‘यो नगरपालिका नै नेपालको त्यस्तो पहिलो नगरपालिका हुनेछ, जसले शिशुस्याहारदेखि विश्वविद्यालयसम्मको शिक्षा दिन्छ’: मेयर प्रजापति

ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय जिल्लाको भक्तपुरको सबैभन्दा जेठो नगरपालिका हो भक्तपुर। स्थानीय भाषामा ख्वप भनिने यो नगर नेपालको रोम शहरको रूपमा समेत परिचित छ। पोखरीहरूको शहर रुपमा समेत परिचित भक्तपुरलाई सिद्धपोखरी, नःपुखु, भाजुपोखरी, कमलपोखरीले शोभायमान बनाएका छन्। ’संस्कृतिको नगर’, ‘जीवित सम्पदा’, ‘नाचगानको राजधानी’ र ‘नेपालको सांस्कृतिक रत्न’को उपमासमेत पाएको यस नगरको जुजु धौ, कालो भादगाउँले टोपी, हाकुपटासी, माटोका भाँडा, हस्तकला, काष्ठकला विश्व प्रख्यात छन्। १२औँ शताब्दीमा राजा आनन्द मल्लबाट स्थापित भक्तपुर १५औँ शताब्दीसम्म मल्ल राज्यको राजधानी थियो। यहाँको दरवार स्क्वायर, न्यातपोल, दत्तात्रय परिसर विश्व सम्पदा सूचीमा सूचीकृत छन्।

यतिमात्र नभएर भक्तपुर भन्नेबित्तिक्कै शिक्षाको पनि केन्द्रको रुपमा चिनिएको नगरपालिका हो । शिक्षामा राम्रो गरिरहेको नगरपालिकाहरुमध्ये अग्रस्थानमा रहेको यो नगरपालिकाका मेयर सुनिल प्रजापतिसँग गरिएको कुराकानी :

विगत १७ महिनामा भक्तपुर नगरपालिकाले शिक्षाको क्षेत्रमा के–कस्ता काम गरेको छ?
भक्तपुर नगरपालिकाले शिक्षामै बढी जोड दिइरहेको छ । हामी आइसकेपछि स्थानीय सरकार ऐन बन्यो र त्यसपछि माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई जिम्मा दिएपछि त्यसलाई हामीले हेर्यौं । स्थानीय पाठ्यक्रम राख्ने अधिकार त्यसमा दिएको रहेछ। त्यसैले यहाँका शिक्षक र शिक्षाविद्लाई पटक पटक भेला गर्यौं र स्थानीय विषयमा केही न केही गर्नुपर्छ । हामीसँग यहाँ जन्मे हुर्केका स्थानीय राजनैतिक नेता, कार्यकर्ता, संस्कृतिविद्हरुलाई स्थानीय पाठ्यक्रमद्वारा जानकारी गराउनुपर्छ भनेर त्यसको तयारीमा लाग्यौं र त्यहीअनुसार यो शैक्षिक सत्रबाट सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्यौं । पाठ्यक्रममा स्थानीय चाडपर्वदेखि लिएर भूगोल, राजनिति र इतिहास, आन्दोलन, खेललाई समावेश गरेका छौ । हाम्रो नगरमा ९२ वटा विद्यालय छन् जसमा ३५ वटा सरकारी विद्यालय छन् । पाठ्यक्रम अनुसार कक्षा ८ को परीक्षा नगरपालिकाले नै लिने प्रावधान आयो । सबै शिक्षकलाई समेट्ने गरी समूह बनाइदियौं र उहाँहरुले नै प्रश्नपत्र बनाउनेदेखि लिएर अनुगमन, व्यवस्थापन गर्नुभयो र सफलतापुर्वक त्यो सम्पन्न भयो ।

