भर्खरै एसईई दिएका विद्यार्थीलाई के गर्ने सुझाव दिनुहुन्छ?

यसपालिको एसईई परीक्षा पनि सकियो । एसईई सकिएसँगसँगै लाखौँ विद्यार्थीहरूको तनाव पनि सकिन्छ, अभिभावकहरूको चिन्ता पनि अन्त हुन्छ । विद्यालयको पीर पनि पार लाग्छ । अहिलेसम्मको व्यवस्थाअनुसार नेपालमा एसईई परीक्षाको नतिजा आउन लगभग ३ महिना लाग्छ । यो तीन महिना १३ वर्षे भारी बिसाएका विद्यार्थीहरूका लागि सबैभन्दा खास हुन्छ । किनकि सबैले भन्ने गरे जस्तो जन्मदेखिको बल निकालेर फलामे ढोकाको सामना गरेका छन् उनीहरूले । त्यसैले थाकेका छन् हरेक किसिमले । उनीहरू आराम गर्न चाहन्छन्, कयौँ महिनादेखिको अपूरो निद्रा सुत्न चाहन्छन् । कहिलेदेखि जान नपाएको मामाघर जान चाहन्छन् । महिनौँदेखि खोसिएको मोबाइल र ल्यापटप अनि आइप्याड खेल्न चाहन्छन् । सधैँ ‘पढ पढ’ भन्दा भन्दा कर्कस लागिसकेको बाबुआमाको बोलीमा मायाको मिठास सुन्न चाहन्छन् । गाली गर्नेबाट सफलताको सुभेच्छा सुन्न चाहन्छन् । ‘अब त एसईई दिइस्, ठूलो भइस्’ भन्ने अभिव्यक्ति पाउन चाहन्छन् । उनीहरू पिँजडाबाट मुक्त पंछीजस्तो स्वच्छन्द महसुस गर्न चाहन्छन्, स्वतन्त्र बन्न चाहन्छन् ।

उनीहरूलाई एसईई परीक्षापछि केही समय त्यस्तो गर्ने अनुमति र सहमति दिइनुपर्छ । किनकि हामीले नै उनीहरूलाई एसईई परीक्षा त्यति बोझिलो बनाइ दिएका हौँ । उनीहरूमाथि दबाव हामीले नै थोपरेका हौँ । एसईईलाई फलामे गेट हामीले भनेका हौँ जसलाई पार गरेपछि ठूलो भइन्छ हामीले नै भनेका हौँ । एसईईबारे हाउगुजी हामीले नै फैलाएका हौँ । त्यसपछिको समय स्वतन्त्र होइन्छ भनी उनीहरूलाई आश्वस्त पनि हामीले नै पारेका हौँ । त्यसैले आफूलाई झुटो नबनाउन पनि उनीहरूलाई स्वतन्त्र छोड्नु हाम्रो दायित्व र बाध्यता हो ।

तर हप्ता दश दिनको आराम र घुमफिरपछि उनीहरूलाई भविष्यका बारेमा सचेत गराउने काम गर्नुपर्ने जानकारहरू बताउँछन् । उनीहरूलाई अनुभवी शिक्षाकर्मीहरूको सुझाव यस्ता छन् ।

प्रभालक्ष्मी अमात्य
प्रधानाध्यापक, लुभू माध्यमिक
विद्यालय,लुभू, ललितपुर

विद्यार्थीको सबैभन्दा फुर्सदिलो समय भनेको नै एसईईपछिको बिदाको समय हो । विद्यार्थीको इच्छा फरक–फरक हुने भएकाले उनीहरूले आफ्नो रुचिअनुसार आफ्नो लक्ष्य पूरा गर्न यो बिदाको उपयोग पूर्व कार्य तयारीमा लगाउनुपर्छ । खेलकुदमा रुचि भएका विद्यार्थीले खेलकुदमा लाग्न सकिन्छ भने संगीतमा रुचि हुनेहरूले संगीत कक्षामा सहभागिता जनाउन सक्छन् ।

उनीहरूले भविष्य निर्माणको सुरुवात यहि समयबाट गर्ने हो । अहिलेको आइटी (सुचना–प्रविधिको) समयमा उनीहरूले कम्प्युटर कक्षा पनि अनिवार्य लिनुपर्छ । अहिलेका विद्यार्थीहरू प्रविधिमा पछाडि पर्नु हुँदैन । त्यसैले पनि उनीहरू प्रविधिका विषयमा जानकार र नयाँ प्रविधिमा भिज्न सक्ने हुनुपर्छ । अहिलेको विद्यार्थीमा सामाजिक कार्यको भावना कम देखिन्छ । उनीहरू आफ्नै तालमा या अझ मोबाइलको प्रयोगमा बढी समय खर्चिने गर्दछन् । त्यसमा केही कम गर्न पनि उनीहरूलाई रचनात्मक कार्यमा लगाइनुपर्छ । विद्यार्थीहरूलाई सामाजिक कार्य जस्तैः लागू पदार्थ दुव्र्यसन र साइबर अपराध रोक्न जनचेतना, वातावरण सरसफाई जस्ता कार्यमा लगाई समाज सुधारमा गराउन प्रेरित गर्नुपर्छ ।

