शिक्षकलाई २२ टिप्स : यसो गरे सफलता पाइन्छ आयोगको परीक्षामा

हरेक सफलताका पछाडि आत्मविश्वास, लगनशीलता र निरन्तरको अभ्यासको भूमिका महत्त्वपूर्ण हुन्छ । सफलताको ठूलो स्रोत नै अनुभव हो । यसका लागि महान वैज्ञानिक अल्बर्ट आइन्टाइनको भनाइ समय सान्दर्भिक हुन सक्छ –हिजोबाट सिक, आजका लागि बाँच, भोलिका लागि आशा राख, सबैभन्दा ठूलो कुरा नजानेको विषयमा सोध्न कहिल्यै नहिच्किचाऊ ।
विषयवस्तुको गहिरो अध्ययनले मात्र सफलता हात नपर्न सक्छ । त्यसका लागि अन्य प्रतियोगीभन्दा फरक र सिर्जनशील हुन जरुरी हुन्छ । अतः शिक्षा सेवा आयोगको परीक्षामा सफलता प्राप्त गर्न सघाउने तल उल्लिखित सुत्रहरूलाई जीवन व्यवहारमा कति र कसरी लागु गर्न सकिन्छ भन्ने विषय नै सबैका लागि मननीय हुन सक्छ ।

१. पाठ्यक्रममा केके विषयहरू छन् ? कुन विषय क्षेत्रबाट केकस्ता प्रश्नहरू सोधिन्छन् ? विषयवस्तुभित्र वस्तुगत र विषयगत प्रश्नहरू केकस्ता हुन सक्छन् ? यी प्रश्नका उत्तरको गहिराइसम्म पुग्नुपर्दछ ।
२. दिइएको विषयवस्तुसम्बन्धी धारणा स्पष्ट हुनुपर्छ । विषयवस्तुको अर्थ, परिभाषा, सुरुवात, परिवर्तन, आयाम आदिका बारेमा राम्रो ज्ञान हुन जरुरी हुन्छ ।
३. पाठ्यक्रमले तोकेको विषयवस्तुको क्षेत्र थाहा हुनुपर्छ । विषय क्षेत्रका पनि धेरै आयाम हुन सक्छन् ।
४. पाठ्यक्रममा दिइएका विषयको समय सन्दर्भअनुसारको अवस्था र वर्तमान इस्युका सम्बन्धमा जानकार भइरहनुपर्छ । विषयलाई मुलुकका सन्दर्भमा मात्र होइन, विश्व परिवेशलाई केन्द्रमा राखेर अध्ययन गर्नुपर्छ ।
५. आफूले पढिसकेका विषयवस्तुको समीक्षा गर्नुपर्छ । सैद्धान्तिक र व्यावहारिक पक्ष छुट्याउनुपर्छ । सम्भावनाका कुरा नियाल्नुपर्छ ।
६. पाठ्यक्रमका विषयवस्तुको सार थाहा पाउनुपर्छ र त्यसलाई निष्कर्षसम्म पुर्याउनुपर्छ ।
७. पढ्न सुरु गर्दा नयाँ शैली अपनाउनुपर्छ । नयाँ सन्दर्भ र विधिबाट अगाडि बढ्नुपर्छ ।
८. रुटिङ बनाएर पढ्नुपर्छ । जटिल विषयलाई धेरै समय दिनुपर्छ । पाठ्यक्रमलाई ध्यानमा राखेर नोट तयार गर्नुपर्छ ।
९. साझा विषयलाई एकपटक अध्ययन गर्नुपर्छ भने मुख्य विषयलाई विशेष ध्यान दिनुपर्छ ।
१०. एउटा शीर्षकलाई अध्ययन गरिसकेपछि विषयवस्तुलाई समेटेर जानुपर्छ । सामान्य क्षेत्र र विशेष क्षेत्र छुट्याउनुपर्छ ।
११. वस्तुगत प्रश्नको तयारी गर्दा कुनै कुरा नछुटून्, कुनै कुरा नदोहोरियून् भन्ने सुत्र अपनाउनुपर्छ ।
१२. विषयगत प्रश्नको तयारी गर्दा विषयवस्तु, विषयप्रतिको धारणा, विषयवस्तुको सार, विषयवस्तुको क्षेत्र, विषयवस्तुको वर्तमान सन्दर्भ, विषयगत सन्दर्भमा कमेन्ट आदि कुरालाई विशेष ध्यान दिनुपर्छ ।
१३. छोटो वा लामो उत्तर लेख्दा उत्तरको संरचनालाई ख्याल गर्नुपर्छ ।
१४. लेखको सुरुवात जर्नाििस्टक तरिकाबाट गर्नुपर्छ ।
१५. लेखन शैली र शुद्धतामा ध्यान दिनुपर्छ ।
१६. प्रतिस्पर्धात्मक परीक्षा भएकाले ढाँचा मिलाएर उत्तर लेख्नुपर्छ ।
१७. प्रश्नमा स्कोप लुकेको हुन्छ, समयले मागेको स्कोपअनुसारको उत्तर दिनुपर्छ ।
१८. पाठ्यक्रम, पाठ्यवस्तु, उद्देश्य, शैक्षिक सामग्री, शिक्षण सिकाइ क्रियाकलाप, मूल्याङ्कन, पाठयोजना, एकाइ योजना, वार्षिक कार्ययोजना, कक्षाकोठाको व्यवस्थापन आदि विषयमा अधिकतम ज्ञान हुनुपर्छ ।
१९. अङ्कभारका आधारमा उत्तरको आकार निर्धारण गर्नुपर्छ ।
२०. परीक्षार्थी सधैँ आशावादी, सकारात्मक र बौद्धिक हुनुपर्छ ।
२१. परीक्षाको तयारी गर्दा परीक्षाको शैली, नम्बर दिने तरिका बुझेर त्यसअनुसारको परीक्षाको रणनीति अपनाउनुपर्छ ।
२२. परीक्षाको पूर्व तयारी गर्दा होस् वा परीक्षा दिँदा होस् परिक्षार्थीले समयको व्यवस्थापन गर्न सक्नुपर्छ ।

कडा मिहिनेत गर्नुहोस् । आफूले आफैँलाई विश्वास गर्नुहोस् । समय भनेको जीवन हो, यसलाई कहिल्यै खेर नफाल्नुहोस् । तपाईँको सफलता सुनिश्चित छ ।

देवीदत्त पौडेल

:5635 Views

Leave a Reply