बुवालाई मुख हेर्ने दिनको कोसेली

मितिः २०७५/०५/२४
श्रद्धेय बुवा,
हरेक साल आउने बुवाको मुख हेर्ने दिन, सानैमा यसको महत्त्व जानिनँ, महत्त्व जान्दा तपाईँदेखि टाढा छु । मैले बुवालाई के कोसेली पठाऊँ होला भन्दाभन्दै छुट्याउन नसक्दा धेरै मुख हेर्ने दिन फुत्केका छन्, अनायासै आज विहानदेखि लाग्यो कि म यसपालि बुवालाई पत्र लेख्छु । फोन संवादमा हुने गरेका मुख हेराई यसपालि पत्रले हेर्छु भन्ने लाग्यो र कोर्दै छु, कही कतै गहिराइमा पुगिनँ भने सोचिदिनु कि छोरा सानै छ र बुझ्दै जान्छ ।
बुवा प्रथमत एउटा छोरालाई मेरो बुवा गलत भन्ने लाग्छ वा लाग्दैन होला म जान्दिनँ । दुईबीचको सम्बन्धमा भर पर्दो हो सायद । तर मलाई आजसम्म के कुरामा गर्व छ भने मेरो आदर्शपात्र नै हजुर हो । मैले गुनासो गर्ने ठाउँ पाएकै छैन र गर्दिन पनि । भइ नै हालेछन् भने पनि संवादले हल गर्छ भन्ने बुझ्छु । ढुक्क हुनुस् हजुर र मेरोबीचमा विवादका निम्ति ठाउँँ छैन यो जीवनमा । मलाई हजुरसँँग धेरै समय बिताउनुछ, तपाईँँको प्यार मैले अझै पाउनु छ । भर्खर त तङ्ग्रीदै छु, आजसम्म डोर्याउनु भयो, अझै डोर्याउनु छ । तपाईँँविनाको मेरो जीवनको आधार त के नै होला र । मलाई थाहा छ, सधैँ अमर म पनि रहन्न तर मलाई किन किन लाग्छ तपाई र मेरो सम्बन्धका निम्ती आजसम्मका वर्ष छोटा भए, अझ युगौँ युग मैले बुवा भन्न पाइराख्छु ।
बुवा, सन्तानले बुवा भन्दाको खुशी म भर्खर बोल्न सिक्दै गरेको छोराको तोते आवाजले बुझ्दैछु । प्रत्येक पल्ट यो सानो छोराले बाबा भन्दा म हजुरलाई सम्झिन्छु कि मैले पनि यसै गरी बुवालाई बोलाएँ हुँँला भनी । आज म जति खुशी छु यो शब्दले हजुर त्यति हुन पाउनु भयो कि भएन होला ?
एउटा बच्चाले/सन्तानले मलाई बाबा भन्दा त यस्तो आनन्द आउँछ, हजुलाई त हामी सात जनाले बोलायौँ । शब्द त उही थियो होला तर ममताको भाव त फरक थियो होला है । म भर्खर सम्झिँँदैछु अस्पतालबाट हजुलाई छोरा भयो भन्दा सायद मभन्दा खुशी हजुर हुनुहुन्थ्यो, भलै मेरो चाहना त छोरीमा थियो ।
आज रियाजले लगाउने नाना र चप्पल अनि खेल्ने साइकल हेर्दा अनौठो लाग्छ । त्यस्तै सामान सायद बजार हुँदो हो त मेरो बुवाले पनि त मलाई दिनुँहुँँदो हो । आज म जति मेरो सन्तानलाई प्यार गर्छु त्योभन्दा बढी स्नेह हजुरले दिनुभएकोमा मलाई गर्व छ ।
मिर्मी पढ्न हिँड्दा विहान ५ रुपैयाँँले नपुगरे १० पाउन कुर्दाको बच्चापन, जुत्ता नटिकेर तिलक साहुकोमा कमल सरको छोरा हुँ भन्दा पाएको नयाँ जुत्ता, ६ कक्षासम्मको मेरो अध्ययन सन्तोषजनक नभई हर्मिचौर पढ्न आएका दिन, पुरानो घरको कोठामा हजुरलाई चिल्लो लगाएर ढोगेर सुतेका दिन अनि सँगसँँगै सुत्र घोक्दा हजुरले फेरी भन भनी दिएको ममता झलझली आउछँ बुवा । आज एक सन्तानको बुवा भएर हजुरलाई सम्झिन्छु, छोराले सँगै सुत्न खोज्दा, म काठमण्डुबाट फर्केर हजुरसँँँग रातसम्म बसेर गरेका गफ र कहिलेकाँहि हजुरसँगै कुनामा सुतेका दिन । जति छोराले नयाँ व्यवहार देखाउँँदै जान्छ, त्यति म हजरुलाई सम्झन्छु । बुवाको दर्जा आज जुन पाएको छु त्यसले हजुरको महत्व बढाएको छ । आजसम्म मभित्र जे जे मानवीय पक्ष छन, ती सवै हजुरका संस्कार हुन् । डर मलाई त्यसमा छ जति मलाई हजुरले दिनु भो मैले यो सन्तानलाई दिन सकूँला वा नसकूँँला भनी । साना साना चिजमा पनि हजुरलाई नसोधी म अगाडी बढ्न सक्दिनँ, बढेको छैन, मैले कमाएको सम्पत्ती सायद यही हो । तपाईको आवाजले मलाई उर्जा दिन्छ अनि दायित्व थपिदिन्छ र मान्छे बन्न सिकाएको छ । त्यो पिताप्रति मेरो चरण स्पर्श ढोग छ ।
मैले हजुरलाई, कहिल्यै भावनामा बोलेको देखिनँ, उत्तेजनामा बोलेको देखिनँ, आडम्वर त कहिल्यै भेटिनँ । बुवा मिल्छ भने ती सबै गुण मलाई सापटी दिनुस न । धेरैले रामुमा बुवाको अमेट्य छाप छ भन्छन् मलाई र हजुरलाई चिन्नेहरूले, तर मलाई छाप मात्रै होइन हस्ताक्षर सक्कलि लिनुछ । आजसम्म कमल सरको छोरा भनी चिनिँँदा आनन्द लाग्यो, अब रामुको बुवा भनी चिनाउन प्रयत्नरत छु । हजुरलाई जित्न त सक्दिनँ होला, प्रयास भने गर्दैछु । एउटा पितालाई मुर्ख पुत्र हुँदा पोल्ने आगोले शरीरलाई जसरी जलाउँँछ, त्यस्तो हुन दिन्न बुवा । हजुरप्रतिको श्रद्धा, स्नेह कदापी घट्ने छैन बरु हजुरको उमेर र आवश्यकतानुसार बढ्ने छ । हाम्रो सम्बन्ध सधैँ यस्तै नमुना बनोस्, यहि पत्र हजुरलाई कोसेली ।

उही हजुरको छोरा
रामु पाण्डेय
(लेखक शिक्षण पेशामा आवद्ध व्यक्ति हुन्)

 

:2477 Views

Leave a Reply