‘बिकज् अफ इन्क्यापाबिलिटी अफ हेडमाष्टर, अल दिस् ह्यापन्ड’

– हरिसुन्दर छुकां / भक्तपुर । माध्यमिक तह सञ्चालन हुने भक्तपुर जिल्लाका ४२ विद्यालयमध्ये मध्यपुरथिमी नगरपालिका वडा नं. ६ मा रहेको जनक सिद्धिकाली माविबाट शैक्षिक सत्र २०७४ मा १८ विद्यार्थी सहभागी भए ।

सहभागी भएका विद्यार्थीले हासिल गरेको कूल जीपिए जोड्दा २७ दशमलब २० भयो । त्यही जिपिएलाई कूल सहभागी विद्यार्थीले भाग गर्दा औसतमा १ दशमलब ५१ मात्र जिपिए निस्कियो ।

विद्यालयको उक्त जिपिएलाई बाँकी ४१ विद्यालयसँग तुलना गर्दा जनक सिद्धिकाली ४२ औं नम्बरमा पर्यो । ‘म आफै सहायक हेडमाष्टर बनेको बेलामा जिल्ला टप पनि भएको थियो यो स्कूल । जिल्ला लाष्ट चाहिँ म हेडसर भएको बेला भयो । यो साल पनि जिल्ला लास्ट परेछ । यो निक्कै दुःखद कुरा हो ।’ वर्ष ५५का बालमुकुन्द श्रेष्ठले दुःख मनाउ गरे ।

३३ वर्षदेखि सो विद्यालयको राम्रो, नराम्रो, उतारचढाव हेलिरहेका श्रेष्ठको भूमिका विगत १० वर्षदेखि भने प्रधानाध्यापकको छ ।

२०४२ सालमा निजि शिक्षक भएर सोही विद्यालयबाट शिक्षण थालेका उनी २०५२ मा अस्थायी शिक्षक भए भने २०६० मा स्थायी । आइएस्सी, आइए, एक वर्षे बीएड, अँग्रेजीमा एमएड, अँग्रेजीमै स्नातकमात्र नभएर क्लासिकल म्युजिक(शास्त्रीय संगीत) मा डिप्लोमासम्मको औपचारिक अध्ययन सकाएका श्रेष्ठले सम्हालिरहेको विद्यालयको गिर्दो नतिजाको क्रम दोहोरिरहँदा दिक्क बनाएको छ ।

रिजल्ट नराम्रो किन भयो ? कारण नं. १ मा उनी भन्छन्, ‘हामी अभिभावकहरुलाई बोलाउँछौं । अभिभावकलाई बोलाए पनि नआउने, त्यति धेरै कन्सस् छैनन् अभिभावकहरु । विद्यार्थीलाई कपी पनि नपठाउने, पठाउन नसक्ने ।’

त्यतिमात्र कहाँ हो र ? उनी थप्छन्, ‘शिक्षक, अभिभावक र विद्यार्थीबीच त्रिकोणात्मक सम्बन्धमा आएको कमी भन्नुपर्छ । हाम्रो पनि कमी भन्नुपर्छ । शिक्षक पनि दोषी छन् । अभिभावक र समुदायको मन जित्न नसक्नु नै ठूलो कमजोरी हो, सरकारी स्कुलहरुको । अझ भनौं भने यो हाम्रो स्कुलको ।’

फेरि उनले कारण थपे, ‘यो रिजल्ट आउनुको कारणमा विद्यार्थीको इरेगुलरले पनि हो । कक्षामा ४/५ जना आउँछन् । अभिभावकलाई चिठी पठायो भने त्यसको वास्ता नै गर्दैनन् ।’

‘बिकज् अफ इन्क्यापाबिलिटी अफ हेडमाष्टर, आइ थिंक, अल दिस् ह्यापनन्ड । नट विकज अफ अडर टिचर्स्, बिकज अफ मी’, र त उनी भन्छन्, ‘मेरै कमजोरीको कारण स्कुल अघि बढ्न नसकेको हो भन्ने म ठान्छु ।

आफूले गरेको मिहिनेतको फल नआएपछि कसलाई दिक्क लाग्दैन र ? उनलाई पनि दिक्क लाग्ने गरेको उनी हाकाहाकी स्वीर्काछन् । भन्छन्, ‘रिजल्ट हेर्दा साह्रै नै कहालीलाग्दो लाग्छ, दिक्क लाग्छ, पेशाप्रति नै अलिकति जिम्मेवार नभएको जस्तो भान हुन्छ ।’