त्यसैगरी यहाँ सामुदायिक र संस्थागत विद्यालयबिचका शैक्षिकस्तरमा भिन्नता छ । त्यो भिन्नतालाई कसरी हटाउने भनेर हाम्रो ध्यान विशेषगरी सरकारी विद्यालयतिर गएको छ । त्यहाँ पनि तल्लो कक्षाबाट नै स्तर सुधार गर्नुपर्छ भनेर मन्टेश्वरी तालिम दियौं । सबै विद्यालयका शिक्षिकाहरुलाई राखेर यो विधिबाट हामीले पढाउनुपर्छ, व्यवहारिक हिसाबले पढाउनुपर्छ भनेर तालिम दिएपछि ६ महिनासम्मको निरन्तर अनुगमनको व्यवस्था गर्यौं ।

शिक्षकले राम्रोसँग काम नगरेसम्म विद्यार्थी राम्रो हुँदैन । त्यसैले शिक्षकलाई तालिमको व्यवस्था गर्ने विषयमा हामीले सोचिरहेका छौं । कलेज कै हिसाबमा भन्ने हो भने पनि अहिले इतिहास, संस्कृति, जोग्राफी पढ्नेहरुको अभाव छ । त्यसकारण गएको हाम्रो तेस्रो सभामा नीति तथा कार्यक्रममा हामीले संस्कृति, जोग्राफी, इतिहास, नेपालभाषा जुन विषयमा विद्यार्थीहरुको आकर्षण अत्यन्त कम छ, त्यसलाई आकर्षित कसरी बनाउने भन्ने सोचले त्यस्ता विषय लिएर पढ्ने विद्यार्थीलाई निश्चित रकम छात्रवृत्तिको रुपमा बन्दोबस्त गर्छौं भन्ने घोषणा गर्यौं । त्यो कार्यविधि बन्दै छ । कार्यविधि आउने बित्तिकै हामी अगाडि बढाउँछौं । त्यसैगरी आर्थिक रुपमा कमजोर भएका विद्यार्थीले पढ्न सक्दैनन् । आर्थिक कारणले पढ्न नसक्ने विद्यार्थीलाई उसको प्रमाणपत्र धितो लिएर हामी रु ५ लाखसम्म शैक्षिक ऋण प्रदान गर्छौ । यसको कार्यविधि पनि बन्दै छ ।यसरी हेर्दा भक्तपुर नगरपालिकाले अहिले शैक्षिक क्षेत्रमा यो हिसाबले अगाडि बढाउने कोसिस गरिराखेको छ ।

भक्तपुर नगरपालिका भन्ने बित्तिकै शिक्षा क्षेत्रमा नमूना नगरपालिका । यसले राम्रो गर्छ भन्ने खालको जुन बुझाइ छ, तपार्इंहरुले गरिराख्नु जुन अभ्यास छ, राम्रो गर्ने चाह र हौस्याउने कुरा चाहिँ के रहेछ?
यो अनुशासन, पारदर्शिता, नेपाल मजुदर किसान पार्टीले सिकाएको शिक्षा भनौं । हरेक काम जनताको बिचमा गएर, जनतालाई देखाएर, जनताको सहयोग लिएर काम गर्नुपर्छ भन्ने जुन लाइन पार्टीले दिइरहेको छ। हामीले घोषणापत्रमा पनि त्यहि कुरा भन्यौ । हामी जति गर्न सक्छौं त्यति मात्र बोल्छौं । गर्न नसक्ने कुरा बोल्दै नबोल्नु । जे बोलेका छौ त्यो गरेरै छाड्यौ भनेर लाग्यौं ।

