बालबालिकालाई विद्यालय राख्ने कुरामा विद्यालय र अभिभावक स्पष्ट हुनुपर्छ

अभिभावकहरू ब्यस्तता देखाउदै साना बच्चालाई छिटै विद्यालय राख्ने र छिटो लेख्न र जे कुरा पनि छिटो सिके हुन्थ्यो भन्ने सोच्छन् । अभिभावक बच्चाको क्षमता अनुसार पढाउने भन्दा पनि उनीहरूबाट छिटो नतिजा चाहन्छन् । बच्चा जति शारिरीक रूपले विकास हुँदै जान्छ त्यहि अनुसार स्वभाविक रूपमा उसको मानसिक विकास पनि हुँदै जान्छ । तर अभिभावकहरूले पर्खने धैर्यता नै राखेको देखिँदैन । कतिपय अभिभावक छोराछोरीको सिकाइ ढिलो हुनु भनेको शिक्षकको कमजोरी ठान्दछन् । विद्यालय पनि अभिभावकको इच्छानुसार वा दबाव अनुसार नै चल्ने गरेको पाइन्छ । जुन कुरा सहजै अभिभावकमा बिक्छ, त्यो कुरालाई विद्यालयले प्राथमिकता दिन थालेका छन् । अभिभावकले जे मन पराउँछन्, त्यहि स्तरमा विद्यालय पुग्छन् ।

नेपालको सन्दर्भमा मन्टेश्वरी, प्रिस्कुल भनिएता पनि पूर्ण रूपमा त्यो मन्टेश्वरीकै शैलीमा लगिएको छैन । त्यो मन्टेश्वरीथिमलाई पनि अभिभावकले आफ्नै लेबलमा ढालिसकेका छन् । बच्चाको मनोविज्ञान, स्वभाव बुझेर पढाउनेभन्दा अभिभावकको भावना बुझेर बच्चालाई व्यवहार गर्ने स्कुलहरू धेरै भेटिन्छन् । बच्चाको लागि के राम्रो हुन्छ भनेर विद्यालयले पनि अभिभावकलाई बुझाउन खोजेको देखिँदैन ।

बच्चा स्कुल गएको केही दिनदेखि नै विद्यालयले गृहकार्य दिन सुरु गर्छन् । जबकि बच्चा गृहकार्य गर्ने अवस्थामै पुगेको हुँदैन । र त्यो गृहकार्य गर्न घरमा अभिभावकले पनि त्यहि बच्चालाई दबाब दिइरहेका हुन्छन् ।

बच्चालाई चाडै नै घरबाट दिनभर टाढा बनाइयो भने बच्चा डराउने र आत्तिने हुनसक्छ । चाँडो स्कुल पठाएको कति बच्चाहरूमा पछि गएर स्कुलप्रति नै नकारात्मक भावना बढ्दै गएर स्कुल नै जान त्यति मन नगरेको पनि भेटिएको छ ।

स्कुल गएर शैक्षिक क्रियाकलापमा सक्रिय भएर लाग्न सक्ने सामान्य बालबालिकाको उमेर भनेको ५ वर्ष हो । अहिले अभिभावकलाई आफ्नो काममा व्यस्त र त्यसमा ध्यान दिनुपर्ने बाध्यता छ । त्यस कारण बच्चालाई सामान्य रूपमा मन्टेश्वरी आधार भएको स्कुलमा उसको हेरचाहको लागि राखिदिन सकिन्छ । त्यहाँ उसले खेल्दै केही सिक्न सक्छ । त्यसका लागि पनि ३ वर्षदेखि स्कुल पठाउने चलन छ । त्यो उमेरमा लेख्नका लागि र पढ्नका लागि दबाबभन्दा पनि बच्चाले केही कुरा सिकोस् र सँगसँगै आफ्ना उमेरका साथीसँग घुलमिल हुने वातावरण सृजना होस् भन्ने कुरा विद्यालयले ध्यान दिनुपर्छ ।

सानै उमेरमा पढाइ र लेखाइमा दबाब दिइएको बच्चाले सानोमा डरले लेखेको हुन सक्छ तर पछिल्ला कक्षाहरूमा ऊ मानसिक रूपमा तन्दुरुस्त देखिँदैन । माथिल्ला कक्षामा पुगेपछि बच्चा अलिकति सोझो प्रकारको बन्ने, सक्रिय नहुने समस्या आउँछन् । बच्चालाई चाडै नै घरबाट दिनभर टाढा बनाइयो भने बच्चा डराउने र आत्तिने हुनसक्छ । चाँडो स्कुल पठाएको कति बच्चाहरूमा पछि गएर स्कुलप्रति नै नकारात्मक भावना बढ्दै गएर स्कुल नै जान त्यति मन नगरेको पनि भेटिएको छ । यतिमात्र होइन स्कुल जाने समयमा पेट दुख्योलगायतका विभिन्न बहाना बनाउँछन् । बच्चाको सामाजिक विकासमा असर पर्छ । शैक्षिक विकासमा पनि अरु बच्चा सरह त्यति राम्रो देखिँदैन । अरुसँग घुलमिल हुन गार्हो हुन्छ ।