यत्ति हुँदाहुँदै पनि आफूलाई नियमन गर्ने, अनुगमन गर्ने, यहाँसम्म कि आफूलाई पारिश्रमिक र भत्ता दिने, सुविधा दिने निकायले समेत ‘केही’ गर्न नसक्नुलाई भने आफ्नो सफलतासँग जोड्छन् । ‘म असफल प्रअ पनि भएँ, सफल प्रअ पनि भएँ, कारण लामो समयसम्मको असफलताका बीच पनि विद्यालयको हेडमाष्टर बन्नु पनि त एक किसिमले सफल बन्नु नै हो नि हैन र ?’ प्रतिप्रश्नसँगै जोडिएको व्यंग्यले देशका धेरै विद्यालयको अवस्थाको चित्रण गरे उनले ।

नराम्रो नतिजा ल्याउँदा पनि कुनै पनि निकायले आफूलाई मात्र नभएर आफूहरुजस्तालाई कुनै कारबाही नगर्नुको पछाडिको कुरा उनले खोलेनन् । उनले नखोले पनि यथार्थ, वास्तविकता भने हलेदो भनेपछि कोट्याउन नपर्ने स्थिति छ ।

यसबीचमा उनले विद्यालयको नतिजा नराम्रो हुनुको मुख्य कारक नै आफूलाई मानेर इमान्दारिता देखाए । कुराकानीको क्रममा आँशु चुहिएलाझैं भएको आँशुलाई समेत थामेर उनले भने, ‘यस्तो हुनुमा सबैभन्दा दोषी म आफैं हुँ । नढाँटीकन भन्नुपर्दा हेडमाष्टरको लिडरसीपमा आएको कमीले पनि रिजल्ट नराम्रो आएको हो । मेरो आफ्नै कमजोरीले हो । यसमा म ९० प्रतिशत व्यहोर्छु ।’

यति भनिसक्दा उनको आँखाबाट झन्डै झन्डै आँशु चुहिएको थियो, धन्न थामियो । बाहिर भने साउने झरी झर्न थालिसकेको थियो । पानीले विद्यालयको जस्तामा टाङटुङ गर्न थालेको थियो ।

शिक्षक, अभिभावक, विद्यार्थीबीच राम्रो समन्वय, सामन्जस्य राख्न नसक्नु ठूलो कमजोरीजस्तो लाग्छ उनलाई । ‘बिकज् अफ इन्क्यापाबिलिटी अफ हेडमाष्टर, आइ थिंक, अल दिस् ह्यापनन्ड । नट विकज अफ अडर टिचर्स्, बिकज अफ मी’, र त उनी भन्छन्, ‘मेरै कमजोरीको कारण स्कुल अघि बढ्न नसकेको हो भन्ने म ठान्छु । यसैले अवस्था आयो भने प्रअबाट राजिनामा दिन सक्ने आत्मबल पनि मसँग छ । छोड्नै परे राजिनामा पनि तयार छ । तर शिक्षकहरुले, साथीहरुले छोडाउनु भएको छैन ।’

सायद् त्यही रिजल्टकै असर हुनुपर्छ । विद्यालयमा निक्कै थोरै मात्र विद्यार्थी छन् । ‘अहिले माध्यमिक विद्यालय भए पनि विद्यालयमा एक सय विद्यार्थी पनि छैनन् ।’ एक शिक्षकले भने ।

रिजल्ट नराम्रो भए पनि विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गए पनि प्रधानाध्यापक श्रेष्ठले आश मारिहालेको अवस्था छैन । उनी विद्यालयको नतिजा राम्रो बनाउने योजना र सोचमा छन् ।

‘अबको पाँच वर्षमा अरु केही गर्न नसके पनि भक्तपुरका ४२ वटा विद्यालयमध्ये एभरेज नतिजा ल्याउने ।’ त्यसका लागि उनले यसपालि नै विद्यालयको स्तर वृद्धिको लागि नगरपालिकाबाट केही रकम मागिसकेका छन् ।

अबको पाँच वर्षको बाँकी समयमा राम्रो गर्ने योजना बनाएका उनी भन्छन्, ‘अब पाँच वर्ष बाँकी छ, यो पाँच वर्षमा म केही गर्छु । मैले पञ्चवर्षीय योजना बनाएको छु । त्यो योजनामा केही आशाका किरणहरु देखेको छु ।’

:1216 Views

Leave a Reply