रोम्बस स्कुलको पाँचौं वार्षिकोत्सव सम्पन्न

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेण्डरी स्कुलको पाँचौं वार्षिकोत्सव फागुन ७ गते सकिएको छ ।
शिक्षा विकास निर्देशनालय प्रदेश नं. ३ का निर्देशक दिनेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका सहयोगी अभिभावकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उनले वार्षिकोत्सवमा अभिभावकहरुको बाक्लो उपस्थितिको प्रशंसा गर्दैै मन जितेको र गुणस्तरीय शिक्षाका लागि रोम्बस स्कूलले छोटो समयमै टेवा पुर्याएको बताए ।
विद्यालयबाट प्रकाशित रोम्बस दर्पणको विमोचन गर्दैै निर्देशक श्रेष्ठले विद्यार्थीलाई पठनपाठनका अलावा अतिरिक्त क्रियाकलाप गराएर विद्यार्थीको सिर्जनशीलता विकास गर्नुपर्ने पनि बताए । अहिलेका नयाँ पुस्तामा सामाजिक भावनाको कमी हुँदै गएकाले उनीहरुलाई कितावी ज्ञानमात्र दिएर विद्यालयको उद्देश्य पूरा नहुने उल्लेख गर्दै पाठ्यक्रममा आधारित भएर जीवनोपयोगी सीप र प्रयोगात्मक शिक्षा दिनुपर्नेमा पनि जोड दिए ।
उनले गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक र विद्यार्थी तीनै पक्षको महत्वपूर्ण हुने भएकाले विद्यालयले समयसमयमा अभिभावक शिक्षा कार्यक्रम गरी अभिभावक उत्प्रेरणा कार्यक्रम गर्नुपर्ने बताए ।
सोही कार्यक्रममा हास्यव्यंग्य कलाकार मनोज गजुरेलले हाँस्यव्यंगमार्फत् शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगतिलाई कम गर्दै लग्न जरुरी रहेको बताए ।
कार्यक्रममा ज्येष्ठ अभिभावक सम्मान, सक्रिय अभिभावक सम्मान र कदर एवं सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा ज्येष्ठ अभिभावक सम्मानबाट अभिभावकहरु क्रमशः केदारप्रसाद ढकाल, चित्रबहादुर पाण्डे, गोविन्दप्रसाद पुरी, मोेहनबेटी तुईतुई सम्मानित भएका थिए ।
सक्रिय अभिभावक पदकबाट कान्छा थापा, विश्वनाथ लामिछाने, कसुम तामाङ, नवराज लामिछाने र अजय तामाङलाई सम्मान गरिएको थियो ।
पाँच वर्षसम्म निरन्तर सेवा गरेवापत जयराम कार्की, तारा कार्की, नन्दा कार्की तथा वर्ष शिक्षक २०७५ बाट शिक्षकहरु क्रमशः जनकराज कार्की(मावि शिक्षक), अर्चना मानन्धर(निमावि शिक्षक), करुणा तिमल्सिना(प्रशासन), अमृता ढकाल(प्रावि शिक्षक) र सरिता श्रेष्ठ सुवाल(पूर्व प्रावि शिक्षक) लाई सम्मान गरिएको कार्यक्रममा वागीश्वरी माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले सरकारको कारण शिक्षामा विभेद देखिएको बताए ।
उनले अहिलेका विद्यार्थीहरु मोबाइलमा लिप्त हुँदै जाँदा पढाइका साथै समाजमा पनि नकारात्मक असर पुगिरहेकाले अभिभावक सचेत हुनुपर्ने बताए ।
विद्यार्थीहरुका विभिन्न नृत्य प्रस्तुत भएको सो कार्यक्रममा डिएसपी शिशु शर्मा, कालिंगा विश्वविद्यालयका अन्तर्राष्ट्रिय कोअर्डिनेटर प्रवीण अग्रवाल, लेखक मेघराज अधिकारीलगायतले बोलेका थिए । विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजूले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय शिक्षाका लागि कुनै कञ्जुस्याइँ नगर्ने बताए ।

:518 Views

Leave a Reply