विद्यार्थीलाई कुशल नागरिक बनाउन नेताको जोड

भक्तपुर– नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ ले राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा शिक्षक शिक्षिकाहरु प्रशिक्षित हुनुपर्ने बताएका छन् ।

उनले शिक्षक शिक्षित भएमात्र हरेक विद्यार्थीहरुलाई राष्ट्रिय चरित्र भएको कुशल नागरिक बनाउन सक्ने बताउँदै त्यसतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल प्राध्यापक समाज वागीश्वरी एकाइ समितिको आयोजनामा ‘मजदुर किसान’ वर्ष ८ अङ्क १ पूर्णाङ्क २१ को मंगलबार सम्पन्न अन्तरक्रिया तथा विजया दशमी २०७५ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष बिजुक्छेंले दक्षिण एशियाली क्षेत्रीय संगठन बिम्स्टेक अमेरिकी साम्राज्यवादको निर्देशनमा भारतको नेतृत्वमा दक्षिण एसियाली देशमा शासन गर्ने हतियार हुने बताए ।

अमेरिका–चीन व्यापार युद्धले अमेरिका आफैलाई नकारात्मक असर पर्ने बताउ“दै उनले ट्रम्प सरकार संसारबाट एक्लिंदै गएको बताए ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले शान्तिपूर्ण तरिकाबाट पनि समाजवाद स्थापना हुन सक्छ भन्ने संशोधनवादी विचार अङ्गालेर अगाडि बढेको असफल देशहरु चिल्ली र इण्डोनेशियाको उदाहरण दिंदै नेपालका तथाकथित कम्युनिष्ट पार्टीले समाजवादतिर जाने बखान गर्नु जनतालाई भ्रममा पारेको बताए ।

संविधानमा समाजवादउन्मुख उल्लेख भएता पनि देशका ठूलठूला परियोजनाहरु निजी तथा विदेशी कम्पनीहरुको हातमा सुम्पिनु सरकारले कम्युनिष्टको नाममा पूजीपति वर्गको सेवा गरिरहेको उनले प्रष्ट पारे ।

कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा शिक्षिकाहरु सुशिला कर्माचार्य, निरु ताल्चाभडेल, शिक्षकहरु मुरज दिदिया, शिबबहादुर खुलीमुली, उकेश सुवाल, सुन्दर राजचल, विकल प्रजापति, राजन चौगुठीले पनि पुस्तकबारेमा चर्चा गर्दै दशैंलाई सिर्जनात्मक तरिकाले मनाउन जोड दिए ।

:538 Views

Leave a Reply