अभिभावकहरू बच्चा स्कुल गए लगतै मेरो बच्चाले अंग्रेजी बोल्न सुरु गरोस्, लेख्न सकोस् भन्ने चाहन्छन् । बच्चाको लेखन पनि स्पष्ट चाहिन्छ अभिभावकलाई । बच्चा भने स्वतन्त्र रूपमा लेख्न मनपराउँछन् । अभिभावकहरू अक्षर राम्रो भएन भनेर पनि गुनासो गरिरहेका हुन्छन् ।

कतिपय प्रिस्कुलमा बच्चाको मनोविज्ञान बुझ्ने शिक्षकको पनि अभाव छ । कुन स्तर र क्षमताको बच्चालाई कति सिकाउने अथवा कति उमेरमा बच्चाले के के सिक्छन् भन्ने कुरामा कतिपय स्कुल सञ्चालक आफै स्पष्ट छैनन् । विद्यालय आफैले नबुझेपछि अभिभावकलाई बुझाउने कसरी ?

स्कुलले के बुझ्ने?
हामीले अभिभावकले बुझेनन् भनेर दोष लगाउनु त्यति धेरै आवश्यक छैन । पहिलो बुझ्नुपर्ने ठाउँ भनेको स्कुल हो । स्कुलले नै अभिभावकलाई बुझाउन जरुरी छ । बच्चाको उमेरअनुसार व्यवहारका बारेमा विद्यालयले बुझ्नुपर्छ । जस्तै २–३ वर्षको बच्चा भर्ना गर्ने हो भने हामीले यो उमेरमा बच्चालाई लेखनमा लादैनौँ । पेन्सिल समाउनेदेखि लिएर धर्सा तान्ने कुराहरूका लागि यति समय लाग्छ । त्यो समयसम्म हामी बाबुनानीलाई यसरी संलग्न गराउछौँ भनेर स्कुल स्पष्ट हुनुपर्छ र अभिभावकलाई पनि अभिमुखिकरण गर्नुपर्छ । बच्चाको विकासअघि नै बच्चाले यति समयभित्र बोल्न सक्छन्, यति समयभित्र लेख्न सक्नेछन् भनेर पहिलै अभिभावकलाई आश्वासन दिन्छौँ भने चाहि अभिभावकले त्यो कुरा त अवश्य नै खोज्ने छन् ।

स्कुल आफै पहिला यति वर्षको बच्चा मात्र भर्ना लिन सक्छौँ भनेर स्पष्ट हुनुपर्छ । कतिपय स्कुलले बच्चा भर्नादर मात्र बढाउन खोजेको देखिन्छ । धेरै स्कुलहरू हामी यो उमेरदेखि मात्र विद्यार्थी भर्ना लिन्छौँ भनेर स्पष्ट भएको देखिँदैन ।

प्रिस्कुल सञ्चालन गर्ने स्कुलले अभिभावक के चाहन्छ भन्दा पनि बच्चाको क्षमताअनुसार व्यवहार गर्नुपर्छ । अभिभावकलाई बच्चाको क्षमताको बारेमा बताइ त्यहि अनुसार हामी जान्छौँ र बच्चाले यति समयमा यो कुरा मात्र सिक्न सक्छन् । अभिभावककले चाहेपनि यति वर्ष अगाडि हामी बच्चालाई लेखनमा लादैनौँ अथवा लेखनमा जानुअघि हामी बालबालिकालाई कस्ता क्रियाकलाप गराउँछौँ भनेर स्पष्ट बताउनुपर्छ । स्कुलले बच्चाको मनोविज्ञान विकासअनुसार नै अभिभावकलाई बुझाउनुपर्छ । सानो बच्चालाई प्रि–स्कुल पठाउने हो भने त्यो बच्चाको हेरचाहको लागि पठाइएको भन्ने बुझाउन सक्नुपर्छ ।

