‘विद्यार्थीको संस्कारको अगाडि मार्कसिटको अंक नगन्य’ ः डिआइजि थापा

काठमाडौं, ३१ असार । प्रहरी कल्याण कोषद्वारा सञ्चालित नेपाल पुलिसस्कुल सामाखुसीबाट २०७५ सालको माद्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण गरेका दशौं समुहका ५९ विद्यार्थीलाई मंगलबार वधाई दिँदै विदाई गरिएको छ । विगतका वर्षको तुलनामा २०७५ सालको एसईई परीक्षाको नतिजा निकै उत्कृष्ट रहेको विद्यालयले जनाएको छ ।

नेपाल पुलिस क्लवमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजि) शैलेश थापा क्षेत्री, प्रहरी कल्याण कोषका प्रमुख,प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपि) टेकबहादुर तामाङ्ग, नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य हरिश प्रकाश भट्ट तथा सोही विद्यालयकी समादेशक प्रहरी निरीक्षक हिमा थोकरले विद्यार्थीलाई टिका, खादा तथा उपहार दिएर वधाई दिएका थिए ।

सोही समारोहमा प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले एसईई परिक्षामा सर्वाेत्कृष्ट अंक ३ दशमलव ९० जिपिए हासिल गर्ने छात्रहरु अविरल पुन मगर, प्रतिक गुरुङ्ग, निरज तामाङ्ग र सुरज सिंह भण्डारी तथा ३ दशमलव ८० जिपिए ल्याउने छात्राहरु बन्दना पन्त, राजश्री तिमल्सिना र पुर्णिमा थापालाई विद्यालयको तर्फबाट जनही एकहजार नगद रुपैया पनि प्रदान गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी नायव महानिरीक्षक (डिआईजि) शैलेश थापा क्षेत्रीले एसईई उतिर्ण विद्यार्थीलाई वधाई दिँदै विद्यार्थीले सिकेको असल संस्कारको अगाडी परिक्षामा प्राप्त गरेको मार्कसिटले ठुलो महत्व नराख्ने बताए । ‘भलै परिक्षामा ल्याएको अंकले विद्यार्थीको मार्कसिटमा थोरै फरक पारेपनिउसको जीवनमा भने त्यो अंकले फरक नपार्ने बताउँदै उनले भने—‘तर उसले सिकेको संस्कारले भने जीवनमाठुलो महत्व राख्छ ।’

एसईई परीक्षामा बढी अंक ल्याउने विद्यार्थी फुर्किन र कम अंक ल्याउने विद्यार्थी हरेश खान नपर्ने भन्दै डिआइजि थापाले भने—‘यो परीक्षा नै जीवनको अन्तिम परीक्षा होइन, यसपछि पनि विद्यार्थीले धेरै परीक्षा दिन बाँकी छ । ’ नयाँ पुस्ताका कारण नेपालको भविष्य निकै उज्ज्वल रहेको उल्लेख गर्दै डिआइजि थापाले कम्तीमा नेपाल पुलिस स्कुलमा पढेका अनुशासित विद्यार्थीले कहिल्यै पनि अपराध नगर्ने ठोकुवा समेत गरे ।

केटाकेटीलगायत घरका सबै सदस्यले खुलेर आफ्नो शेयर गर्न नसक्ने घर, घर नभई डेरा भएको उल्लेख गर्दै डिआईजि थापाले घरलाई डेरा होइन, घर नै बनाउन सबै अभिभावकहरुसंग अनुरोध समेत गरे । उनले अगाडी भने —‘घर, घरको रुपमा हुँदा अपराध हुँदैन तर घर, डेरा बनेपछि भने अपराधका घटना बढ्छ ।’  त्यस अवसरमा विद्यालयका प्राचार्य हरिश प्रकाश भट्टले माध्यमिक शिक्षा परीक्षा एसईईले धेरै कुराको मुल्यांकन नगर्ने उल्लेख गर्दै विद्यालयमा जस्तै विद्यार्थीले आगामी दिनमा गर्ने मिहेनतले नै उनीहरुको भविष्य तय हुने बताए ।
विद्यालय, शिक्षक, अभिभावकको समन्वय र सहकार्य तथा विद्यार्थीको अथक मिहेनतले उनीहरु एसईई परीक्षामा उतिर्ण भएको उल्लेख गर्दै प्राचार्य भट्टले एसईईपछिको समय अझ संवेदनशील रहेकोले सचेत भएर कदम उचाल्न विद्यार्थीलाई आग्रह गरे ।

त्यस अवसरमा विद्यालयका उपप्राचार्य ओम भुषाल तथा एसईई उतिर्ण विद्यार्थीअविरल पुन मगरले पनि बोलेका थिए भने वरिष्ठ पत्रकार बलराम प्यासी, विद्यालय व्यवस्थापन समितिकी सदस्य सीता अधिकारी र अभिभावक प्रतिनिधि घनश्याम उप्रेती अतिथिको रुपमा सहभागी थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

:436 Views

Leave a Reply