बालबालिकालाई प्रेम महसुस गराउने कसरी?

मानव जातिलाई बाँच्नका लागि तीन कुराहरूको अति आवश्यक छ । अक्सिजन, ग्लुकोज र सम्बन्ध । जसरी मान्छे जीवित हुनको लागि अक्सिजन चाहिन्छ, त्यसरी नै बालबालिको विकासका लागि माया आवश्यक पर्छ । मायालु सम्बन्धले बालबालिकाको सर्वोत्तम बौद्धिक विकासमा सहयोग पुर्याउँछ ।

सबै अभिभावकले आफ्ना बालबालिकाको खुशी चाहेका हुन्छन् । उनीहरूको सफलताको लागि मार्गनिर्देशन पनि गरिरहेका हुन्छन् । तर कहिलेकाही अभिभावकहरूले सबैभन्दा महत्वपूर्ण कुरा नै बिर्सन्छन् वा बिर्सेका हुन्छन् । उनीहरूले आफ्नो सन्तानलाई माया देखाउन बिर्सन्छन् । हरेक अभिभावकले आफ्नो बालबालिकालाई प्रेम गर्छन् तर कयौँ पटक त्यो प्रेमभाव बालबालिका सामु पुग्दैन । तपाई हामी नै एक पटक मनन गरौँ न, के हाम्रा बालबालिकाले हामीले उनीहरूलाई गरेको मायाको अनुभूति गरेका छन्? के उनीहरूलाई थाहा छ, कि हाम्रो जीवनमा उनीहरूको कत्तिको महत्व छ ? कुनै बेला त बालकहरू आफै भनिरहेका हुन्छन्, ‘मेरो बाबा या मामुले मलाई माया नै गर्नु हुन्न ।’

सन्तानलाई गर्ने मायाका फाइदाहरू
भनिन्छ नि मानिसको बाल्यावस्थाको भोगाइको प्रभाव उसको वयस्क र बृद्धावस्थासम्म रहन्छ । यदि तपाईले बालबालिकालाई माया देखाउनु भयो भने उसको मस्तिष्क र भावनात्मक विकासमा त्यसले ठूलो सहयोग गर्छ । अभिभावकको मायाकै कारण बालकको भाषा विकासमा पनि टेवा पुग्छ ।

अभिभावकको मायाले बालकको आत्मविश्वास र आत्मसम्मान बढाउन सहयोग गर्छ । उसले सहजै समस्या समाधान गर्न सक्छ र उसमा आत्मबलको विकास भर्ई उसले कुनै पनि कार्य गर्न तत्परता देखाउँछ । उसको सृजनात्मक विकासमा पनि अभिभावकको मायालाई नै श्रय जान्छ । अभिभावकको माया र स्नेहले खुशी, स्वस्थ र सन्तुष्ट बालकको निर्माण हुन्छ ।

माया गरेको अनुभूति कसरी गराउने?
प्रत्येक अभिभावकले आफ्ना बालबालिकालाई माया गरेका हुन्छन् । तर त्यो मायाको अनुभूति त्यो बालकलाई भएको छ कि छैन भन्ने कुराको ख्याल नै राख्दैनन् । एकपटक तपाईहरू नै सोच्नुहोस्, जसरी तपाईले आफ्नो बालबालिकालाई हुर्काइरहनु भएको छ, त्यसमा बालबालिकाले तपाईले माया गर्नुहुन्छ भनेर थाहा पाएका छन् कि छैनन् ।

माया गर्नुमात्र नभई बालबालिकालाई मायाको अनुभूति गराउनु पनि उत्तिकै महत्वपूर्ण कुरा हो । बालबालिकालाई माया गरेको थाहा दिनका लागि अभिभावकले निम्न कार्य गर्नसक्छन् ।

१) शारीरिक स्पर्श
सन्तानलाई शारीरिक स्पर्श दिनुपर्छ । यदि सन्तान सानो छ भने अझ् बढी शारीरिक स्नेहको आवश्यकता पर्दछ । उसलाई काखमा लिने, अँगालो हाल्ने, सुम्सुम्याउने जस्ता कार्य गरेर मायाको अनुभूति दिलाउन सकिन्छ । त्यस्तै बालबालिका तपाईको हात समातेर हिँड्न चाहन्छन् । उनीहरूको हात समातेर हिँड्दा पनि उनीहरू खुशी हुन्छन् ।