स्कुल आफै पहिला यति वर्षको बच्चा मात्र भर्ना लिन सक्छौँ भनेर स्पष्ट हुनुपर्छ । कतिपय स्कुलले बच्चा भर्नादर मात्र बढाउन खोजेको देखिन्छ । धेरै स्कुलहरू हामी यो उमेरदेखि मात्र विद्यार्थी भर्ना लिन्छौँ भनेर स्पष्ट भएको देखिँदैन । त्यस्तै कति वर्षसम्मको बच्चा लिँदा पाठ्यक्रमलाई कसरी क्रमबद्ध गर्ने, बच्चालाई कसरी सिकाउने, स्कुलको वातावरण कस्तो बनाउने भन्ने कुरामा स्कुल स्पष्ट हुनुपर्छ ।

बच्चाको उमेर जति सानो छ, स्कुलमा उसले विताउने समय पनि त्यति नै कम हुनुपर्छ । कतिपय स्कुलमा बिहान ८ बजेदेखि ५ बजेसम्म बच्चालाई राखिएको हुन्छ । प्रिस्कुलमा बानी पार्न १–२ घण्टाबाट सुरु गर्नुपर्नेमा हामी एकैचोटी ६–७ घण्टासम्म विद्यालयमा राख्छौँ । सानो बच्चालाई स्कुलको समय ३–४ घण्टा भन्दा बढी हुनुहुँदैन ।

अभिभावकले के बुझ्ने?
बच्चाको पहिलो स्कुल भनेको घर नै हो । जबसम्म बच्चा आमासँग मात्र रमाइरहेको हुन्छ र साथीसँग रमाउने बानीको विकास भएको हुँदैन उसले स्कुलमा जति राम्रो वातावरण भएपनि घरनै खोज्छ । कतिपय बच्चा स्कुलमा दिनभरि रोइरहेका हुन्छन् । ३ वर्षपछि उसले साथीसँग रमाउन सुरु त गर्छ तर पनि आमालाइ नै खोजिरहेको हुन्छ ।

अभिभावकले बच्चालाई कति वर्षसम्म घरमा राख्ने भनेर स्पष्ट हुनुपर्छ । घरमा कोही हेर्ने मान्छे नभएकाले विद्यालयमा राख्दै छौँ भने त्यसलाई पढाउने स्कुल नभई बच्चालाई हेर्नका लागि बाल हेरचाह केन्द्र पठाउँदैछौँ भनेर बुझ्नुपर्छ । यो कुरा स्पष्ट नहुँदा अभिभावकले सानो बच्चा या १४ महिनादेखि नै विद्यालय पठाउने र बच्चाले लेख्यो, लेखेन, कति सिक्यो भनेर चासो देखाउँछन् ।

अभिभावकले बच्चालाई कति वर्षसम्म घरमा राख्ने भनेर स्पष्ट हुनुपर्छ । घरमा कोही हेर्ने मान्छे नभएकाले विद्यालयमा राख्दैछौँ भने त्यसलाई पढाउने स्कुल नभई बच्चालाई हेर्नका लागि बाल हेरचाह केन्द्र पठाउँदैछौँ भनेर बुझ्नुपर्छ । यो कुरा स्पष्ट नहुँदा अभिभावकले सानो बच्चा या १४ महिनादेखि नै विद्यालय पठाउने र बच्चाले लेख्यो, लेखेन, कति सिक्यो भनेर चासो देखाउँछन् । जसको दबाब बच्चालाई पर्न जान्छ । स्कुलमा उसले लेख्ने र पढ्नेभन्दा पनि विभिन्न खेल, कुराकानीमार्फत केही सिकिरहेको हुनुपर्छ । शैक्षिक क्रियाकलापमा उ रमाएको हुनुपर्छ ।

स्कुल घर नजिक हुनुपर्छ । बच्चालाई केही समस्या भएमा या कहिलेकाही बच्चा रुन बन्द नभएमा अभिभावक सहजै विद्यालय पुग्न सक्ने हुनुपर्छ । स्कुल पठाएपछि स्कुल जाने बानी नपरेसम्म तथा राम्रोसँग घुलमिल नभएसम्म बच्चालाई होमवर्कको प्रेसर होस् भन्ने अपेक्षा अभिभावकले गर्नुहुँदैन । अभिभावकले विद्यालयलाई आफ्नो बच्चाले छिटो जान्नुपर्यो भनेर दबाब दिनुहुँदैन । शिक्षक र अभिभावकले बालबालिकालाई सिक्नका लागि प्रेरित गर्ने हो, हौसला दिने हो तर कलिलो दिमाखमा अनावश्यक दबाव दिएर उनीहरूको सिर्जनशिलतामा असर पुर्याउने काम गर्नुहुँदैन ।

:1534 Views

Leave a Reply