जस्तो २०५६ सालमा ख्वप उच्च माविको स्थापना गर्यौं । त्यो सुरुवाती एक पाइला मात्र थियो । अहिलेसम्म १९ वर्षपछि हेर्दा नगरपालिकाको ६ वटा त कलेज नै भइसकेको छ । ६ वटा शिशुस्याहार केन्द्रहरु छ । एउटा कक्षा ११ र १२ सञ्चालन भएको मावि नै छ । त्यो माविमा मात्रै अहिले २५ सय विद्यार्थीहरु पढ्छन् । अहिले ५० भन्दा बढी जिल्लाका विद्यार्थीहरु त्यहाँ पढिरहेका छन् । इञ्जिनियरिङ कलेजमा ६५ जिल्लाका विद्यार्थीहरु पढिरहेका छन् । यो हिसाबले भन्दा देशभरि कै सेवा नगरपालिकाले गरिरहेको छ । त्यसकारण हामीलाई प्रेरणा, उत्साह दिने भनेको नेपाल मजदुर किसान पार्टीले नै हो । एक कार्यकर्ताको हिसाबले हामीले आफ्नो अनुशासनको पालना गर्यौं, हाम्रो पार्टीको जो बसेपनि यो भन्दा फरक हुँदैन। अझ अगाडि बढाउने कोसिस गर्छौं । हामी अरुले जस्तो बोल्ने एउटा काम गर्ने अर्को गर्दैनौं । अहिले पनि स–साना कुराबाट सुरु गरिराखेका छौं । धेरै ठूला ठूला कल्पना गरेर गर्नै नसक्ने प्रचार गरिसकेपछि समस्या हुन्छ र हामी त्यो गर्दैनौं । अहिले पनि जति गर्न सक्छौं, लामो समय छलफल गरिसकेपछि एउटा निस्कर्ष निकाल्छौं र त्यो काम गर्छौ । यहि क्रममा शिक्षामा जसरी अरु क्षेत्रमा पनि त्यसरी नै काम गरिरहेका हुन्छौं ।

समग्रमा भक्तपुर नगरपालिकाको शैक्षिक अवस्था सन्तोषजनक पाउनुुहुन्छ कि हुन्न?
सन्तोष अध्ययनको शत्रु हो भनेर माओले भन्नुभएको छ । सन्तोष लिने ठाउँ त छैन । त्यो हिसाबले विभिन्न सरकारी स्कुलको शैक्षिकस्तर जुन रुपमा उठ्नुपर्ने हो उठिरहेको छैन ।

त्यसको कारण चाहिँ के ?
कारण यस्तो छ, कतिपय शिक्षकहरु अनुभवी त हुनुहुन्छ, तालिम प्राप्त पनि हुनुहुन्छ तर स्थायी भए । अब मेरो २ वर्ष, ४ वर्ष बाँकी छ भन्ने त्यो हिसाबले पनि सायद् अलिकति कमि आएको हुनसक्छ । उर्जावान् युवाहरुलाई भर्ना गरेको भए त्यो कम हुन्थ्यो । किनभने अहिले थोरै पैसा लिएर पनि निजी विद्यालयले राम्रा राम्रा विद्यार्थीहरु उत्पादन गरिरहेका छन् । त्यो तुलनामा (सबै हैनन्) कतिपय सरकारी विद्यालय असाध्यै राम्रा छन्, देशकै नमुनाका रुपमा छन् । कतिपय विद्यालयमा स्तर कमजोर छ, त्यसैले पनि यो वर्ष हामीले ८–१० वटा शिक्षकहरुलाई स्थानान्तरण पनि गर्याैं, एकआपसमा सरुवा पनि गर्यौं । फेरि पनि हामी गर्दैछौं । विस्तारै शिक्षकहरुलाई सरुवा गरेर एकआपसमा अनुभव बाँड्ने, नत्र विद्यार्थी कम छन्, शिक्षक बढी छन् । अनि विद्यार्थी धरै छन्, शिक्षक कम छन्, दुईवटै गलत हो । त्यसलाई समानुपातिक रुपमा कसरी मिलाउने ? त्यो व्यवस्थापन गर्ने कोशिस हामी गरिरहेका छौं ।

शिक्षाको जगको रुपमा रहेको इसिडीलाई तालिमको कुरा गर्नुभयो, कतिवटा इसिडी छन्, नगरपालिकाभित्र ?
हामीकहाँ जम्मा ३५ वटा इसिडीहरु छन् । ३५ वटामा ४२ कोटा छन् हामीसँग । यहाँ केही अफ्ठ्याराहरु छन्, इसिडी सञ्चालनको क्रममा । नियमानुसार २० विद्यार्थी बराबर एक शिक्षक राख्नुपर्ने, अब यहाँ ३०÷४० जनालाई पनि एक जना मात्र दिइरहेको छ । निजी स्रोतले सञ्चालन गर्न नसकेको भए, त्यो सम्भव हुने थिएन, जेहोस् जसोतसो चलिरहेका छन् । आजभन्दा १० वर्षभन्दा अघि जति कोटा दिएको थियो, त्योबाहेक थप भएको छैन । त्यसमा पनि पहिला १८ सय, ३ हजार गर्दै अहिले जम्मा ६ हजार पुर्याएको छ । दिनको २०० रुपियाँले त चिया खान पनि पुग्दैन ।