सन्दिप नेपाली
प्रिन्सिपल, चन्तल माउजुइट एकेडेमी
गोदावरी, ललितपुर

एसईईपछि विद्यार्थीले ३ महिना फुर्सद पाउँछन् । त्यो फुर्सदको समयमा विद्यार्थीहरूले आफ्ना रचिका विषयमा तयारी गर्न सक्छन् । तर त्योभन्दा पनि अझ उनीहरूले पेशागत तालिम लिनुपर्छ । यो बिदामा उनीहरूले किताबी ज्ञानभन्दा पनि जीवन उपयोगी सिप सिक्नु आवश्यक छ ।

कक्षा १० को पढाई सक्दासम्म पनि उनीहरूको हातमा केही सिप हुँदैन । उनीहरूमा बोल्ने सिप पनि कम छ । अहिले कम्प्युटर नै सिक्नुपर्छ भन्ने छैन । उनीहरूले पेशागता कार्य मेकअप कला, डिजाइन जस्ता विषयमा पनि तालिम लिएर आफूलाई सिपवान तथा दक्ष बनाउनुपर्छ । त्यस्तै उनीहरूले बोल्ने तालिम पनि लिन सक्छन् ।

इश्वरमान ब्रजाचार्य,
प्रधानाध्यापक, पाटन माध्यमिक विद्यालय,
पाटनढोका, ललितपुर

विदेश जाने इच्छा राख्ने विद्यार्थीले एसईईपछिको बिदामा विदेशी भाषाहरू सिकेर त्यसलाई पछि सहज रूपमा उपयोग गर्नुपर्छ ।

त्यस्तै कुनै विषयमा कमजोर हुनुभएका विद्यार्थीले आफ्नो कमजोर विषय पहिचान गरी त्यस विषयको लागि पुनः तयारी गर्न सक्छन् । पछि नतिजामा कम अंक आएर त्यो समयमा तयारी गर्नुभन्दा बिदा र फुर्सदको समयलाई सदुपयोग गरी त्यस विषयमा ध्यान दिन सकिन्छ । त्यस्तै आफूलाई रुचि लाग्ने गितार, संगीत जस्ता विषयको कक्षा पनि लिन सकिन्छ ।

मोहनप्रसाद सिंह
प्रधानाध्यापक, आदर्श कन्या निकेतन माध्यमिक विद्यालय,
मंगलबजार, ललितपुर

वर्तमान अवस्थामा कम्प्युटरको प्रयोग नजानी काम गर्न एकदमै कठिन छ । सरकारले नै कक्षा ६ देखि कक्षा ८ सम्मलाई कम्प्युटर कक्षा राखिदिएको छ । तर कक्षा ९ र १० लाई कम्प्युटर कक्षा अनिवार्य नगरेकोले गर्दा त्यसले गर्दा बिचमा धेरै विषय छुट्ने हुन्छ ।

विद्यार्थीहरूले स्कुलमा कक्षा ८ सम्म कम्प्युटरको बारेमा सामान्य जानकारी मात्र पाएका हुन्छन् । कम्प्युटरको प्रयोगदेखि त्यसमा गर्न सकिने विभिन्न कार्यका बारेमा जानकारी र त्यसलाई प्रयोगमा ल्याउन सिकाउने किसिमको कक्षा उनीहरूले लिनुपर्छ । त्यस्तै निश्चित विषय पढ्ने योजना र आर्थिक रूपमा सक्षम भएका विद्यार्थीले एसईईपछिको पढाई सजिलो बनाउन बिज्र कोर्ष कक्षामा जान सक्छन् ।

गोविन्द पौडेल
प्रधानाध्यापक, मदन स्मारक माध्यमिक विद्यालय,
पुल्चोक, ललितपुर

एसईईसम्म विद्यार्थीहरूले पाठ्यक्रमका कुरा पढ्ने मात्र हुँदा परीक्षा सकिएपछिको बिदामा विद्यार्थीहरूले जीवन उपयोगी सिप सिक्नुपर्छ । जस्तै कफि बनाउने, प्लम्बिब, वायरिब, सिलाईबुनाई इत्यादी सिपमूलक कार्य सिकेमा पछि त्यो प्रयोगमा आउँछ ।

