रिसाहा आमाबुवाका रिसाहा छोराछोरी

तुमला ढुंगाना

‘तपाईंका नानीहरू तपाईंका होइनन्, उनीहरू त आफ्नो निजी जीवनका वाहक हुन् । उनीहरू तपाईंका माध्यमबाट आएका हुन्, तपाईंबाट होइनन् त्यसैले उनीहरू आफ्नो जीवनप्रति उत्तरदायी छन्, तपाईंप्रति होइन ।’

सन् १९२३ मा खलिल जिब्रानद्वारा लिखित पुस्तक ‘द प्रोफेट’को ‘अन चिल्डे«न’ शीर्षकको यो कथनलाई आजको सन्दर्भमा समेट्न चाहेँ । एकातिर आधुनिक भनिएको, विज्ञान र प्रविधिले उन्नत मानिएको आजको जीवनमा हामी हरेक बुबाआमा कुनै न कुनै कारणमा आफ्ना नानीहरूबाट टाढा हुन पुगेका छौँ । जीवनयापन, सन्तानको भविष्य सुरक्षण, घरपरिवार व्यवस्थापनलगायत हामीसँग विविध र धेरै कारण छन् । अर्कोनिर यो व्यस्तता (बाध्यता) र समय व्यवस्थापनको असमर्थताको कारण हाम्रा नानीहरू आज प्रविधिको अधिक प्रयोग गर्न बाध्य छन् । आज हरेक घरमा हरेक आमाबुबाले गर्ने गुनासो भनेकै नानीहरूले प्रविधि (टिभी, मोबाइल, भिडियो गेम) को अनावश्यक र अत्यधिक प्रयोग गर्ने हो । हामीले हाम्रा नानीबाबुलाई साना मानिसका रूपमा व्यवहार गर्दै आएका छौँं । बालबालिकाप्रतिको हाम्रो पहिलो दृष्टिकोण नै गलत छ । एकचोटि विचार गरौँ, के हामी बालबालिकाभन्दा ज्यादा दौडधुप गर्न सक्छौँं ? के हामी बालबालिकाभन्दा ज्यादा सिर्जनशील छौँं ? के हामी बालबालिकाभन्दा ज्यादा आशावादी छौँं ? के हामी बालबालिकाभन्दा ज्यादा साहसी छौँं ? सिकाइमा त पक्कै उनीहरूभन्दा अब्बल छौँं होला, होइन र ? होइन । हाम्रा नानीबाबु यी सबै विषयमा हामीभन्दा धेरै नै अघि छन् । हामी त धेरै पछि । यदि हामी ज्यादा भएको भए उनीहरूलाई साना भनेर सानो व्यवहार गर्न तथा आफू ठूलो भनेर फुल्न मिल्थ्यो होला । हामीले आफूलाई सच्याउनुपर्ने ठाउँ यहाँ छ ।

बालबालिका पूर्ण बालबालिका हुन्, उनीहरू साना मानिस होइनन् । हामी पूर्ण वयस्क हौँ, हामीमा बालापन छैन, ल्याउन पनि सक्दैनौँ । हाम्रो बालबालिका बन्ने सम्भाव्यता शून्य भइसकेको छ । हाम्रा बालबालिका भने दिनप्रतिदिन वयस्क बन्ने क्रममा छन् । उनीहरूमा विभिन्न खोट देखाउँदै, होच्याउँदै निरुत्साहित गर्ने काम बन्द गरौँ । हाम्रा बालबालिकालाई हाम्रो कमजोरी थाहा छ । त्यसैले उनीहरूको चित्त हाम्रा आदेशले बुझ्दैन अनि हामीसँग रिसाउँछन् । यस विषयमा हामी अभिभावक तथा शिक्षक दुवै दोषी छौँँ । हामीले मिलेर हाम्रा बालबालिकालाई साना भन्ने उपनाम दिएका छौँँ । यसको समाधान हामीले नै खोज्नु छ ।

