बाल विकास स्कूलमा १०१ जना ज्येष्ठ नागरिक सम्मानित

भक्तपुर ।  बाल विकास इङ्गलिश सेकेन्डरी स्कूलको ३२ औँ वार्षिकोत्सव समारोहमा सयजना भन्दा बढी ज्येष्ठ नागरिक सम्मानित भएका छन् । उक्त स्कूलले हजुरबुबा–हजुरआमा सम्मान कार्यक्रममा शिक्षासेवी, समाजसेवी एवं नेमकिपाका पूर्व केन्द्रीय सदस्य बुद्धिकुमार गोसाईलगायत विद्यार्थीका ७५ वर्षमाथिका १०१ जना हजुरबुबा–हजुरआमाहरूलाई दोसल्ला ओढाई उपहारसहित सम्मानित गरेको हो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं बाल विकास इङ्गलिश सेकेन्डरी स्कूलका संस्थापक सदस्य सुनिल प्रजापतिले हजुरबुबा–हजुरआमाहरूलाई सम्मानित गर्दै पुरानो पुस्तालाई आदर र हेरचाह गर्ने हाम्रो राम्रो संस्कार नयाँ पुस्तालाई सिकाउँदै जानुपर्ने बताउनुभयो ।

शिक्षाको माध्यमले समाज परिवर्तन गर्ने उद्देश्यले ३२ वर्ष अगाडि विद्यालय स्थापना गरेको बताउँदै उहाँले विद्यालयमा अध्ययन गरेका धेरै विद्यार्थीहरू डाक्टर, इन्जिनियर, प्राध्यापक, वैज्ञानिक, शिक्षक, नर्स, राष्ट्रसेवक कर्मचारी आदि बनेको जानकारीले सन्तोष मिलेको बताउनुभयो ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरलाई ऐतिहासिक सम्पदा, शिक्षा र पर्यटनको गन्तव्य बनाउने ध्येयले नेपाल मजदुर किसान पार्टीको नीति र निर्देशनअनुसार काम गरिरहेको स्पष्ट पार्दै त्यसमा सम्पूर्ण विद्यालय, शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूको सहयोग अपेक्षित छ भन्नुभयो ।

उहाँले आसन्न भक्तपुर महोत्सव भव्यतापूर्वक सफल पार्न सबै नगरवासी र सरोकारवाला सबैको सक्रिय सहभागिताको निम्ति अनुरोध गर्नुभयो ।कार्यक्रममा स्कूलका प्रिन्सिपल एवं वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले अग्रज पुस्ताको सम्मान गर्न नजान्ने समाजले साँचो अर्थमा प्रगति गर्न नसक्ने औँल्याउँदै हजुरबुबा–हजुरआमा सम्मान कार्यक्रम विद्यार्थीहरूलाई सिकाउने प्रक्रियाकै एउटा भाग भएको बताउनुभयो ।

देश शासकहरूकै अदूरदर्शिता र देशघाती नीति निर्णयका कारण खतरामा पर्दै गएको औँल्याउँदै विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरूले शिक्षाको साथसाथै देश र समाजको बारेमा चिन्तन र छलफल गर्न आवश्यक छ भन्नुभयो । हामीले नयाँ पुस्तालाई शिक्षा दिएर विदेशमा भासिने, नेपालको नागरिकता त्यागेर विदेशी नागरिक बन्न जाने र विदेशीकै सेवा गर्ने जमात तयार गर्नेभन्दा देश, जनता, समाज र माटोको सेवा गर्ने देशभक्त नागरिक तयार गर्न आवश्यक छ भन्नुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सांसद सृजना साँयजूले देशको सार्वभौमिकता खतरामा परेको बेला पारिवारिक र पेशागत जिम्मेवारीभन्दा माथि उठेर देशको निम्ति आन्दोलित हुनुपर्छ भन्नुभयो । संरा अमेरिकाको डलरले संसारमा कुनै देश विकास नभएको बरू ध्वंस र बर्बाद भएको बताउँदै उहाँले एमसीसी परियोजनाका नाममा शासकहरूले देशको सार्वभौमिकता संरा अमेरिकी संस्था – एमसीसी र भारतलाई बुझाउन तयार भइरहेको बताउनुभयो ।

उहाँले एमसीसी सम्झौता सङ्घीय संसद्बाट पारित हुन नदिन सबैजनाले आ–आफ्नो स्थानबाट शासक पार्टीहरूमाथि दबाब सिर्जना गर्नुपर्छ भन्नुभयो । साम्राज्यवादीहरू कहिल्यै दयावान र सहानुभूतिशील नहुने चर्चा गर्दै सांसद साँयजूले छिमेकी देश चीन कोरोना भाइरसको सङ्क्रमणविरूद्ध लडिरहँदा साम्राज्यवादी र प्रतिक्रियावादीहरू चीन सरकार र चीनको समाजवादविरूद्ध भ्रामक प्रचारबाजीका माध्यमबाट हमला गरिरहेका छन् भन्नुभयो ।

कार्यक्रममा ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले अभिभावकहरूले राम्रो विद्यालयको मापन गर्दा भौतिक पूर्वाधार र सुविधा धेरै भएका विद्यालय छान्नुमात्र सही नहुने बरू बालबालिकालाई के–कस्तो विचार र व्यवहार सिकाइरहेको छ त्यसमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले राम्रो विचार र व्यवहार सिकेर आएका विद्यार्थी जीवनमा सफल हुने र देश र समाजको सेवा गर्नसक्ने हुन्छन् भन्नुभयो । उहाँले हजुरबुबा–हजुरआमा सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई पुरानो पुस्ताको सम्मान गर्न सिकाउने विश्वास व्यक्त गर्नुभयो ।

संस्थागत विद्यालय सङ्घ नेपाल–इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठले कम शुल्कका गुणस्तरिय शिक्षा दिइरहेका इसान आबद्ध विद्यालयहरूमध्ये बाल विकास स्कूलले धेरै राम्रो प्रगति गरिरहेको बताउनुभयो । उहाँले स्कूलहरूले विद्यार्थीको शैक्षिक उन्नयनका लागि मात्र नभई बौद्धिक, शारीरिक र सृजनात्मक प्रतिभाको विकासका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सभापतिको आसनबाट स्कूल व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षासेवी मोहनप्रसाद प्रजापतिले अभिभावकका राम्रा र नराम्रा व्यवहारको प्रभाव बालबालिकामा पर्ने तथ्य आँैल्याउँदै अभिभावकहरूले आफ्नो बोली र व्यवहार सुधार्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिक्षिका सीता प्रजापति, शङ्कर आचार्य र शिक्षिका मनिषा श्रेष्ठले पनि बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरूले देशभक्तिपूर्ण तथा हृदयस्पर्शी गीत, नृत्य तथा नाटिकाहरू प्रस्तुत गरेका थिए । विद्यार्थी तथा शिक्षिकाहरूले चिनियाँ भाषाका गीतमा आकर्षक नृत्यहरू प्रस्तुत गरेर कोरोना भाइरसको सङ्क्रमणविरूद्ध लडिरहेको छिमेकी देश चीन र चिनियाँ जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गरेका थिए ।

:513 Views

Leave a Reply