अरु नगरपालिकाहरुले इसिडीका लागि २ हजार, १५ सयका दरले शिक्षकहरुलाई प्रोत्साहन स्वरुप नगदै दिएको अवस्था छ, तपाईंहरुले पनि केही गर्नुभएको छ कि ?
हामीले गरेका छैनौं, हामीले त्यो एक दुई हजार थप्नुभन्दा तालिमप्राप्त बनाउने, व्यवस्थित गर्ने, त्यसपछि कमसेकम पनि अब अरु सरह नै कसरी लान सकिन्छ भन्ने विषयमा ध्यान दिइरहेका छौं । नगरपालिकाको क्षमता पनि हेर्नुपर्यो । कति जना छन् भनेर हामीले हेर्यांै, ४२ जना हुनुहुन्छ । ४२ जनाको आआफ्नै समस्या त छ नै । त्यसमा नगरपालिकाले के गर्न सक्छ भनेर अध्ययन चाहिँ भएको छ, तर घोषणा गरेका छैनौं । जे सम्भव छ त्यो गरौंला तर उहाँहरुको माग के छ भने न्यूनत्तम तलब चाहिँ दिनुपर्छ ।

अरु विद्यालयको अनुगमनका लागि के गर्नुभएको छ ?
त्यसको लागि नगरपालिकाले आर्थिक सहयोगका लागि केही गर्नुपर्छ कि भन्ने हिसाबले पनि अनुगमन भइरहेको छ । कसैले शौचालय, कसैले पुस्तकालय, भवन निर्माणको हिसाबले अनुगमन भइरहेको छ । अनुगमनको निम्ति एउटा अनुगमन समिति नै बनाउने विषयमा छलफल भइरहेको छ, हाम्रो उकेश कवांको संयोजकत्वमा एउटा अनुगमन कमिटि छ ।

अनुगमनमा जाँदा पनि नजाँदा पनि भौतिक पूर्वाधारकै माग बढी आउँदो रहेछ, शिक्षा सुधार्ने माग चाहिँ किन नआएको होला ?
सरकारी स्कुललाई हेर्ने हो भने ९९ प्रतिशत शिक्षकहरु तालिम प्राप्त छन्। एकाधबाहेक सबै तालिम प्राप्त नै छन् । अनि भौतिक सुविधाको हिसाबले शौचालय, किचेन, पुस्तकालयका कुराहरु कतिपय ठाउँमा कमजोरै छन् ।

त्यसैले हामीले अनुगमन गरेर शौचालय निर्माणका लागि भनेर या वर्ष ८ वटा विद्यालयलाई रकम दिने निर्णय पनि भइसकेको छ । भौतिक हिसाबले नेपाल सरकारले दिने पैसा पनि त्यहाँ दिने निर्णय भइसकेका छन् । अरु पनि शैक्षिक विकासको निम्ति भनेर राखिएको बजेटलाई विनियोजन गरेर उहाँहरुलाई पठाइदिन्छौं, अनुगमन गरेर मात्र पठाउँछौं । विद्यार्थी संख्या नै नभएको ठाउँमा त्यो पैसा लगानी गरेर त फाइदा छैन । जहाँ आवश्यकता, त्यहाँ प्राथमिकता हो ।

