विद्यालय : भित्तेपात्रोबाट चलाउने कि शैक्षिक पात्रोबाट ?

calendar

–बाबुकाजी कार्की / शैक्षिक गुणस्तरलाई सुदृढ गर्न राज्यले विभिन्न निकाय र संरचनाको व्यवस्था गरे पनि आसातित परिवर्तन हुन सकेको छैन् । सामुदायिक विद्यालयको पठनपाठन व्यवस्थित नहुनका कारणबाट गुणस्तर खस्कँदो अवस्थामा छ । निजी लगानीमा खुलेका बोर्डिङको उपलब्धी राज्यको लगानी र निगरानी भएका सामुदायिक विद्यालयभन्दा फराकिलो अन्तरले अगाडि छ ।

हुनेखानेका बालबालिकाको लागि बोर्डिङ र हुँदा खानेका बालबालिकाका लागि सामुदायिक विद्यालय खुलेको भनाइ सत्यको नजिक पाइन्छ । सामुदायिक विद्यालयमा उपलब्ध साधनस्रोतको अधित्तम प्रयोग गर्दै विद्यालयका कार्यक्रमलाई व्यवस्थित एवं चुस्त दुरुस्तरूपमा सञ्चालन गरी सुगमतापूर्वक शिक्षाका लक्षित उद्देश्य हासिल गर्न ठीक समयमा ठीक काम गर्नुपर्ने हुन्छ ।

शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक विविध योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलापहरूको संगालो हो वार्षिक शैक्षिक क्यालेन्डर । कक्षा कोठाभित्र र बाहिरका योजना तथा क्रियाकलापहरू विद्यार्थीको रूचि क्षमताअनुसार तोकिएको समयमा सम्पन्नका लागि सचेत पार्न, योजनाबद्धरूपमा शैक्षिक गतिविधि सञ्चालन गर्ने बानीको विकास गर्न, शिक्षक र शिक्षाकर्मीहरूलाई स्वमूल्यांकन गरेर परिमार्जित एवं परिस्कृत पेसागत प्रतिष्ठा बढाउनलगायत शैक्षिक अनुगमन निरीक्षणलाई नियमित गरी पाठ्यक्रमले लक्षित गरेको उद्देश्यलाई यथार्थमा हासिल गर्न शैक्षिक मार्गदर्शन प्रदान गर्दछ ।

कार्यक्रममा पारदर्शिता, विकेन्द्रित जिम्मेवारी एवं जवाफदेहिता, कार्यदक्षताको निष्पक्ष र वस्तुनिष्ठ मूल्यांकन, सहभागितामूलक निर्णय प्रक्रियाजस्ता सुशासनका आधारभूत मान्यतालाई आत्मसात गर्दै अधित्तम उपलब्धि हासिल गर्न शैक्षिक पात्रोले मार्ग दर्शनको भूमिका खेल्छ । सार्वजनिक विदा सबभन्दा धेरै हुने देशहरूमध्ये विश्वमा नै अग्रपंक्तिमा पर्ने नेपालका विद्यालयमा पढाइ हुने दिन कम हुनु अस्वभाविक होइन ।

कतिपय सामुदायिक विद्यालयमा विभिन्न बहानामा विदा गर्ने प्रवृत्ति निरुत्साहित गर्नेतर्फ सरकार र सरोकार पक्षको खासै ध्यान गएको पाइन्छ । तथापि, विद्यमान संशोधित शिक्षा ऐन नियमअनुसार वर्षमा न्यूनतम २ सय २० दिन विद्यालयमा पढाइ हुनुपर्ने तथा सामुदायिक विद्यालयका शिक्षकले हप्तामा कम्तिमा २४ पिरियड पढाउनुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, सार्वजनिक विदाको अतिरिक्त हिउँदे वा वर्षे बिदा ४५ दिन तथा व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा थप ५ दिन स्थानीय विदा दिने र सोभन्दा बढी विद्यालय बन्द गरेमा प्रधानाध्यापकलाई विभागीय कारबाही गरिने छ भन्ने कानुनी प्रावधानलाई समेत ध्यान दिएर शैक्षिक पात्रोका विषयवस्तु र क्रियाकलापलाई जवाफदेहीतापूर्वक अनिवार्य समायोजन गरिनुपर्दछ ।

कार्यक्रमहरूको गति र प्रगतिको समीक्षा गरी समयमा नै सच्याएर सुधार ल्याउन सचेत पार्ने एक सशक्त सूचक पनि हो शैक्षिक पात्रोे । समयमा तोकिएका कोर्ष नसकिने, शैक्षणिक गतिविधिको अतिरिक्त विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मकलगायत समग्र शैक्षिक विकास गर्ने खालका कार्यक्रमहरू सन्तुलित र व्यवस्थितरूपमा सञ्चालन गर्न वार्षिक शैक्षिक गतिविधि समेटर बनाइएको शैक्षिक पात्रोको गरिमा गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि उल्लेख्य रहन्छ ।

सामान्यतया पात्रोलाई तिथिमिति हेर्नेदेखि साइत जुराउनेसम्मको कामको लागि प्रयोग गरिन्छ । तिथिमिति, बिदा उत्सव, चाडपर्व शुभकार्य साइतजस्ता कतिपय कुराको समेतको जानकारीको लागि साधारण पात्रोकै विषयवस्तु समावेश गरेर शैक्षिक पात्रो ( क्यालेन्डर) निर्माण गरिन्छ । यस पात्रोमा तिथिमितिका साथै शैक्षिक गतिविधिलाई नियमित र नियन्त्रित गर्नको लागि योजना तर्जुमा गरिएको हुन्छ ।