बालबालिका पूर्ण बालबालिका हुन्, उनीहरू साना मानिस होइनन् । हामी पूर्ण वयस्क हौँ, हामीमा बालापन छैन, ल्याउन पनि सक्दैनौँ । हाम्रो बालबालिका बन्ने सम्भाव्यता शून्य भइसकेको छ । हाम्रा बालबालिका भने दिनप्रतिदिन वयस्क बन्ने क्रममा छन् । उनीहरूमा विभिन्न खोट देखाउँदै, होच्याउँदै निरुत्साहित गर्ने काम बन्द गरौँ ।

हामीले बालबालिका आफैँमा प्रतिभाले भरपुर छन्, क्षमतावान् छन् भन्ने कुरा बिर्सेका छौँँ । हामीले हाम्रा नानीहरूको दक्षता तथा क्षमतालाई घोकाइ र लेखाइले मापन गर्ने गरेका छौँँ । हामी यसलाई परम्पराका रूपमा अघि बढाउने क्रममा छौँँ । हामी हाम्रा बालबालिकालाई, कुनै कालखण्डको कुनै सन्दर्भमा, कुनै रूपले सफल मानिएको कुनै अमुक व्यक्तिजस्तो बनाउने चाहना र सपनामा नै व्यस्त छौँँ । फलस्वरूप हामी असफल छौँँ, उदास छौँँ र यो उदासी हाम्रा बालबालिकामा पनि सरिरहेको छ । हामीलाई हाम्रा बालबालिकाले नाचेको बेला, गाएको बेला, पढेको बेला या खेलेको बेला अर्थात् हरेक बेला कोही नामुद व्यक्तिजस्तो चाहिन्छ, त्यो पनि पहिलो प्रयासमै । हामी नानीबाबुलाई तुरुन्तै फलानो जस्तो भए पो भनिदिन्छौँँ । त्यति नै बेला हामी अर्काे अपराध गछौँँ, बाल मन भाँचेर । अब हाम्र्रा नानीबाबु रिसाउँछन्, झर्कन्छन् र अर्काेचोटिदेखि प्रयास नै गर्न छाडिदिन्छन् । जसरी हामी शारीरिक बनोट तथा रङले एक–अर्का भन्दा फरक छौँँ, त्यसरी नै हाम्रा विचार, व्यक्तित्व तथा क्षमता फरक छन् । हामी आफूमा भएको सीपको कदर नभएको भन्दै रुष्ट छौँँ, तर त्यही गल्ती हामी हाम्रा कलिला बाल मष्तिष्कमा आक्रमण गर्न प्रयोग गरिरहेका छौँँ ।

हामीसँग न त हाम्रा आफ्नो लागि कुनै ठोस योजना छ न त बालबालिकाका लागि नै । हामी जे पर्ला त्यही टर्लामा व्यवहार धानिरहेका छौँैँ । असफलता हात लाग्नुअघि नै अब यसको दोष कसलाई लगाउने भन्ने पूर्वतयारीका साथ बसेका छौँँ । हामी तुरुन्तै कुनै न कुनै अवस्था वा व्यक्तिलाई दोष लगाइदिन्छौँँ । हामीमा आफ्नो योजनालाई अघि बढाउने साहस, धैर्य तथा निरन्तरता छैन । हामी हल्लैहल्लाका पछि दौडिरहेका छौँँ । हामीले भुल्नै नहुने सत्य के हो भने हाम्रा नानीबाबु हाम्रै सिको गरिरहेका छन् । हामी असफल हुनासाथ विभिन्न बहाना बनाउँदै अरूलाई दोष लगाउने, तर बालबालिकालाई भने ‘जिम्मेवार बन’ भन्ने उपदेश दिन्छौँ अनि यही परिपाटीले नानीबाबुलाई निराश बनाएको छ ।

हामीलाई हाम्रा बालबालिकाले नाचेको बेला, गाएको बेला, पढेको बेला या खेलेको बेला अर्थात् हरेक बेला कोही नामुद व्यक्ति जस्तो चाहिन्छ, त्यो पनि पहिलो प्रयासमै । हामी नानीबाबुलाई तुरुन्तै फलानो जस्तो भए पो भनिदिन्छौँँ । त्यति नै बेला हामी अर्काे अपराध गछौँँ, बाल मन भाँचेर । अब हाम्रा नानीबाबु रिसाउँछन्, झर्कन्छन् र अर्काेचोटिदेखि प्रयास नै गर्न छाडिदिन्छन् ।