२) प्रशंसा र प्रोत्साहन
बालकको हरेक काममा पर्फेक्सन हेर्नेभन्दा पनि उसको प्रयासलाई अभिभावकले प्रशंसा गर्नुपर्छ । बालकले केही नयाँ प्रयास गर्छ भने त्यसमा अभिभावकले प्रोत्साहन दिनुपर्छ । जस्तै मेरो ४ वर्षिय छोराले उसको एउटा दाइको जन्मदिनमा कार्ड उपहार दिने निधो गरेको रहेछ र उसले कार्डमा लेखेको थियो, चत्रक । उसले नामको उच्चारण सही गरिरहेको थियो । तर लेख्न चाहिँ त्यो शब्द लेखेको थियो । उसले लेखेको मिलेको छैन भन्ने मलाई थाहा थियो तर पनि मैले उसको प्रयासलाई मार्न खोजिनँ । उसको त्यो प्रयासलाई मैले सम्मान गरेँ । बालकको गल्ती मात्र औंल्याउने भन्दा पनि उसले केही प्रयास गरेको छ भन्ने कुरा अभिभावकले बुझ्नुपर्छ ।

अभिभावकले आफ्नो बच्चाबाट भएका गल्तीका कारण उसलाई सजाय दिने नभई उसको गल्तीलाई स्वीकार गर्न सक्नुपर्छ । कहिलेकाही अभिभावकबाट केही भुल हुन गएमा आफ्नो गल्ती पनि स्वीकार्नुपर्छ । त्यसबाट बालबालिकाले गल्ती सामान्य हो भन्ने बुझ्छ र उसले जीवनमा प्रयास गर्न छोड्दैन ।

बालकले गरेको कामको प्रशंसा गर्न भुल्नु हुन्न । जस्तैः ‘धेरै राम्रो’ शब्दको प्रयोग गर्न सकिन्छ । त्यस्तै उसलाई धन्यवाद दिनुपर्छ ।

बालबालिकालाई के कुरामा सहयोग गर्नुपर्छ भन्ने कुरामा अभिभावक स्पष्ट हुनुपर्छ र प्रेमपूर्वक उनीहरूको आवश्यकताअनुसार सहयोग गर्नुपर्छ । बालकले नसक्ने कामलाई प्रेमपूर्वक अभिभावकले गरिदिनुपर्छ ।

३) प्रेमपूर्ण सेवा
अभिभावकले बालबालिकालाई सहयोग गरिरहेका हुन्छन् । तर ती सहयोग कहिलेकाही जबरजस्ती गरेको जस्तो देखिन्छ । बालबालिकालाई के कुरामा सहयोग गर्नुपर्छ भन्ने कुरामा अभिभावक स्पष्ट हुनुपर्छ र प्रेमपूर्वक उनीहरूको आवश्यकताअनुसार सहयोग गर्नुपर्छ । बालकले नसक्ने कामलाई प्रेमपूर्वक अभिभावकले गरिदिनुपर्छ । त्यस्तै बालकले गृहकार्य गर्दा उसँगै बसिदिन सकिन्छ । तर सेवा भन्दैमा अनावश्यक सेवा पनि गर्नुहुँदैन । जस्तैः ठूलो कक्षामा पढ्ने बालकको स्कुल ब्याग अभिभावकले नै बोकेर लगिदिने ।

४) गुणस्तरीय समय दिने
अहिलेको मुख्य समस्या भनेकै अभिभावकले बालकको लागि समय छैन भन्नु हो । आफ्ना सन्तानका लागि अभिभावकको समय अमृत समान हुन्छ ।

गुणस्तरीय समय भन्नाले त्यो समयमा बालबालिकाले अभिभावकले आफूलाई माया गरेको बुझ्ने र अभिभावक र बालक नै सँगै रहँदा खुशी हुने समय हो । यसरी गुणस्तरीय समयका लागि दुवै मिलेर कुनै कामहरू गर्न सकिन्छ । कुनै नयाँ कुराको सृजना गर्न सकिन्छ । सँगै कुनै ठाउँसम्म हिँड्न या घुम्न सकिन्छ । कहिलेकाही बालबालिकासँगै बसेर कार्टुन हेर्न सकिन्छ । बालकका लागि महत्वपूर्ण दिनहरू मनाउन सकिन्छ ।

