बेलायतमा बन्यो नेपाली ढिकी

गोल्डेन गेटले बनायो बेलायती मेशिन–औजार

ब्रिटिश काउन्सिलको ईन्टरनेशनल स्कूल अवार्ड (आईएसए) प्रोजेक्ट अन्तर्गत बेलायतको वेल्समा अवस्थित टार्भेन्स्पाईट सिपी स्कूल र महाकालीस्थान, भक्तपुरमा अवस्थित गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूलका कक्षा ६ र ७ का विद्यार्थीहरुले अन्तर्राष्ट्रिय सहकार्य गर्दै दुबै देशमा प्रचलित परम्परागत सरल यन्त्रको विषयमा गहन खोजी गर्ने, अध्ययन गर्ने, नवप्रवर्तन सहित पूनर्निर्माण गर्ने र प्रस्तुतीकरण गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ ।

बेलायती विद्यालयको तर्फबाट प्रोजेक्ट हेड जुली हाउङ्गटनले र गोल्डेन गेटबाट प्रोजेक्ट लीड टिचर गीता गुरुङ र आईएसए कोअर्डिनेटर शिव श्रेष्ठले विद्यार्थीहरुलाई गराईको अनुभवमा आधारित सिकाईको यो यात्रामा संलग्न गराएका थिए ।

बेलायती विद्यार्थीहरुले नेपालमा प्रचलित ढिकीको विषयमा अन्वेषण गरी विभिन्न मोडेलका मिनिएचरहरु निर्माण गरेका थिए भने बेलायती परम्परागत प्रविधीका ड्रब्रिज, पौराणिक कार, आदि थुप्रै उपकरणहरु निर्माण गरेका थिए ।

त्यसै गरी गोल्डेन गेटका विद्यार्थीहरुले भने बेलायती ईनारको विषयमा खोज् गरी आकर्षक मिनिएचर बनाएका थिए भने नेपाली परम्परागत प्रविधिमा प्रयुक्त तुईन, हँसिया, खुकुरी, ढिकी, जाँतो, कुचो, कोदालो, चुप्पी, बेलन, आदिको खोज तथा अध्ययन गरी मिनिएचरहरु बनाएका थिए ।

सिङ्गो विश्व कोभिड–१९ महामारीको दोस्रो लहरको कारणबाट ठप्प रहेको विषम परिस्थितीका बीच दुवै देशका विद्यालयका विद्यार्थीहरुले बैशाख ३० गते प्रोजेक्ट अन्तर्गत गरिएको आ–आफ्ना अध्ययन, अनुसन्धान, सिकाई, डिजाईन र निर्माणलाई भर्चुअल माध्यमबाट शेयर गरेका थिए । उक्त कार्यक्रममा गोल्डेन गेटका विद्यार्थीहरुको खोज, निर्माण र प्रस्तुतीलाई बेलायती प्रोजेक्ट हेड जुली हाउङ्गटनले मुक्त कण्ठले प्रशंसा गरिन् भने बेलायती विद्यार्थीहरु पनि अत्यन्त चासो र उत्साहका साथ सहभागि भए । बेलायती टार्भेन्स्पाईट विद्यालयका विद्यार्थीहरुको परियोजना कार्य र प्रस्तुतीबाट पनि गोल्डेन गेटका विद्यार्थी लगायतका सम्पूर्ण सहभागी टिम अत्यन्त प्रभावित भएको थियो । दुवै देशका विद्यालयहरुबीचको यो सहकार्य भविष्यमा अझ उचाईमा लाने प्रतिबद्धता सहित प्राफेशनल पार्टनरशिप कार्यक्रम अन्तर्गत एक अर्कालाई आ–आफ्नो देशमा स्वागत गर्न आतुर भएको भावना समेत प्रकट गरिएको थियो । गोल्डेन गेटका प्रिन्सिपल तथा को–फाउण्डर सिङ्ग लामाले ब्रिटिश काउन्सिलको आईएस्ए अवार्डस्को माध्यमबाट विद्यालयले अंगिकार गरेको एक्काईसौं शताब्दी अनुसारको प्रोग्रेसिव एजुकेशनको बाटोलाई सहज बनाउने मात्र नभई शिक्षामा अन्तर्राष्ट्रिय आयाम थप्ने उत्कृष्ट अवसर समेत प्राप्त भएको बताए ।

 

 

 

:180 Views

Leave a Reply