बालविकासमा अभिभावकको भूमिका

बालविकासमा अभिभावकको भूमिकाको कुरा गर्दा यसका विभिन्न पक्षहरूलाई बुझ्न आवश्यक हुन्छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार गर्भदेखि ८ वर्ष सम्मका उमेरलाई प्रारम्भिक बाल्यवस्थाको उमेर मानिन्छ । यो उमेर समयका बालबालिकाको मस्तिष्क विकास तिब्र गतिमा हुनुका साथै सिक्ने तरिका पनि समान हुन्छ । बाल्यवस्थाका बालबालिकाहरू जिज्ञासु, प्रेरक, प्रश्नकर्ता र सृजनात्मक हुने हुनाले ज्ञानेन्द्रियहरूको अधिक प्रयोग गर्दै आफै देखेर र हेरेर, छोएर, स्पर्श गरेर, सुँघेर, खाएर र चाखेर र सुनेर धेरैभन्दा धेरै कुरा सिक्नुका अतिरिक्त वस्तु तथा सामग्रीको प्रयोग, खोज तथा अन्वेषण गरेर ज्ञान प्राप्त गर्दछन् । समग्र जीवनको सफलता असफलताको जग नै प्रारम्भिक बाल्यवस्था भएकाले प्रारम्भिक बाल शिक्षा वा बालविकासलाई महत्व दिनु आवश्यक छ ।

बालविकास भन्नाले बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक, सामाजिक र सम्वेगात्मक पक्षहरूको सकारात्मक परिवर्तनलाई बुझ्नुपर्दछ । त्यसैले प्रारम्भिक बाल शिक्षामा बालविकासका यी सबैलाई समान महत्व दिनु पर्दछ । अन्यथा शिक्षा अपूर्ण र अधुरो हुन सक्दछ र बालविकासमा कसको भूमिका महत्वपूर्ण र प्रभावकारी हुन्छ भन्ने विषयमा हामी लामो बहस गर्न सक्छौँ । यद्यपी यस आलेखको शीर्षक बालविकासमा अभिभावकको भूमिका भएकाले यो त्यसैमा केन्द्रित छ ।

यदि मार्टिन लुथर किंगलाई उनकी आमाले सानो छँदा नै छोराको एक प्रश्नको उत्तरमा काला र गोरा जातिको विभेद, कमारा प्रथाको बारेमा ब्याख्या नगरेकी भए आज उनी गुमनाम मात्र होइन अमेरिका आजको अमेरिका हुने थिएन । त्यस्तै थोमस एल्वा एडिसनलाई उनको विद्यालयले अनुशासनहीन विद्यार्थीको आरोपमा स्कुलबाट निष्कासन गर्दा उनकी आमाले झुठो बोल्दै भएपनि छोरालाई सकारात्मक बाटोमा अगाडी बढ्न प्रेरित गर्दै घरमा नै पठनपाठनको वातावरण सिर्जना नगरेको भए आज पनि संसारबाट अन्धकार हट्ने थिएन ।

आमाबुवाको कर्तब्य र भूमिका सन्तानलाई जन्मदिनु मात्र होइन, तिनको पालन पोषण, पठनपाठन, शिक्षा–दिक्षा र व्यक्तित्व विकासमा पनि उत्तिकै महत्वपूर्ण र प्रभावकारी हुनुपर्दछ । मातापिता वा अभिभावकको सोचाई, दृष्टीकोण, व्यवहार र चालचलनले बालबालिकाको मन मस्तिष्कमा अब चेतना तहसम्म नै गहिरो छाप छोड्दछ । यसले समग्र जीवनलाई प्रभावित पार्दछ । शिक्षण सिकाई प्रकिया बालविकासको एउटा पाटो मात्र हुनाले त्यसमा अभिभावकको भूमिका र प्रभाव नै सर्वाधिक रहन्छ भन्नु गलत हुने छैन । त्यतिमात्र होइन बालविकास गर्भदेखि र सिकाई प्रक्रिया जन्मदेखि सुरु हुने भएकाले पनि बुवा आमाको भूमिका सर्वेसर्वा रहने तथ्यमा दुईमत नरहला । तल प्रस्तुत संस्कृतको यस श्लोकले पनि माथिका भनाइलाई प्रस्ट पार्न मद्दत पुग्दछ ।

उपाध्यायाना दशाचार्य आचार्याण सत्मं पिता /
सहस्र्म तु प्रितृन माता गौरावेणातिरीच्यते//