शिक्षा दुई तरिकाले चलिरहेको अवस्था छ, एउटा संस्थागत रुपमा, अर्को सरकारी रुपमा । नगरपालिकाले स्वभािवक रुपमा सरकारीलाई नै प्राथमिकता दिँदा, संस्थागतहरुमाथि पक्षपात गरिएको भन्ने गुनासो छ नि ?
त्यस्तो हुँदैन । यहाँ अरु ठाउँमा भन्दा अलिकति फरक छ । निजी क्षेत्रलाई पनि हामीले हरेक कुरामा समावेश गरेका छौं । जस्तो हामीले अन्तर विद्यालय खेलकुद प्रतियोगिता गर्यौं, त्यसमा उहाँहरुलाई पनि सहभागी गरायौं र जति हिसाबले एटा स्कुल बराबर साढे ६ हजारको दरले सामान उपलब्ध गरायौं । गएको वर्ष पनि हामीले साढे नौहजारको दरले उपलब्ध गरायौं । गत वर्ष ४७ वटा स्कुललाई सहयोग गर्यौं, यो वर्ष ७० वटालाई गर्यौं । त्यसमा निजी विद्यालय नै धेरै छन् । निजी र सरकारीमा हामीले भेद गरेका छैनौं । प्रतिस्पर्धीहरु त बराबर हुनुपर्यो । अहिले निजी स्कुल राम्रा छन् भनेर हैन कि सरकारी स्कुलमा पनि त्यत्तिक्कै राम्रा विद्यार्थी छन् । तिनीहरुलाई एक ठाउँमा राखेपछि अघि बढ्छ । प्रतिस्पर्धाको भावना बढ्छ, प्राइभेटलाई पनि हामी जित्छौं । प्राइभेटले पनि के सोच्छ भने सरकारीलाई पनि हामी जित्छौं । त्यो हिसाबले पनि यी सबै विषय दिइरहेका छौं । हामीले भेद गरेका छैनौं ।शैक्षिक स्तरमा विभेद नहोस् भनेर सामुदायिक विद्यालयलाई नगरपालिकाले प्राथमिकता दिएको छ ।

शिक्षकहरुको कारण सामुदायिक विद्यालय आलोचित भएको अवस्था पनि छ, शिक्षकहरुको मनोबल बढाउनका लागि चाहिँ के गर्नुभएको छ ?
अनुशासनलाई ध्यानमा राख्ने हिसाबले शिक्षकलाई नै सरुवा गर्ने काम भएको छ । त्यस्तै गरी तालिम दिने कुरामा पनि हामी अघि छौं । पाठ्यक्रममको विषयमा बढी केन्द्रित हुनुपर्छ, निजी क्षेत्रलाई भन्दा सरकारी क्षेत्रका शिक्षकलाई नै प्राथमिकता दिएर अघि बढिरहेका छौं । हाम्रो क्षमताले भ्याएसम्म, हाम्रो कार्ययोजनामा केही कार्यक्रम समेटेका छौं । सरकारी स्कुललाई निजी स्कुलसरह माथि उठाउने कोसिस गरिरहेका छौं ।

स्थानीय पाठ्क्रम लागू भएको पनि एक वर्ष बित्ने क्रममा छ, यसको नतिजा केही आउने क्रममा छ ?
छ, जस्तो कि यो वर्ष गाईजात्रा हुनुभन्दा अघि नै विद्यालयहरुमा घिन्ताङ्घिसी सुरु भयो, सरमिसहरु त्यो नाच नाच्नुभयो । गाथामग चर्हे आउनुभन्दा अघि नै बच्चाहरु खेल्न थाले । स्थानीय खेलको प्रतियोगिता नै गरिसकेपछि धेरै स्कुलका विद्यार्थीहरुले कसिपायँचामा प्रतिस्पर्धा गरे । रिजल्ट भनेको यसैगरी नै हो, प्रयोग गरेर हेर्ने । लापोन्मुख भएको कुरालाई उजागर गरेर जनताको सामु राखिदियो,अब त्यसले जिवन्तता पाएको छ । सुरुवात गर्दा सानोबाटै गरेका हौं । लोप हुन लागेको खेल बच्चाहरुलाई सिकाएपछि त २०/३० वर्ष निरन्तरता पाउँछ ।

