विषय शिक्षकको बिन्ती: ‘हेडसर, ठूलो ह्वाईटबोर्ड दिनुस् ’

dahal harihar

गणित विषय अध्यापन गराउँदा के कस्ता अफ्ठ्याराहरु आइपर्छन् ? अनि त्यो समस्या समाधानका लागि शिक्षक के गर्छन्, अनि आफूभन्दा माथिल्लो निकाय वा तहका व्यक्तिसँग के माग गर्छन् ? यही विषयलाई केन्द्रमा राखी रचिएको एउटा कविता हो, ‘ठूलो ह्वाईटबोर्ड दिनुस् हेडसर’ । सो कविता गणित विषय शिक्षक हरिहर दाहालले लेखेका हुन् ।

आज मार्कर दिनु भयो , मसि सधैं ल्याई दिनुस् हेडसर ।
सिङ्गो हिसाब अटाउने, ठूलो ह्वाईट बोर्ड दिनुस् हेडसर ।।
यो मार्करले बर्ष धान्छु , डस्टर कपडाको आफै बनाउँछु ।
सिङ्गो हिसाब अटाउने, ठूलो ह्वाईट बोर्ड दिनुस् हेडसर ।।

एउटा ठुलो ‘क’ मात्र लेख्दा पूरै भरिने ह्वाईट बोर्ड छन् ।
लामा हिसाब गर्नुपर्छ , ठूलो ह्वाईट बोर्ड दिनुस् हेडसर ।।
प्राजेक्टरको जमाना हो , स्मार्ट बोर्डको जमाना हो ।
भो ती कुरा गर्दिन बरु, ठूलो ह्वाईटबोर्ड दिनुस् हेडसर ।।

साना अक्षर लेख्दा खेरी देखिएन रे विद्यार्थीहरुलाई ।
साना पनि कोरिएका छन्, ठूलो ह्वाईटबोर्ड दिनुस् हेडसर।।
ग्राफ बोर्ड पनि चाहिन्थ्यो नि जियोबोर्ड नि आवश्यक छ ।
फलाटिन बोर्ड भए राम्रो, ठूलो ह्वाईट बोर्ड दिनुस् हेडसर ।।

शैक्षिक सामाग्री आफै बनाउँला चार्ट आफैं लेखुँला बरु ।
स्टेशनरी बरु नमागुँला, ठूलो ह्वाईट बोर्ड दिनुस् हेडसर ।।
स्कुलको स्रोत छैन सुन्छु , तलब बाहेक दिँदैन सरकार ।
मागि थापि जसरी भए नि, ठूलो ह्वाईटबोर्ड दिनुस् हेडसर ।।

एकाई परीक्षा पेपर छैन , बोर्डमै बरु लेखी दिउँला ।
धेरै कुरा माग्दिन सर, ठूलो ह्वाईटबोर्ड दिनुस् हेडसर ।।
यो मार्करले बर्ष धान्छु , डस्टर कपडाको आफंै बनाउँछु ।
सिङ्गो हिसाब अटाउने, ठूलो ह्वाईट बोर्ड दिनुस् हेडसर ।।

:966 Views

Leave a Reply