर्छन् । बालबालिका अरुको अधिनमा बस्न चाहँदैनन् तर अभिभावक उनीहरूलाई आफ्नो निर्णय थुपार्ने र आदेश दिने काम गरिरहेका हुन्छन् । अहिले त झन् अभिभावक बालकलाई लेखाउन र पढाउनमै मात्र जोड दिन्छन् ।
अभिभावकको यस्तो व्यवहारले गर्दा बालबालिका उनीहरूले चाहेको जस्तो त देखिन्छन् । तर उनीहरूको व्यवहारको गलत प्रभाव पर्छ बालबालिकामा । सबै काम र निर्णय अभिभावकले नै गरिदिने हुँदा उनीहरू अभिभावकमा निर्भर हुन्छन् र केही काम गर्न लाग्दा कसैको सहयोग र सहायताको महशुस गर्छन् । बालकमा म केही गर्न सक्दिन भन्ने भावनाको विकास हुन्छ र आफू असक्षम र केही कुरामा पनि पूर्ण नभएको सोच्न थाल्छन् । केही काम गर्न लाग्दा गल्ती पो हुने हो कि भनी डराउँछन् र आफ्नो क्षमतामा विश्वास गर्दैनन् । उनीहरू आफ्नो विचार स्वतन्त्र रूपमा राख्न डराउँछन् । आफ्नो मन मारेर भएपनि अरुको चाहना पूरा गर्न बालकहरू लागि पर्छन् ।

बालबालिकाको मनोभाव बुझ्नुपर्ने कतिपय शिक्षकले पनि बालबालिकालाई बुझ्न सकिरहेका छैनन् । उनीहरूले एउटा बालकको दिमाग खाली हुन्छ भन्ने सोच्छन् । ४५ मिनेटको कक्षामा बालकको दिमाग खाली छ भन्ने सोची एउटा खाली भाडोमा सामान भरेझैँ उसको दिमागमा जानकारी र विषयवस्तु भर्न मात्र खोजिरहेका हुन्छन् । कति शिक्षकले बालबालिकालाई पनि केही थाहा हुन्छ, उसैसँग कुराकानी, छलफल गर्दै कक्षा अगाडि बढाउनुपर्छ भन्ने कुरा बुझे पनि जानेको छैन । केबल बालकलाई अर्ति थुपार्ने काम मात्र भइरहेको छ । बालबालिकालाई नै समस्याको समाधान गर्ने मौका दिनुपर्छ । बालबालिकालाई सुन्ने र बुझ्ने कोशिस गर्नुपर्छ ।

बालबालिकालाई एउटा व्यक्तिको रूपमा बुझ्नु भनेको हामीले बालबालिकामा पनि हामीलाई जस्तै माया, सम्मान, समावेश र बुझ्नुपर्ने आवश्यक पर्छ भन्ने बुझ्नु हो । बालकलाई सामाजिक व्यक्तिको रूपमा लिनुपर्छ । हामीले बालबालिकालाई बेइज्जत, बेवास्ता र गलत अर्थ लगाउनु हुँदैन ।

बालबालिकालाई हामीले एउटा व्यक्तिको रूपमा बुझ्ने हो भने उनीहरूको क्षमता पनि बुझ्न सक्छौँ । बालबालिकाले पनि ठूला उमेरका मानिससरह काम गरेका थुप्रै उदाहरण छन् । हामीले पाकिस्तानी बालिका मलालालाई नै हेर्न सक्छौँ । तालिवानले मलाला बस्ने ठाउँमा कब्जा गरेर सन् २००८ बाट महिलालाई विद्यालय पठाउन रोक लगाएको थियो । सन् २०१२ मा १५ वर्षको उमेरमा उनले महिलाहरूको पढ्न पाउने अधिकारको बारेमा आवाज उठाएकी थिइन् । उनले आवाज उठाएकै कारण तालिवानहरूले उनको टाउकोमा गोली हानेका थिए । तर १० दिनपछि उनलाई होस आएको थियो । त्यसपछि उनले बेलायतमा बसेर पाकिस्तानमा महिला शिक्षा पाउने अधिकार नपाएसम्म यसबारे निरन्तर बोलिरहेकी थिइन् । उनले २०१४ बाट मलाला फन्डको निर्माण गरी महिलाको शिक्षाको लागि योगदान गरिरहेकी छन् । उनले २०१४ मा ‘नोबेल पिस पुरस्कार’ जितेकी थिइन् । उनले साना बालबालिकाले पनि केही गर्न र सोच्न सक्छ भन्ने उदाहरण दिएकी छन् ।
उनी मात्र होइन अर्की बालिका, जलवायु परिवर्तनबारेको विश्वव्यापी अभियानमा प्रेरणादायी पात्र बनेकी १६ वर्षीया स्कुले किशोरी स्वीडेनकी ग्रेटा थनवर्ग टाइम्स म्यागेजिनको सन् २०१९ को पर्सन अफ दि इयर (वर्ष व्यक्ति) घोषित भएकी छिन् । गतवर्ष यी किशोरीले प्रत्येक शुक्रवार आफ्ना कक्षाहरू छाड्दै स्वीडिस संसदबाहिर धर्ना बसेर एउटा वातावरण सम्बन्धी हड्ताल सुरु गरेकी थिइन् । सेप्टेम्बरमा न्यूयोर्कमा भएको जलवायु सम्बन्धी सम्मेलनमा उनले नेताहरू लक्षित एउटा आक्रोसपूर्ण मन्तव्य दिएकी थिइन् । त्यसले सामाजिक सञ्जालमा ‘३फ्राइडेज् फर फ्युचर’ शब्दावलीलाई एउटा चर्चित विश्वव्यापी अभियान नै बनाएको थियो । जलवायु परिवर्तनबारे काम हुनुपर्ने उनको भनाइलाई बलियो मानिएको छ । उनको अभियानले खासगरी दशौँ लाख विद्यार्थीहरूलाई विश्वभर प्रदर्शनमा उत्रन प्रेरणा दिएको थियो । १६ वर्षकी बालिकाको यो कामले बालबालिकामा नीहित क्षमता दर्शाउँछ ।

