महेन्द्र शान्ति माविको नवनिर्मित भवन हस्तान्तरण

भक्तपुर, ११ बैशाख । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको नयाँ भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । २०७२ साल बैशाख १२ र २९ गतेको महाभूकम्पबाट क्षति भएको ठाँउमा नवनिर्मित दुईतल्ले ४ कोठे पक्की भवन आइतबार विद्यालयलाई दिइएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्र्तगत भक्तपुर जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को ६२ लाख ४२ हजार रुपैयाँको लागतमा सो पक्की भवन तयार गरिएको थियो ।

सुर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले भवनको निर्माण सम्पन्न गरिएको प्रमाणपत्र विद्यालयका प्रधानाध्यापक गोपालविक्रम थापालाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष एवम् निर्माण समितिका अध्यक्ष हेमन्तकुमार कार्कीले विद्यालय निर्माणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय भवन हस्तान्तरण कार्यक्रममा भक्तपुर जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख डिल्लीश्वर प्रधान, शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख खेमनाथ पोखरेल, पुर्व प्रमुख हरिप्रसाद दाहाललगायतको सहभागीता थियो ।

 

:502 Views

Leave a Reply