बालबालिकाका लागि डिजिटल सामग्री कस्तो हुनुपर्छ ?

के बालक के युवा या प्रौढ, जुनसुकै उमेर समूहका मानिस हुन्, आजकाल ग्याजेटमा नभुल्ने कमै होलान् । शहरमा मात्र होइन, गाउँगाउँमा पनि यो आम प्रवृत्ति बन्दैछ । मोबाइल, आईफोन, ल्यापटप, कम्प्युटर, ट्याब जस्ता ग्याजेट सामग्री र इन्टरनेट आजका मानिसको एक जीवनशैली बनिसकेको छ । इन्टरनेट र सामाजिक सञ्जाल बिना मानिसको दिनचर्या नै खल्लो हुन थालेको छ ।

ज्ञान र सूचना, सञ्चार प्रवाह, अभिव्यक्तिलगायतका अनेकानेक क्रियाकलापका लागि अत्यन्त उपयोगी हुँदाहुँदै पनि इन्टरनेटले कतै मानिस–मानिसबीचको आत्मीय सम्बन्ध, सामाजिक सम्बन्ध तथा मानवीय सद्भावमा दूरी बढाइदिएको र मानिसलाई एकाङ्की तथा विरानो बनाउँदै लगेको पनि आरोप लागिरहेको छ ।

आजको अर्को जल्दोबल्दो विषय भनेको बालबालिका र इन्टरनेटको सम्बन्ध हो । सञ्चारको यो अत्याधुनिक सुविधा खुलमखुला रहनाले बालबालिकामा हिंसात्मक, मनोवैज्ञानिक प्रभावका साथै यौनजन्यतस्बिर तथा अडियोभिडियोले कतिपय अवस्थामा नकारात्मक असर पारिरहेका दृष्टान्त पनि सतहमा देखा परिरहेका छन् ।

यद्यपि अब न्यु मिडियाका नकारात्मक कुरालाई हेरेर होइन कि यसलाई कसरी बालशिक्षा र सहभागितामा अधिकतम उपयोग गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो । तर बालबालिकाका लागि यस्ता सामग्री नेपाली भाषामा अत्यन्त कम छन् । अंग्रेजी, हिन्दीलगायतका भाषामा भने यस्ता सामग्री पर्याप्त मात्रामा उपलब्ध छन् । विभिन्न विषयगत ज्ञानका लागि अन्य भाषाका त्यस्ता सामग्री उपयोग गर्न पनि सकिन्छ । तर प्रारम्भिक कक्षाका साना नानीहरू, जो पढ्न सिक्दैछन् तिनका लागि भने नेपाली भाषामा अझ तिनकै मातृभाषामा यस्ता सामग्री उपलब्ध हुनु जरुरी छ ।

साना नानीहरूका लागि विभिन्न विषयमा अडियो, भिजुअल सामग्री नेपाली भाषामा या अझ मातृ भाषामा उपलब्ध गराउन सकेमा इन्टरनेट र न्यु मिडिया बालबालिकाकाको मानसिक विकासमा उपयोगी हुन सक्छ ।

कथा वाचन तथा कथा एनिमेसन
साना नानीका लागि सबैभन्दा महत्वपूर्ण कुरा भाषाको विकास हो । भाषाको राम्रो विकास भएमा बालबालिकाको विभिन्न विषयगत ज्ञानमा अभिवृद्धि हुनुका साथै दैनिक जीवन व्यवहारमा पनि प्रगति गर्न सक्छन् । यसका लागि लोककथा, मौलिक सामाजिक कथाहरूलाई रमाइलोसँग वाचन गरिएका भिडियो तथा ती कथामा आधारित एनिमेसन उपयोगी हुन सक्छन् । साथै आफै पढ्न सक्ने बालबालिकालाई चित्रपुस्तकहरू डाउनलोड गरी पढ्न सक्नेगरी राख्न पनि सकिन्छ ।