मैले जे गरे पनि हुँदैन । मलाई कसैले पनि माया गर्दैन/मन पराउँदैन । मलाई राम्रो गर्न आउँदैन । मैले चाहिँ गर्न सक्दिनँ । यस्ता भूत पालेर बसेका छन् हाम्रा धेरै बालबालिका । जब हामीसँग पक्का योजना छैन वा कार्यान्वयन गर्ने आँट–साहस छैन वा तत्परता छैन वा परिणाम भोग्न, पर्खन धैर्य छैन भने बालबालिकाबारे के योजना बनाउँछौँँ । योजना कार्यान्वयन निरपेक्ष हुँदैन, समाज तथा विभिन्न परिस्थिति सापेक्ष हुन्छ । त्यति वेला आफ्नो लक्ष्यलाई कसरी सहज रूपमा पार गर्ने भन्ने नै हो जीवन जिउने कला । यदि हामीमा यो कला छ भने हामी हाम्रा नानीबाबुलाई सही अभिभावकत्व प्रदान गर्न सफल हुन्छौँँ । आजको परिस्थिति भनेको अभिभावकले बालबालिका, शिक्षक, विद्यालय, समाज तथा देशको अवस्थालाई गाली मात्र गरिरहेको अवस्था हो । हामी ठूला–ठूला विषय, विचार तथा समस्यामा चिन्ता गर्न व्यस्त छौँँ । वास्तविक समस्या भने साना–साना छन् । जस्तै : हाम्रा नानीबाबु साना–साना कुरामा रिसाउँछन्, झर्किन्छन् तथा झगडा गर्छन्, आफ्नै सामान फाल्ने तथा फुटाउने गर्छन्, कहिलेकाहीँ आफैँलाई समेत क्षति पुग्ने काम गर्छन् । जस्तै : ठाउको ठोक्ने, भित्तामा मुक्का हान्ने, विभिन्न धारिलो औजारले आफ्नै शरीरमा चोट लगाउने तथा आत्महत्याको धम्की दिने–प्रयास गर्ने । यहाँ हामी यसरी रिस देखाउने नानीबाबुलाई कसरी सम्हाल्ने भन्ने विषयमा केही जानौँ ।

हाम्रा नानीबाबु रिसाउँदा के गर्ने ?

१. जब हाम्रा नानीबाबु रिसाउँछन्, हामी शान्त रहनुपर्छ । नानीबाबुको रिसको व्यवहार जब कम हुन थाल्छ, तब मात्र शान्तिपूर्वक आफ्ना कुरा राख्नुपर्छ । सबभन्दा पहिले रिसको कारण सोधौँ । अब के गर्नुपर्ला भनेर सल्लाह मागौँ । अन्त्यमा परिणामसहितको आफ्नो विचार तथा सल्लाह सुनाऔँ । एकचोटि नानीबाबुलाई नै सोच्न लगाऔँ कि रिसाउँदा उनीहरूलाई शारीरिक तथा मानसिक रूपमा कति तनाव भयो ?

२. नानीबाबुले झगडा तथा रिसमा बोलेको बेलामा सँगसँगै बोल्ने वा हाँस्ने काम पटक्कै नगरौँ । हामी बोल्नासाथै नानीबाबुले त्यसै शब्द तथा भनाइलाई नै विषय बनाउँछन् । यस्तो बेला हामी हाँस्नु भनेकोचाहिँ त्यो व्यवहारका लागि नानीबाबुलाई प्रोत्साहित गर्नु हो । यस्तो भएमा नानीबाबुको रिस तथा झगडा स्थायी बानी बन्ने सम्भावना हुन्छ । बिस्तारै नानीबाबुले यो व्यवहारलाई हतियारका रूपमा प्रयोग गर्न सुरु गर्छन्, आफूतिर ध्यान तान्न वा आफ्ना माग पूरा गराउन ।