बालकलाई कथा सुनाउनु पनि गुणस्तरीय समय व्यतित गर्नु हो । बेलुकाको समयमा उनीहरूलाई कथा भन्ने या कथाका किताब पढ्न लगाउने गर्नाले उसको भाषा विकासमा सहयोग गर्छ र पढ्ने रुचि पनि दिगो हुन जान्छ ।

बच्चासँग छलफल गर्नु प्रेम देखाउने अर्को उपाय हो । बालकले दिनभरि के के गर्यो, कुनै पनि विषयमा उसको विचार बुझेर, उसँग अन्तक्र्रिया गरेर पनि बालकको हेरचाह गर्न सकिन्छ ।

५) उपहार दिने
बालकको स्वास्थ्यमा असर नपर्ने खालका बालकलाई मनपर्ने कुरा उपहार दिन सकिन्छ । समय–समयमा उनीहरूको उमेर र रुचि अनुसारका उपहारहरू दिँदा पनि उनीहरू आफ्ना अभिभावकको जीवनमा महत्व रहेको कुरा बुझ्छन् । उनीहरूलाई मनपर्ने फलफुल, उपयोगी खेलौनाहरू दिन सकिन्छ ।

कतिपय अभिभावकहरू बालकले जे कुरा माग्दा पनि सुरुमै अस्विकार गर्छन् र अन्तमा बालक रोएपछि या झगडा गर्न सुरु गरेपछि त्यो सामान दिने गर्छन् । यसले दिगो समयसम्म बालकको बानीमा नकारात्मक प्रभाव पार्छ । अभिभावकले दिनहुुने कुरालाई सकेसम्म अस्वीकार गर्नुहुन्न र नहुने कुरा बच्चाले जति झगडा गरेपनि दिनुहुन्न ।

कस्तो व्यवहारले माया नगरेको अनुभूति गर्छ?
१) दुव्र्यवहार
विभिन्न कारण देखाइ आफ्नो बालबालिकालाई तिरस्कार र हेला गर्दा बालबालिकाले आफ्नो अभिभावकलाई दुस्मनको रूपमा हेर्ने गर्छन् । हामीले बालबालिकाको प्रत्येक गल्तीमा उसलाई गाली गर्ने, पिट्ने र अपमान गर्ने जस्ता कार्य निरन्तर भएपछि उसले त्यसलाई सामान्य रूपमा लिन थाल्छ ।

बालबालिका मात्र होइन, हामी सबै कसैसँग आफूलाई तुलना गरेको मन पराउदैनौँ । ‘त्यसको सन्तानले यो गरे, तँ यस्तो गर्छस्’ भनि तुलना गर्दा बालकमा हिनताबोध हुन्छ । बालबालिकालाई पिट्दा उसले मेरो बाबाममीले मलाई माया गर्नुहुन्न, मलाई हेला गर्नुहुन्छ भन्ने मानसिकता राख्दछ ।

बालबालिकालाई अनावश्यक डर देखाउने र धम्की दिने कार्य गर्दा पनि अभिभावकप्रति बालकको सोच नकारात्मक हुन जान्छ । प्राकृतिक या तथ्यपरक कुरा बाहेकका आफ्नो फाइदाका लागि डर देखाउने काम गर्नुहुँदैन । जस्तै ‘कोठा बाहिर निस्किस् भने भुतले तँलाई खाइदिन्छ’ । यस्ता वाक्यको प्रयोगले बालकको आत्मबल पनि कम बनाउँदै लैजान्छ ।

बालबालिकाको बारेमा नकारात्मक टिप्पणी गर्ने गर्दा उसले मेरो बुवाआमा मेरो बारेमा नराम्रो सोच्नुहुन्छ भन्ने सोच्दछ । बालबालिकाको हरेक काममा असन्तुष्टी जनाउदा बालक पनि दिक्क मान्न थाल्छ ।  बालबालिकालाई पढाइको आवश्यकता पर्छ । तर उसलाई केबल या अनावश्यक रूपमा पढाइको लागि दबाब दिने गर्दा बाबाआमाले आफ्नो खुशीलाई ख्याल नगरेको सोच्दछ ।

जुन घरमा बाबाममी झगडा गर्छन् या एक जना दुव्र्यसनमा फसेका छन् भने त्यस्तो अवस्थामा बालकले आफू असुरक्षित र बाबाममीको माया नपाएको महसुस गर्छन् ।