अर्थात् १० जना उपाध्यायभन्दा बढी १ जना आचार्य, १०० जना आचार्य भन्दा बढी एक जना बुवा र १००० बुवाभन्दा बढी एउटी आमा बालविकासका निम्ति महत्वपूर्ण हुन्छिन् र यहाँ उपाध्याय भन्नाले तलबी विषयगत शिक्षा र आचार्य भन्नाले बिना पारिश्रमिक निशुल्क विद्यादान गर्ने र आचार संस्कार सिकाउने गुरुलाई सम्झनु पर्दछ र त्यसैले घरलाई पहिलो पाठशाला । मातालाई पहिलो गुरुले सम्बोधन गरिन्छ र संस्कृतका विद्वान, ऋृषीमुनीहरूले मात्र होइन आधुनिक युगका प्रख्यात अमेरिकी शिक्षाबिद् जोन कल्बेल्ड हल्ट अन्डर अचिभिंग स्कूल (नेपाली अनुवाद असफल स्कूल) का लेखक त आफ्नो जीवनभर बालबालिकाहरूलाई घरमानै पढाउनु पर्ने पक्षमा सदैब क्रियासिल रहे । उनले उपयुक्त वातावरणको अभावलाई शिक्षा र सिकाईको बाधक भनि व्याख्या गरेका थिए । उनका बिचारमा केटाकेटीले त्यसैबेला सबभन्दा राम्ररी सिक्छन्, जब स्वयम सिक्न चाहन्छन्, जब कहिले र कसरी सिक्ने भनेर स्वयम् निर्णय लिन्छन्, जब कुनै कुरा कसैले भनेको आधारमा होइन, स्वयम् आफ्नो जिज्ञासा शान्त गर्न सिक्दछन् । उनी अगाडी भन्छन् – म सिक्ने कुरामा परीक्षा, अंक, ग्रेड आदिको कुनै उपयोगी भूमिका नै देख्दिन । उल्टो यी सबै कुरा सिकाई प्रक्रियामा बाधक छन् । यसरी हेर्दा परापूर्वकालदेखि आधुनिक युगसम्ममा पनि बालविकास र सिकाई प्रक्रियामा घर, मातापिता वा अभिभावकको सबैभन्दा अमुल्य योगदान हुने तथ्यलाई मनन् गर्दै स्कूल र प्राथमिक विद्यालय र कलेज आदिले पनि आफूलाई दोस्रो घरको रूपमा परिवर्तन गर्नुको विकल्प छैन । त्यसै गरेर शिक्षा र गुरुहरूले पनि आफूलाई सर्बज्ञाता र विद्या र शिक्षादाताको रूपमा मात्र होइन कि सिकारु, सहजकर्ता र पारिवारिक सदस्यको रूपमा आफूलाई प्रस्तुत गर्न सक्नु पर्दछ अन्यथा बालविकास र सिकाई प्रक्रियामा नकारात्मक असर पर्ने मात्र होइन समस्त शिक्षा प्रणाली माथि नै खतराको बादल मडारिन सक्दछ ।

अमेरिकी प्रख्यात राजनीतिज्ञ मार्टिन लुथर किंग, बिजुली वल्बका आविस्कारक थोमस एल्वा एडिसनको सफलताको पछाडी उनीहरूको बाल्यावस्थामा अभिभावक (आमा) को ठूलो हात थियो भन्ने छ । यदि मार्टिन लुथर किंगलाई उनकी आमाले सानो छँदा नै छोराको एक प्रश्नको उत्तरमा काला र गोरा जातिको विभेद, कमारा प्रथाको बारेमा ब्याख्या नगरेकी भए आज उनी गुमनाम मात्र होइन अमेरिका आजको अमेरिका हुने थिएन । त्यस्तै थोमस एल्वा एडिसनलाई उनको विद्यालयले अनुशासनहीन विद्यार्थीको आरोपमा स्कुलबाट निष्कासन गर्दा उनकी आमाले झुठो बोल्दै भएपनि छोरालाई सकारात्मक बाटोमा अगाडी बढ्न प्रेरित गर्दै घरमा नै पठनपाठनको वातावरण सिर्जना नगरेको भए आज पनि संसारबाट अन्धकार हट्ने थिएन ।

यदि अभिभावकहरू आफ्ना सन्तति जीवनमा सफल र असल, खुशी र सुखी, मायालु र दयालु, नम्र र भद्र, संस्कारी र सद्गुणी, लगनशील र धैर्यवान आदि भएको सपना देखेर बसेका छौँ भने आफूले पनि घरमा त्यस्तै वातावरणको सृजना गर्नुपर्दछ । छोराछोरीको भावना, विचार, रुचीको सम्मान र कदर गर्न जान्नु पर्दछ । उनीहरूलाई कसैसँग तुलना गर्ने भुल गर्नु हुँदैन । उनीहरूका प्रश्नहरूको उत्तर दिने बानी बसाल्नु पर्दछ । उनीहरूलाई धन सम्पत्ति होइन माया र समय प्रदान गर्न सिकाउनु पर्दछ । बोलीमा होइन व्यबहारमा सकारात्मक वातावरणको सिर्जना गर्नु बुद्धिमता हुन सक्छ । बाल बालिकाको भविष्य निर्माण विद्यालयबाट मात्र होइन, आफ्नो घरबाट बढी हुन्छ भन्ने विश्वास लिन सक्नुपर्दछ ।

शरणकुमार अर्याल
निर्देशक
अध्ययन स्कुल, काठमाडौँ

:637 Views

Leave a Reply