अधिकांश विद्यार्थीहरू कक्षा १२ पश्चात विदेशीने हुन्छन् । त्यस्ता विद्यार्थीले विभिन्न सिपमूलक तालिम लिएमा उनीहरूलाई त्यो सिप पछि गएर काम लाग्छ ।

विद्यार्थीले आफूले एसईई पछि कुन विषय लिएर अगाडि बढ्ने योजना बनाएका छन्, त्यहि विषयको तयारी गरी यो बिदालाई उनीहरूले उपयोगी बनाउनुपर्छ । विज्ञान पढ्ने योजना भएका विद्यार्थीले आफ्नो पछिका कक्षा सहज रूपमा लैजानको लागि ब्रिज कोर्ष लिन सक्छन् । त्यस्तै होटल म्यानेजमेन्ट पढ्ने इच्छा हुनेहरूले होटलका तालिम लिन सक्छन् ।

विद्यार्थी जुन विषयमा कमजोर छ त्यस विषयका तालिम सिक्न सकिन्छ । जस्तैः कम्प्युटरमा कमजोर भएका विद्यार्थीले कम्प्युटरको कक्षा लिनुपर्छ ।

दिलकुमार बन
प्रिन्सिपल, प्याराडाइज इब्लिश बोर्डिब स्कुल,
इटहरी, सुन्सरी

एसईईको ठूलो तनावबाट मुक्त भई विद्यार्थीले केही दिनको लागि आराम गर्छन् । त्यसप्रश्चात बिदामा उनीहरूले उच्च शिक्षाको लागि तयारी गर्नुपर्छ ।

विद्यार्थीहरूले अब एसईईपछिको यात्रा कसरी अगाडि बढाउने भन्ने विषयमा जानकार व्यक्तिहरूबाट सल्लाह र सुझाव लिनुपर्छ । र त्यहि अनुरूप आफूले तयार गर्नुपर्छ । हामी एसईईपछि उनीहरूलाई विद्यालयमा बोलाएर अभिप्रेरणा दिने कक्षा पनि सञ्चालन गर्छौँ । अहिलेको परीक्षा पढाईमा मात्र केन्द्रित भएकाले विद्यार्थीले आफ्नो परिवारसँग छलफल गरेर अभिभावकको सल्लाहबमोजिमको कार्य गर्न सक्छन् ।

लोकेन्द्र अर्याल
प्रिन्सिपल, एस.डी. सेकेन्डरी स्कुल,
सूर्यविनायक, भक्तपुर

एसईईसम्म एक तहको पढाई सकिएपछि अब कक्षा ११ र १२ को पढाईको लागि विद्यार्थीले तयारी गर्नुपर्छ । बिज्र कोर्षको नाममा अहिले ठगी भइरहेको छ । बिज्र कोर्षमा जानुभन्दा पनि विद्यार्थीले घरमा नै बसेर दिनको २ देखि ३ घण्टा सो विषयलाई मार्गनिर्देशन गर्ने किसिमको अतिरिक्त पुस्तक पढ्नुपर्छ ।

एसईईपछिको कक्षाका लागि विषय छनोट गर्नेमा उनीहरूलाई ज्ञान नहुन सक्छ । तर उनीहरूलाई म कुन विषयमा अब्बल छु र मेरो के गर्ने रुचि छ भन्ने थाहा हुन्छ । त्यहि आधारमा पनि के विषयका लागि तयार गर्ने भनेर उनीहरूलाई निर्णय गर्न सहज हुन्छ । तर अहिले हाम्रो पढाईसम्बन्धी संस्कार बिग्रदै गएको छ । पल्लो घरको दाइले ए प्लस ल्याएर विज्ञान संकाय पढ्यो र मेरो ए प्लस आयो भने म पनि त्यहि पढ्ने भन्ने लहैलहै पनि देखिन्छ । विद्यार्थीको क्षमता र दक्षताका आधारमा के पढ्ने भनेर विषय छनोट गर्नुपर्छ । एसईईपछिको खाली समयमा विद्यार्थीहरू साथीभाइको लहैलहै र कुलतमा लाग्ने सम्भावना हुन्छ । त्यसैले उनीहरूले यो बिदालाई दुरूप्रयोग भन्दा पनि सदुपयोग गर्न आफू कुन बाटोमा लाग्ने हो त्यहि अनुसार योजना बनाउनुपर्छ ।

अहिले अधिकांश विद्यार्थीहरू सामाजिक सञ्जालमा बढी घोरिएका छन् । यसबाट थोरै भएपनि टाढा राखेर अभिभावकहरूले उनीहरूलाई नैतिकताको शिक्षा दिनुपर्छ ।

:683 Views

Leave a Reply