विद्यालयतहमा छात्रछात्रा होइन विद्यार्थी मात्र भनौँ

धेरै विद्यालयमा छात्रालाई ‘तिमी यहाँ आऊ र यसो गर’ भनेर मायाले सुम्सुम्याउने तर छात्रलाई ‘ओइ तँ यो गर् त’ भनि अलि रुखो स्वरमा बोल्ने गरेको देख्छौँ । आवाजमै फरक पर्छ । सञ्चार र बोलीबचनमा नै विभेद हुने गर्छ । जसले गर्दा छात्र संवेदनहीन, ढुङ्गा हुने भए र छात्रा सामाजिक रूपमा कम्प्लेक्स हुने भए ।

छोरीहरूलाई तनाव भएका कारणले गर्दा उनीहरूको पढाइ कमजोर देखिएको होइन । छोरीहरूलाई परीक्षामा प्रश्नको उत्तर थाहा हुँदा पनि उनीहरूको अभिप्राय (डिटरमिनेशन) को कमी धेरै ठाउँमा हाबी भएको छ । एउटा छोराले आफ्नो कुरा भनेर आफ्नो बाटो लागिसकेको हुन्छ तर त्यतिबेलासम्म छोरीले आफ्नो कुरा भन्नलाई प्रयास गरिरहेको हुन्छ ।

छोराहरू आफ्नो कुरा सजिलै राख्न सक्छन् भने छोरीहरू त्यति सहजै खुल्न सक्दैनन् । केटाहरूले निर्णय लिने काम केटीको तुलनामा छिटो गर्न गर्छन् । यस्तो हुनुमा पनि कारण छ । परिवारकै कारणबाट छात्राको निर्णय गर्ने क्षमता सानै हुँदा घरबाटै मरेको हुन्छ । जस्तैे म बेलुका साथीहरूसँग खेल्न जान्छु भनेर छोराले आफै निर्णय गर्छ भने छोरीले घरमा आएर सोध्नुपर्छ । खेल्न जानको लागि घरमा सोध्छन् तर घरबाट ‘तँ छोरी जो पायो त्यहिसँग जहाँ पाए त्यहि जानु पर्दैन’ भनेर उसलाई पठाइँदैन । उसको निर्णय क्षमता उ सानै हुँदा घरबाटै मारेको हुन्छ । त्यसलाई न्युनीकरण गर्नुपर्छ ।

समाज एक किसिमको रूपान्तरण प्रक्रियामा गईरहेको छ । हामीले लुगा परिवर्तन गर्यौँ, भाषा परिवर्तन गर्यौँ, विदेशी केही कुरा सिक्यौँ तर हाम्रो चुलोमा छोरीले सिक्नुपर्छ, छोराले सिन्को पनि भाच्नुहुँदैन । छोरीले काम गर्नुपर्छ भन्ने हाम्रो संरचना अझै यथावत छ । तर छोरा र छोरी नभनी जसलाई जरुरी छ उसले सिक्नुपर्छ उसले सक्नुपर्छ भन्ने मान्यताको विकास र अभ्यास आवश्यक छ ।

अहिले ७, ८ मा पढ्ने छात्रालाई अभिप्रेरणा दिएर हामीले केही नयाँ परिवर्तन ल्याउन सक्छौँ भन्ने कुरालाई म विश्वास गर्दिनँ । हामीले नर्सरी देखि कक्षा ५ सम्म पढ्ने बच्चालाई मोटिभेट गरेमा आजबाटै उनीहरूलाई तयार गर्ने हो भने मात्र १० वर्षमा हामीले चाहेको जस्तो समाज बनाउन सक्छौँ । छोरा र छोरीमा शारीरिक भिन्नता मात्र छ भनेर बुझाउन सक्नुपर्छ ।

विद्यालयमा ‘छोरा छोरी तिमी बराबर छौँ’ भन्ने शब्द नै गलत हुन्छ । कक्षा १२ सम्म छोरा र छोरी शब्द नै प्रयोग गर्नुहुँदैन । सबैलाई विद्यार्थी भन्नुपर्छ । शिक्षकहरूले छोरीहरूलाई विशेष अधिकार (प्रिभिलेज) दिने गर्छन् । धेरै विद्यालयमा केटी विद्यार्थीलाई ‘तिमी यहाँ आऊ र यसो गर’ भनेर मायाले सुम्सुम्याउने तर केटा विद्यार्थीलाई ‘ओइ तँ यो गर् त’ भनि अलि रुखो स्वरमा बोल्ने गरेको देख्छौँ । आवाजमा नै फरक पर्छ । सञ्चार र बोलीबचनमा नै विभेद हुने गर्छ । जसले गर्दा केटा संवेदनहीन, ढुङ्गा हुने भए र केटी सामाजिक रूपमा कम्प्लेक्स हुने भए । यो खालको समाज हामीले बनाइरहेका छौँ । विद्यालयमा पनि कक्षा १२ सम्म छोरा र छोरीको विभेदलाई बन्द गर्नुपर्छ । हामीले सामाजिक संरचनामा परिवर्तन ल्याउनु पर्छ ।

केही शिक्षकहरू कक्षा ६ माथिका छोरीहरूलाई केही प्रिभिलेज दिने गर्छन् । कक्षाकोठा छिरेपछि केही काम परेमा छोराहरूलाई ‘ओइ तँ उठ, जा यो लेरा’ भन्ने र छोरीहरूलाई भने ‘तिमीहरू बस, तिमीहरूले के के गर्यौ भन’ जस्तो व्यवहार गर्छन् ।

हामीमा अभिभावकत्व र अभिभावक शिक्षा कम छ । बच्चाको अगाडि कस्तो व्यवहार गर्ने, कसरी माया देखाउने भन्ने ज्ञान कम छ । अभिभावक शिक्षाबारे बल्ल बल्ल चेत खुल्दैछ । स्थानीय सरकारले अभिभावक शिक्षामा बल्ल क, ख बुझ्दै छ । हामी जतिखेरबाट अभिभावक शिक्षा सुरु गर्न सक्छौँ तब परिवर्तन आउने आशा पलाउँछ । विद्यालयमा पढाउने शिक्षकले दिने प्रिभिलेजमा केटा र केटीले पाउने प्रिभिलेजलाई बन्द गरेर विद्यार्थीको आधारमा पढाउनुपर्छ । अभिभावक शिक्षा भन्ने कार्यक्रमलाई देशव्यापी रूपमा नेपालमा सञ्चालन गरेर छात्रा शिक्षाको महत्व बुझाउन सके छात्राको शिक्षा उकास्न सकिन्छ ।

:1017 Views

Leave a Reply