भुटेको मासु खान दसैँमा मामाघर जान्थे

तनहुँ जिल्ला ढोरफिर्दी गाविस वडा नं ८ को अमराई गाउँमा मेरो जन्म भएको हो । दसैँ मेरो एकदमै मन पर्ने चाड हो । सानो छँदा मामाघर जान निकै रमाइलो लाग्थ्यो । त्यसमा पनि दसैँमा मामाघर जानुको त झन् छुट्टै मजा हुन्थ्यो । मामाघर जाँदा दुई–तीन घन्टा हिँडेर जानुपथ्र्यो । सकिनसकी भए पनि आमा र दाजुको पुच्छर लागेर मामाघर जान्थेँ । दसैँमा मामाघरमा भुटेको मासु पाक्थ्यो । भुटेको मासु मलाई असाध्यै मन पर्ने । त्यही भुटेको मासुले मलाई मामाघरतर्फ डोहो¥याउँथ्यो ।

अहिले पनि यस्ता कुरा सम्झँदा एउटा घटना दिमागमा आउँछ । एकपटक त्यही भुटेको मासु सम्झँदै मामाघर जाँदा ठूलो पानी प¥यो । बाटामा ओत लाग्ने ठाउँ कतै थिएन । बाटोमा भएको एउटा सानो गोठमा ओत लागेर बस्नुप¥यो । पानी रोकिँदै नरोकिएपछि निकै अत्तालिएका थियौँ । त्यही बेलामा हजुरबुबा हामीलाई छाता लिएर लिन आउँदा निकै खुसी भएका थियौँ । हजुरबुबाले छाता ओडाएर लैजानुभएको त्यो दिनको घटना अझै पनि बेलाबेलामा सम्झना आइरहन्छ ।

सानो छँदा राम्रो लुगा लगाउँदा, पिङ खेल्दा र मीठो–मीठो खानेकुरा खाँदाको रमाइलो नै छुट्टै किसिमको थियो । दशमीको दिनमा आफूभन्दा ठूला मान्यजनकहाँ गएर टीका थाप्न पाउँदा अहिले पनि उत्तिकै रमाइलो लाग्छ । आफ्नो नातेदार विशेषगरी १३ दिने दाजुभाइमा कसैको मृत्यु भएको बेला दसैँमा टीका लगाउन नपाउँदा भने निकै दुःख लाग्थ्यो । दसैँको प्रमुख विशेषता भन्नु नै दशमीको दिन आफूभन्दा ठूलाकहाँ गएर टीका लगाउनु हो जस्तो लाग्छ । हिन्दु धर्मावलम्बीले घटस्थापनादेखि दुर्गाभवानीको पूजा गर्छन् । नेपाली समुदायमा दशमीदेखि पूर्णिमाको पाँच दिनसम्म टीका लगाउने प्रचलन पनि छ ।

यसरी हेर्दा चाडपर्व भनेको टीका लगाउने र मीठो खाने मात्र नभएर एक– अर्कासँग भेटघाट गर्ने महत्वपूर्ण अवसर हो भन्ने लाग्छ । बाल्यकालको र अहिलेको दसैँ–तिहारमा मलाई निकै फरक अनुभूति हुन्छ । बाल्यकालमा राम्रा लुगा लगाउने, मीठो खाने र पिङ खेल्नेमा नै बढी आनन्द आउँथ्यो भने अहिले खानलाउनभन्दा घुमघाम र भेटघाटमा बढी रमाउन थालेको छु । हाल आएर भने दाजुभाइ, इष्टमित्र र छरछिमेकसँगको सम्बन्ध सुमधुर बनाउन यो चाडले सहयोग पु¥याएको जस्तो भान हुन्छ ।

वास्तवमा चाडपर्वलाई उमेरले प्रभाव पार्ने रहेछ । चाडपर्व आउँदा सबै उमेरमा रमाइलो गरिने भए पनि मनाउने शैली भने फरक हुदैं जाने मेरो अनुभवले बताउँछ ।

चाडपर्वले वास्तवमा टाढा रहेका आफन्तसँग मिलन गराउँछ । चाडपर्वका सबै सकारात्मक मात्र होइन, नकारात्मक पक्ष पनि प्रशस्त छन् । अनावश्यक खर्च र ऋण काढेर दसैँ–तिहार मनाउने गलत प्रचलनमा भने सुधार ल्याउनु आवश्यक छ । चाडपर्व  आफ्नो गच्छे र क्षमताअनुसार मनाउनुपर्छ । सानो छँदा दक्षिणा दिँदा निकै रमाइलो लागे पनि बुझ्दै आउने क्रममा भने टीका लगाउँदा लिनेदिने दक्षिणा परम्पराको भने अन्त्य गर्नुपर्छ । चाडपर्व भनेको मुख्यतया हाम्रो रहनसहन, परम्परा र संस्कार हो जसमा धर्म पनि जोडिएको छ ।

:1129 Views

Leave a Reply