३. नानीबाबु रिसाएका बेला आफूलाई पूर्ण नियन्त्रणमा राखौँ । जब नानीबाबु नचाहिने कुरामा रिसाउने तथा झगडा गर्ने गर्छन्, हामीलाई पनि रिस उठ्छ । सामान्यतया हामी हाम्रा नानीबाबुलाई सम्झाउँछौँँ, तर दोस्रो तहमा त हामी पनि रिसाउँछौँँ । विचार गरौँ त आगोले कहिल्यै आगो निभ्छ र ? रिसमा नानीबाबुलाई शारीरिक तथा मानसिक सजायको प्रयोग त झनै घातक हुन्छ । हाम्रो प्रतिकारपूर्ण व्यवहारले नानीबाबुमा जित्नका लागि ठूलो स्वर तथा विविध हतियारको प्रयोग गर्नुपर्छ भन्ने धारणाको विकास हुन्छ । परिणाम उल्टो आउँछ । नानीबाबु झन् रिसाहा र झगडालु बन्छन् । जब हामी नानीबाबुको रिस वा झगडामा शान्त रहन्छौँँ, हाम्रो शान्त व्यवहारको तरंगले उनीहरूलाई शान्त रहन ऊर्जा प्रदान गर्छ ।

४. हाम्रा नानीबाबु शान्त रहेको बेला सरसल्लाह तथा छलफलमा उनीहरूलाई पनि सहभागी गराऔँ । हाम्रो समावेशी व्यवहारले हरेक निर्णयमा आफू पनि सहभागी हुन पाएकोमा हाम्रा नानीबाबु सन्तुष्ट रहन्छन् । कहिलेकाहीँ रिस उठ्नु स्वाभाविक हो, यस्तो बेला आफैँ कसरी शान्त रहने भन्नेबारेमा बरोबर नानीबाबुसँग छलफल गरौँ । बाल्यकालमा आफू रिसाएको तथा त्यस व्यवहारको कारण क्षति भएको कुरा पनि नानीबाबुलाई सुनाऔँ ।

५. हाम्रा नानीबाबुका आवश्यकताबारे यथेष्ट जानकारी राखौँ । सही समयमै आवश्यकता पूरा गर्ने कोसिस गरौँ । यदि समय लाग्छ भने त्यसको जानकारी नानीबाबुलाई बेलैमा गराऔँ ता कि उनीहरूले झगडा गर्ने तथा रिसाउने मौकै नपाऊन् । रिसाएका र झगडा गरेकै कारण हामी कुनै माग पूरा नगरौँ । यदि झगडा गरेपछि माग पूरा भयो भने नानीबाबुमा माग पूरा गराउन झगडै गर्नुपर्छ भन्ने गलत धारणा बन्न पुग्छ र उनीहरूको व्यवहार नकारात्मक रूपमा अघि बढ्छ ।

६. हाम्रा गलत व्यवहार नियन्त्रणका लागि नियम बनाऔँ र कडाइका साथ लागू गरौँ । बनाएको नियममा कसैलाई पनि छुट नदिऔँ । नानीबाबुका लागि नियम बनाउँदा आफूलाई समेत समेटौँ । सोहीअनुसार व्यवहार गरौँ ।

झगडा र रिस नानीबाबुको व्यावहारिक समस्याको पहिलो सिँढी हो । यो बढ्दै गयो भने सामानको क्षति तथा अझै चरम भएपछि आफूलाई हानि गर्ने अवस्थासम्म पुग्छ । हाम्रा नानबाबु आफ्नै मुटुका टुक्रासमान हुन् । उनीहरूको समस्यालाई समयमै सम्बोधन गराँै र बर्बाद हुनबाट जोगाऔँ । हाम्रा बालबालिकालाई सामान्य तथा पूर्ण बालबालिकाका रूपमा स्वीकार गर्दै सफल अभिभावकका रूपमा आफूलाई गौरवान्वित गरौँ ।

(लेखक जिनियस एकेडेमी, भक्तपुरका प्रबन्ध निर्देशक हुन्)

:2798 Views

Leave a Reply