विसंकेतन पाठ
साना नानीहरूको पठन सीप विकासका लागि अर्को महत्वपूर्ण पठन सामग्री विसंकेतन पाठ (Decodable text_) हुन सक्छ । विसंकेतन पाठ भनेको बालबालिकाले चिनेका अक्षर मात्र समावेश गरी बनाइएका कथा या पाठ हुन् । सग्ला अक्षर मात्र प्रयोग गरी लेखिएका कथा, मात्रा चिनाउनका लागि आकार, उकार, ईकार, एकार आदि निश्चित मात्रामा प्रयोग भएका शब्दहरू राखेर विकास गरिएका सामग्री यसमा राख्न सकिन्छ । यसले पठन तथा लेखन सीपका साथै समग्र भाषिक विकासमा पनि सघाउन सक्छ ।

विषयगत सीप शिक्षा
पठन सीप विकास गरिसकेका र स्वतन्त्र पाठक बनिसकेका नानीहरू अब विभिन्न विषयका कुरा सिक्नका लागि पढ्छन् । त्यसैले यस्ता बालबालिकाका लागि इतिहास, विज्ञान, भूगोल, सामाजिक जीवन, जीवनशैली, गणितलगायतका विविध विषयका सामग्री पनि इन्टरनेटमा उपलब्ध गराउन सकिन्छ । यस्ता सामग्रीमार्फत उनीहरू रमाउँदै मनोरञ्जनपूर्वक विषयगत ज्ञान र सीप हाँसिल गर्न सक्षम हुन्छन् ।

खेल तथा पजल
कोर्स र पाठ्यपुस्तकका सामग्रीमा बालबालिका खासै रमाउँदैनन् । तर तिनै सामग्री न्यु मिडियामार्फत दिन सकेमा उनीहरू बिनाबोझ खेलेरै सिक्न सक्छन् । यसमा उनीहरू कहिल्यै झिँजो मान्दैनन् पनि । यसका लागि विभिन्न खेल तथा पजलहरू मार्फत उनीहरूलाई विभिन्न विषयगत ज्ञान, सामान्य ज्ञान र जीवनोपयोगी सीपहरू पनि हाँसिल गराउन सकिन्छ । गणितीय खेलहरू यसका लागि अझ रोमाञ्चक हुन सक्छन् ।

प्रविधिलाई केबल गीत बजाउँदै भात खुवाउन, बच्चालाई अल्मल्याएर आपूm अन्य काम गर्न मात्र प्रयोग गरियो भनेचाहिँ स्थिति यस्तो आउनपनि सक्छ कि, बच्चाले बिगारेको मोबाइल त बनाउन या फेर्न पनि मिल्ला तर मोबाइल या प्रविधिको गलत प्रयोगले बिग्रेका बच्चा न मर्मत गर्न सकिन्छ न त फेर्न नै ।

यी त भए बालोपयोगी केही सन्दर्भ सामग्री । के अहिले यस्ता सामग्री हाम्रो आप्mनै भाषामा उपलब्ध छन् त ? यसको जवाफ पूरै नकारात्मक नभए पनि पर्याप्तमात्रामा यस्ता सामग्री छ्रैनन् । केही संस्थागत रूपमा र केही व्यक्तिगत रूपबाट पनि यस्ता सामग्री पाइए पनि ती अत्यन्त न्युन छन् । उपलब्ध सामग्रीमा कथानक सामग्री केही मात्रामा भएपनि अन्यखालका सामग्री भने खासै पाइँदैन । यस्ता सामग्री बढाउन शिक्षा मन्त्रालय, पाठ्यव्रmम विकास केन्द्र तथा शिक्षामा कार्यरत गैरसरकारी संस्थाहरूले पनि यसमा ध्यान दिनुपर्ने समय आइसकेको छ । निजी क्षेत्रका प्रकाशन संस्थाहरू तथा निजी विद्यालयहरूले पनि यस्ता सामग्री विकासमा ध्यानदिनु जरुरी छ । यसबाट बालबालिका लाभान्वित राम्रो हुनुका साथै स्कुलको विज्ञापन पनि हुन्छ । एकातिर यस्ता सामग्री बढाउनु छ भने अर्कातिर उपलब्ध सामग्री पनि भाषिक, बालबालिकाको स्तर तथा अभिरुचिका दृष्टिले कत्तिको उपयोगी छन् समीक्षा गरिनु आवश्यक छ ।

