शिक्षकलाई गृहकार्य !

हरिसुन्दर छुकां

भक्तपुर, ८ साउन । गृहकार्य कसले गर्नुपर्छ ? स्वभाविक रुपमा विद्यार्थीले गर्नुपर्छ । अहिलेसम्म पनि यही मान्यता छ । तर, भक्तपुरको एक विद्यालयले भने विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि गृहकार्य गराउने गरेको छ । तर विद्यार्थीलाई जस्तै गरी होइन ।विद्यार्थीले हरेक दिन, हरेक विषयको गृहकार्य कापीमा गर्नुपर्छ भने शिक्षकले भने तीन तीन महिनाको एक पटक गर्नुपर्छ । त्यसरी गरेको गृहकार्य प्रिन्सिपललाई बुझाउनुपर्छ, त्यो पनि इमेलमा ।

‘विद्यार्थीले मात्र होमर्वक वा एसाइन्मेन्ट गर्नुपर्छ भन्ने छैन’ कवि हरिहर तिमल्सिनाको ‘गाउँ हराएको साँझ’ को एक कविता ‘गृहकार्य’ को ‘के यो देशका सानाहरुले मात्र गृहकार्य गर्नुपर्ने हो ?’ भन्ने वाक्यांश सम्झँदै शिक्षकलाई गृहकार्य दिने अभ्यास गरिरहेको जेन्यूइन सेकेण्डरी स्कुलका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेंले भने ।

‘विद्यार्थीलाई हामी नयाँ किताब पढ्नका लागि भन्छौं तर शिक्षक आफैले नयाँ किताब पढेन भने उसले कितावप्रतिको भोक जगाउन सक्तैन ।’

भक्तपुरको देकोचामा रहेको उक्त विद्यालयका प्रिन्सिपल बिजुक्छेंले दुई वर्षदेखि शिक्षकलाई पनि गृहकार्य दिने अभ्यास गरिरहेको बताए । ‘विद्यार्थीले मात्र नभएर शिक्षकले पनि गृहकार्य वा एसाइन्मेन्ट गरे राम्रो हुने रहेछ ।’ प्रिन्सिपल बिजुक्छें भन्छन् । शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न, पठनप्रति अभिरुचि जगाउनका लागि किताव किन्ने, किताव पढ्ने र त्यसको समीक्षात्मक पुस्तक परिचय लेख्ने र सो लेखोट प्रिन्सिपललाई बुझाउनुपर्ने नियम बनाएको छ । त्यही आधारमा रही शिक्षकलाई गृहकार्य दिइएको छ । उनीहरुलाई कितावका अलावा फिल्मबारेम पुस्तकमै जस्तै गरी टिप्पणी लेख्ने काम दिइएको छ ।

यतिमात्र नभएर विद्यालयले आफूले पढेका पुस्तक, हेरेका फिल्मबारेमा पुस्तक चर्चा, अन्तरक्रिया कार्यक्रम, फिल्म चर्चा कार्यक्रममा आफ्नो धारणा राख्नुपर्ने पनि गृहकार्यको रुपमा दिने गरेको छ ।

पूर्णकालीनदेखि आंशिक शिक्षक गरी ७० जना शिक्षकले अनिवार्य रुपमा यो अभ्यास गर्नुपर्ने विद्यालयले जनाएको छ । ‘शिक्षकको क्षमता विकासमा यो अभ्यासले राम्रो गरेको छ, यसले उसको वृत्ति विकास गर्न विद्यालयलाई पनि सहयोग पुगेको छ ।’ प्रिन्सिपल बिजुक्छें भन्छन् ।

‘विद्यार्थीलाई हामी नयाँ किताब पढ्नका लागि भन्छौं तर शिक्षक आफैले नयाँ किताब पढेन भने उसले कितावप्रतिको भोक जगाउन सक्तैन । यसैले शिक्षकमा उत्सुकता  र जिज्ञासा बढाउने काम, लेख्ने सीपको विकासमा यसले सहयोग मिलेको छ ।’ प्रिन्सिपल बिजुक्छेंले थपे ।

शिक्षासम्बन्धी अनुसन्धाता जीवन कार्कीले विद्यार्थीका लागि मात्र नभएर शिक्षकका लागि पनि गृहकार्यको अभ्यास गर्नुलाई राम्रो भएको संज्ञा दिए । उनले त्यो खालको गृहकार्यले पढाइ र बुझाइको तह वृद्धि गर्न सघाउनुका साथै शिक्षकले विद्यार्थीलाई पढाउने विषय र पाठको तयारीका लागि पनि प्रेरणा मिल्ने बताए ।

‘शिक्षकले गृहकार्य गर्दा विद्यार्थीमा पनि त्यसको राम्रो छाप पर्छ, शिक्षकले त पढ्नुभएको छ, गृहकार्य गर्नुभएको छ भने, हामीले त अझ नगरी हुन्न भन्ने मनोवैज्ञानिक छाप विद्यार्थीमा पर्छ । यसैले शिक्षकले पनि गृहकार्य गर्नुपर्छ ।’ अनुसन्धाता कार्की भन्छन् ।

:730 Views

Leave a Reply