२) वेवास्ता
अहिलेका अभिभावकहरू आफ्नो कामको व्यस्तता देखाउँदै सन्तानबाट टाढा भागिरहेका छन् । आफ्ना सन्तानसँग बसेर कुराकानी गर्ने केही मिनेट पनि छैन अचेलका अभिभावकलाई । बालकलाई वेवास्ता गर्दा उसले आफ्नो अभिभावकबाट पाउनुपर्ने स्याहार या हेरचाह पाउँदैन र उसले आफ्नो अभिभावकको पनि अनुभूति गर्दैन ।

त्यस्तै कतिपय अभिभावकहरू विभिन्न समस्याको रिस आफ्ना बालकमा पोख्ने गर्छन् । बालकसँग बोल्दा झर्कने र रिसाउने व्यवहारले बालबालिकाले आफ्नो अभिभावकले आफूलाई माया नगरेको महसुस गर्छ ।

त्यस्तै बालकले भनेको गरेका हरेक कुरा र कामलाई अनावश्यक अस्विकार गर्ने अभिभावकको स्वभावले बालकले आफ्नो महत्व नरहेको सोच्ने गर्छ ।

यस्ता दुव्र्यवहार र वेवास्ताले बालबालिकामा के असर पार्छ?
बाल दुव्र्यवहार र वेवास्ताले बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक र सामाजिक पक्षमा नकारात्मक प्रभाव पार्दछ ।
शारिरीक रूपमा पछि गएर उसलाई विभिन्न किसिमका जीर्ण रोग देखा पर्नसक्छ । बालापनमा दुव्र्यवहार पाएकाले पछि गएर ह्दयघात, मधुमेह, फोक्सोसम्बन्धिका रोग, उच्च रक्तचाप, माइग्रेन, क्यान्सर जस्ता रोग लाग्न सक्ने विभिन्न अनुसन्धानले देखाएको छ । बाल्यावस्थामा अभिभावकबाट प्रेम नपाएका व्यक्तिभन्दा बाल्यावस्थामा प्रेम पाएका व्यक्ति स्वास्थ्य समस्यामा सुरक्षित हुने विभिन्न अध्ययनले देखाएको छ ।

हामीले बालबालिकालाई ‘तिमीलाई माया गर्छु, तिमी मेरो लागि महत्वपूर्ण छौ’ भन्ने कुरा महसुस गराउनुपर्छ । बालकले प्रेम महसुस गरेमा उसले हरेक कुराबाट सुरक्षा महसुस गर्छ ।

मानसिक रूपमा उसमा बौद्धिक मन्दता आउँछ । उसमा खराब मानसिकता र भावनाको विकास हुन्छ । विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानले अभिभावकको प्रेमको अभावले बालकलाई अझ बढी तनावग्रस्त बनाएको देखाएको छ । गाली गर्ने, पिट्ने, बेइज्जत गर्ने जस्ता कार्यले मान्छे २० वर्ष छिटो मर्ने उल्लेख गरिएको छ ।

सामाजिक प्रभावमा यस्ता क्रियाकलापले बालक पछि किशोरावस्थामा आपराधिक कार्यमा लाग्ने, मदिरा र अन्य लागू पदार्थको कुलतमा फस्ने बताइएको छ ।  अभिभावकले आफ्ना सन्तानलाई सफल बन्न मात्र दबाब दिइरहँदा उनीहरूले मायाको अनुभूति गराउनुपर्ने आवश्यकता नै भुलिरहेका छन् ।

हामीले बालबालिकालाई ‘तिमीलाई माया गर्छु, तिमी मेरो लागि महत्वपूर्ण छौ’ भन्ने कुरा महसुस गराउनुपर्छ । बालकले प्रेम महसुस गरेमा उसले हरेक कुराबाट सुरक्षा महसुस गर्छ । सफल र स्वस्थ व्यक्तिको निर्माणका लागि अभिभावकको प्रेम बालकको लागि अपरिहार्य हुन्छ ।
रुख विरुवालाई सहि किसिमले मलजल गरियो भने त्यसमा राम्रो फुल फुल्छ वा फल राम्रो लाग्छ । त्यसैगरी बालबालिकाको विकासको निम्ति चाहिने मलजल भनेको माया हो । बालकले महसुस गर्ने किसिमको प्रेम पायो भने उसको विकासमा सहयोग पुग्छ । बालबालिकाको विकासको लागि हामीले आजबाटै उसलाई माया देखाउनुपर्छ ।

पिताम्बर न्यौपाने
प्रबन्ध निर्देशक, इसिइसि

:2822 Views

Leave a Reply