बालपुस्तक र सन्दर्भ सामग्रीका लागि केही वेबसाइटहरू
पाठ्यक्रम विकास केन्द्रको इलेक्ट्रोनिक लाइब्रेरी
पाठ्यक्रम विकास केन्द्रले सन् २०१२ देखि आफ्ना संस्थाले निर्माण गरेका, छापिएका, अडियो, भिडियो, चित्र र इलुस्ट्रेशनलाई आफ्नो इन्टरनेट साइटमा राख्दै आइरहेको छ । moecdc.gov.np

ग्लोबल डिजिटल लाइब्रेरी
ग्लोबल बुक एलायन्सले विभिन्न संस्थाहरूसँगको सहकार्यमा सन् २०३० सम्ममा विश्वका सबै बालबालिकाका लागि बालसाहित्यका पुस्तकको पहुँच पु¥याउन सुरु गरेको ग्लोबल डिजिटल लाइब्रेरीको एसिया संस्करण हालै मात्र सुरु भएको छ । शिक्षा मन्त्रालय तथा भाषा आयोगको पहलमा विभिन्न गैरसरकारी संघसंस्थाको सहभागितामा यसको एसिया संस्करण आरम्भको विशेष समारोह पनि हालै मात्र आयोजना गरिएको थियो । यसमा नेपालीसहित नेपालका विभिन्न सातवटा भाषामा बालकथाका पुस्तकहरूका साथै खेल, पजल, अनुवादलगायत सेवा पनि उपलब्ध छन् । digitallibrary.io

लेट्स रिड एसिया
एसिया फाउन्डेसनबाट सञ्चालित लेट्स रिड एसिया डिजिटल लाइबेरीमा पनि थुप्रै नेपाली तथा नेपालभाषाका पुस्तक उपलब्ध छन् । ‘बालबालिकाका लागि एसियाको निशुल्क पुस्तकालय’ भनिएको यस बालपुस्तक अनलाइन संग्रहमा जान www.letsreadasia.org लग इन गर्नु पर्छ ।

स्टोरीवेभर
रुम टु रिडले भारतको प्रथमबुक्ससँगको सहकार्यमा सञ्चालन गरेको स्टोरीवेभरमा रुम टु रिड कार्यरत विभिन्न देशका बालसाहित्य पुस्तक समावेश छन् । यसमा रुम टु रिड नेपालबाट प्रकाशित ४६ थान नेपाली बालपुस्तक पढेर मनोरञ्जन लिन सकिन्छ । storyweaver.org.in

ई–पुस्तकालय 
साझाशिक्षा ई पाटीको यस अनलाइन पुस्तकालयमा झन्डै सातहजार पुस्तक र दुई हजार जति पुस्तकको अडियो संग्रहित छ । बालपाठमाला र बालसाहित्यका विभिन्नप्रकाशनका पर्याप्त पुस्तकहरू पनि यसमा समेटिएको छ । pustakalaya.org

सामग्री विकास र प्रसारमा अब सरकारी, निजी तथा विद्यालयतहबाट पनि प्रयास तथा सहकार्य हुनु आवश्यक छ । अनि उपलब्ध श्रोत, सामग्रीहरूको समुचित प्रयोग गरी बालबालिकाको पठन तथा सर्वाङ्गीण विकास गराउन सकेमा नै अत्याधुनिक प्रविधिको सही उपयोग हुनेछ । प्रविधिलाई केबल गीत बजाउँदै भात खुवाउन, बच्चालाई अल्मल्याएर आपूm अन्य काम गर्न मात्र प्रयोग गरियो भनेचाहिँ स्थिति यस्तो आउनपनि सक्छ कि, बच्चाले बिगारेको मोबाइल त बनाउन या फेर्न पनि मिल्ला तर मोबाइल या प्रविधिको गलत प्रयोगले बिग्रेका बच्चा न मर्मत गर्न सकिन्छ न त फेर्न नै ।

:842 Views

Leave a Reply