बालबालिकाको कुरामा अभिभावक पहिलो र महत्वपूर्ण पक्ष हो । अभिभावकमा भएका नराम्रा र गलत सोचाईलाई परिवर्तन गरी बालविकासको लागि बालबालिकालाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्छ । अभिभावकले आफ्नो बालकलाई आदर दिनुपर्छ । उसको क्षमताअनुसार उसले राम्रो काम गर्ने प्रयास गर्छ भन्ने विश्वास आफ्नो बालकप्रति राख्नुपर्छ । अभिभावकले बालकले आफ्नो उमेरअनुसारको काम र निर्णय गर्न सक्छ, उमेरअनुसार बालकले आफ्नो बाटो पत्ता लगाउँदै जान्छ र हामीले उसलाई सहयोग मात्र गरिदिने हो भन्ने कुरामा मनन् गर्नुपर्छ ।

अभिभावकले आफ्नो बच्चाले गरेको कामलाई प्रशंसा गरेर उसलाई ती राम्रा कामका लागि प्रोत्साहन गर्नुपर्छ । बालबालिकालाई आवश्यक सहयोग गरिदिनुपर्छ । हामीले बालबालिकालाई बुझ्ने र उनीहरूको क्षमता र कुराहरूमा विश्वास गर्नुपर्छ । बालकले केही गर्न खोज्दा यस्तो गल्ती होला है भनि तर्साउने र डर देखाउनेभन्दा उसलाई स–साना गल्ती वा प्रयोग गरेर सिक्ने मौका दिनुपर्छ । बालकलाई उमेरअनुसार निर्णय गर्ने स्वतन्त्रता दिनुपर्छ । जस्तैः ३ वर्षको बालकलाई उसले लगाउने कपडा छनोट गर्न दिनसक्छौँ ।

यस्तो व्यवहार गरेको बालक पनि फरक हुन्छ । अभिभावकको यस्तो व्यवहारले सकारात्मक धारणा विकास भएको बालक सृजना हुन्छ । त्यस्तो बालकले कहिले पनि हार मान्दैन र उसले आफूलाई विश्वास गरेर अघि बढ्छ । कुनै पनि समूहमा निडर भई उसले आफ्नो विचार राख्न सक्छ । अभिभावकले बालकलाई स्वनियन्त्रण र निर्णयमा उसलाई सहभागी गराउने हुँदा बालकले आफ्नो महत्व बुझेर आफूलाई माया गर्न जान्दछ ।

अभिभावक, शिक्षक, विद्यालय र देशले बालबालिकालाई एउटा मानवको व्यवहार गर्नुपर्छ । विद्यालय र कलेजले पनि बालबालिकालाई विश्वास गर्नुपर्छ । उनीहरूलाई सहयोग गर्नुपर्छ । विद्यालय र कलेजले राख्ने डि.आइलाई बरु बच्चाको परामर्शकर्ताको रूपमा पो रूपान्तरण गर्ने कि? यस विषयमा पनि मनन् गर्नु आवश्यक छ ।

धर्म, संस्कृति, समाज, विद्यालय, अभिभावक र शिक्षकले नै बालबालिकालाई स्वरूप दिन्छन् । हामीले बालबालिकालाई एउटा स्वतन्त्र व्यक्तिको रूपमा हेर्नुपर्छ । यदि हामीले यस्तो गरेका छौँ भने हामीले आत्मविश्वासी र सकारात्मक सोच भएका बालकको विकास गरिरहेका छौँ । यदि हामीले बालबालिकालाई आफ्नै हिसाबले मात्र अघि बढाइरहेका छौँ र त्यो बालकलाई एउटा स्वतन्त्र व्यक्तिको रूपमा हेर्दैनौँ भने हामीले आत्मविश्वास कम भएको र नकारात्मक धारणा राख्ने बालक सृजना गरिरहेका छौँ । हामी सबैले सोच्ने बेला आएको छ, हाम्रा विद्यमान धारणा र अभ्यासले के बालकलाई एउटा स्वतन्त्र व्यक्तिको रूपमा बुझेको छ?

पिताम्बर नेउपाने
प्रबन्ध निर्देशक, इसिइसि

:764 Views

Leave a Reply