स्थानीय पाठ्क्रमको सन्दर्भमा पाठ्यपुस्तक नबन्दा शिक्षकहरुलाई गाह्रो भइरहेको छ नि ?
अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पाठ्क्रमकै आधारमा पढाउने हो । यहाँका शिक्षकहरु त पाठ्यपुस्तकमा जे छ त्यो पढाउने बानी परेकाहरु छन् । विद्यार्थीलाई पढाउनुभन्दा अघि शिक्षकले पढ्नुपर्छ भन्ने बानी बसाल्नका लागि कोशिस गरिरहेका छौं । तपाईं त्यो पुस्तकालयमा गएर,यो यो रेफ्रेन्स बुक पढ्नुस्, अनि केही गरी चित्र देखाउनुपर्यो भने पेनड्राइभमै सबै दिइसकेका छौं, फोटाहरु दिइसकेका छौं, जीवनीहरु प्नि प्रकाशित गरी यो यो अंक पढ्नुस्, यो यो पत्रिका पढ्नुस् भनेका छौं । त्यसका कतिपय कुराहरु उहाँहरु आफैलाई जानकारी भएका विषयहरु पनि छन् । चाडपर्वको विषयमा हामीले भनिरहनु पर्दैछ । त्यसकारण पाठ्यपुस्तक नै चाहिन्छ भनेर थोरैले मात्र भनेका छन् । कुनै समय पाठ्यपुस्तक विना नै पाठ्यक्रमको आधारमा पढाउने दिन आउँछ ।

यो नगरपालिकाको शैक्षिक सपना चाहिँ कस्तो छ ?
एउटै वाक्यमा भन्ने हो भने शिशुस्याहारदेखि विश्वविद्यालयसम्मको शिक्षा नगरपालिकाले दिन्छ । त्यो हिसाबले हामी लागिरहेका छौं ।

त्यसको लागि गर्नुपर्ने कामको तयारी भइरहेको छ त ?
छ, हाम्रो तयारी छ । विभिन्न जिल्लाका विद्यार्थीले विश्वास गरेका छन्, अभिभावकहरुको विश्वास छ, सँगसँगै विधेयक पास गर्नका लागि घच्घच्याइरहेका छौं । पहिले नै संसदमा पुगिसेको थियो । मन्त्रीले त्यहाँ पेश गरेपछि अगाडि बढ्ने कुरामा सरकारले दिएन। एकदिन त दिन्छ नै ।

विश्वविद्यालय सञ्चालनको अधिकार त स्थानीय तहलाई छैन नि, त्यो चुनौतिको कुरा हो, त्यसका लागि त ठूलै संघर्ष गर्नुपर्छ होला कि ?
चुनौतिपूर्ण नभएको त कुनै पनि विषय हुँदैन, पहिले शिशुस्याहारको पनि व्यवस्था थिएन, हामीले शिशुस्याहार सञ्चालन गर्यौं, कलेज सञ्चालन त अहिले पनि छैन, पहिले पनि थिएन । ६ वटा कलेज त सञ्चालन गरिरहेकै छौं । यो त कानूनी प्रावधान मिलाएर, केन्द्रले बनाउनेमा केन्द्रले, प्रदेशले गर्नेमा प्रदेशले कानून बनाइदियो भने त सक्छौं भनेको मात्र हो । अधिकार छैन भनेर बस्यौं भने त केही पनि गर्न सकिन्न । अधिकार त लिने हो । कहाँबाट लिनुपर्छ, कानूनी प्रावधान मिलाउने हो कि ? त्यसकारण अब विश्वविद्यालय विधेयक बन्यो भने कहिँ रोकिँदैन । त्यो अवस्थामा भक्तपुर नगरपालिका नै नेपालको पहिलो नगरपालिका हुनेछ, जसले शिशुस्याहारदेखि विश्वविद्यालयसम्मको शिक्षा दिन्छ । त्यो हाम्रो सपना हो । त्यो छिट्टै पूरा हुन्छ ।

प्रस्तुति: हरिसुन्दर छुकां

:1475 Views

Leave a Reply