पाठ्यक्रममा तोकिएको विषयवस्तु, त्यसको लागि छुट्याइएको पाठ्यभार तथा विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापलगायतका अन्य सूचनामूलक विषयवस्तु समेटेर बनाइने शैक्षिक पात्रोलाई शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति तथा विद्यार्थी लगायतका शिक्षाकर्मीको लागि आफ्नो जिम्मेवारी समयमा सम्पन्न गर्न सहयोग पु¥याउने मार्ग्चित्रको रूपमा लिन सकिन्छ ।

शैक्षिक पात्रो सामान्यतया शैक्षिक सत्रको प्रारम्भ वैशाखदेखि नै लागू हुनेगरी चैत्र महिनाभित्र बनाउनुपर्दछ । पात्रो बनाउनको लागि विषय शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, आवश्यत्ताअनुसार अभिभावक लगायतका पात्रोमा समावेश गरिने विषयवस्तुसँग सरोकार राख्ने व्यक्तिहरूको सहकार्यमा बनाउनुपर्दछ। पात्रोमा शैक्षिक सत्रभरि पढाइने विषयका पाठहरूको विभाजन यथासक्य विस्तृत एवं आकर्षकरूपमा प्रस्तुत गरिनुपर्दछ ।

वर्षभरि विद्यालय खोलिने दिन, सार्वजनिक बिदा, विभिन्न परीक्षा समय, अतिरिक्त क्रियाकलाप, सूचना तथा सन्देशमूलक भनाइहरू एवं शिक्षक विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता लगायतका विषयवस्तुलाई समावेश गर्न सकिन्छ । स्थानीय सामाजिक मूल्यमान्यता, संस्कार, सँस्कृति र परम्पराको संवेदनशीलतालाई समेत हेक्का राखेर मात्र पात्रो बनाउनुपर्दछ ।सामान्य पात्रोमा जस्तै यसमा पनि तिथिमितिहरू उल्लेख हुन्छन् ।

तर, यसमा यति फरक हुन्छ कि, सबै कक्षाका सम्पूर्ण विषयका पाठ्यक्रम र पाठ्यांशहरू समावेश । शिक्षकले कुन पाठ के, कति दिन लगाएर अध्यापन गर्ने, तोकिएका सिकाइ उपलब्धी हासिल भए नभएको यकिन गर्न के कस्ता मूल्यांकन विधि अपनाउनुपर्छ, कस्ता कस्ता शैक्षिक सामाग्री र शिक्षणविधि उपयुक्त हुन्छ आदि प्रश्नहरूको उत्तर हो शैक्षिक पात्रो । शैक्षिक पात्रो कतिपय सम्पन्न र जाँगरिला विद्यालयहरूले आफूसँग भएको साधन र स्रोतको परिचालन वा सहयोग जुटाएर बनाउने गर्छन् ।

तर, विकट गाउँ ठाउँका सीमित साधनस्रोत भएका विद्यालयको लागि पात्रो बनाउन कठिन नहोला भन्न सकिन्न । त्यसकारण जिल्ला शिक्षा कार्यालय वा शिक्षकका जिल्ला एवं केन्द्रीयस्तरका पेसागत संघसस्थाले विज्ञापन लगायतका सहयोग जुटाएर पात्रो बनाई वितरण गर्न सकेमा अझ सहज र सार्थक हुन्छ । किनकी शैक्षिक पात्रोका मुख्य प्रयोगकर्ता शिक्षक हो । यसले शिक्षकको पेसागत दक्षता, मर्यादा एवं कार्यक्षतामा अभिवृद्धि गरी समाजमा सम्मानित जीवनयापन गर्न प्रोत्साहित गर्दछ ।

विभिन्न कारणले सबै विद्यार्थीको हातमा समयमा पाठ्यपुस्तक पुर्याउन नसकेको अवस्थामा , कतिपय विद्यालयमा पाठ्यक्रम नै नभएका र भए पनि त्यसको प्रचुर प्रयोग हुन नसकेको अवस्थामा, पर्याप्त ज्ञान र सूचनाको अभावमा शैक्षणिक कार्यक्रम सञ्चालनमा एकरूपता समेत नहुने हुँदा विस्तृत योजना भएको पात्रो पाठ्यक्रम विकास केन्द्र वा शिक्षा विभागले केन्द्रबाटै प्रकाशित गरेर वितरण गर्ने व्यवस्था भएमा शैक्षिक सुव्यवस्थाको लागि उदाहरणीय काम हुनसक्छ ।

शैक्षिक उपलब्धि उच्च बनाउन स्थानीय निकायहरूले विस्तृत वार्षिक कार्यक्रमयुक्त शैक्षिक पात्रो सबै विद्यालयहरूको सहकार्यमा निर्माण र प्रयोग गरी शैक्षणिक गतिविधिलाई नियमित र नियन्त्रित गर्न सकेमा विद्यमान शैक्षिक क्षति, विकृति र विसंगतिलाई न्यूनीकरण गर्न अहम् भूमिका खेल्नेछ ।

:691 Views

Leave a Reply