शिक्षक बन्छु भनी प्रतिवद्ध भएर आउने विद्यार्थीको अनुपात कति छ त ?

mahesnathमाध्यमिक शिक्षा परीक्षा अथवा एसईईको नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरु के विषय पढ्ने, कुन संकायमा जाने ? भन्ने प्रश्नको भूमरीले घेरिएका छन् । राम्रो ग्रेड हासिल गरेका विद्यार्थीको रोजाइमा भने विज्ञान, व्यवस्थापन पर्ने गरेका छन् । ती संकाय, विषयबाट चुहिएका विद्यार्थी मात्र मानविकी र शिक्षामा आउने गरेको कटुसत्य हो । यही वास्तविकताका विषय, नतिजा र संकाय छनोटका सन्दर्भमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन डा. महेशनाथ पराजुलीसँग हरिसुन्दर छुकांले गरेको कुराकानीको अंश :

एसईई रिजल्टलाई कसरी लिनुभएको छ, शिक्षाविद्हरुले त शिक्षाको स्तर खस्कियो भनेको छ ?
हामी एउटा जाँच हेरेर खस्कियो वा स्तर बढ्यो भनेर भन्न अलि मिल्दैन होला । किनभने एसाल रिजल्ट राम्रो आउने बित्तिक्कै ह्वातै बढ्यो, अर्कोसाल रिजल्ट अलि कमजोर हुने बित्तिक्कै रिजल्ट खस्कियो भन्नु भन्दा समग्रमा हाम्रो लागनी र प्रतिवद्धता अनुसार शिक्षामा अपेक्षित सुधार हुन सकेको छैन ।
शिक्षाको सुधार अझै अलमलमै देखिन्छ । राज्यले प्रशस्त लगानी गरेको छ । त्यो लगानी सही तरिकाले सही ठाउँमा भइरहेको छैन ।

अपेक्षित सुधार नहुनुको कारण चाहिँ के ?
शिक्षामा गरिनुपर्ने सुधारहरु, मुख्यतया शिक्षाको मूल मान्यताबाटै सुरु हुन्छ । के हो ? किन पढ्ने ? पढाइको अर्थ के हो ? सामान्य रुपले पढाइले मानिसलाई जागिरे बनाउँछ भनेर हामी भन्छौं । मानिसलाई चेतनशील बनाउँछ । ती सबै कुरा ठीक होला, विकासे अर्थमा । तर शिक्षाले नपढेका मान्छेहरु चेतनशील छैनन् त ? भन्ने प्रश्न हामीले कहिले पनि गरेनौं । अक्षर नजानेका मान्छेहरु, नेपालमै हेरौं, तपाइँ, हाम्रै घर वरिपरि, तिनले कहिले पनि अक्षर नजानेका, कुनै स्कुलमा नगएका, तिनको सीपव, तिनको ज्ञान, वुद्धि तिनमा छैन र ? शिक्षाको मूलभूत मान्यता नै कतै लगत भइरहेको हो कि भन्ने प्रश्न त्यहाँबाट आउँछ । पहिलो प्रश्न, पढ्ने किन, पढाउने किन ? अनि के पढ्ने ? हामीले पढ्नुपर्छ भन्ने मात्र भन्यौं । के पढ्ने भन्ने कुराको बहस हामीले साँच्चि नै गरेनौं होला । अथवा अत्यन्तै कम गर्यौं ।
अब सबैले भन्दै आएका कुराहरु शिक्षकको प्रतिवद्धता, तयारी, व्यवस्थापनको प्रतिवद्धता, तयारी, राजनीतिक नेतृत्वको प्रतिवद्धता, तयारी सबै ठाउँमा प्रश्न गर्ने ठाउँ छ । दोष सबैतिर उत्तिक्कै हो । शिक्षकलाई मात्र दोष दिएर उम्किने पनि ठाउँ छैन । शिक्षक, कर्मचारी, नेता सबै यही समाजका उपज हुन् । समाज किन यस्तो भयो त ? अझ माथिल्लो तहमा बसेर कुरा गर्नुपर्छ । हाम्रो सामािजक संरचना, मान्यता, मान्छेले घूस खाएर जतिसुकै पैसा कमाए पनि त्यो समाजबाट बहिष्कृत हुँदैन । अझ उसकै इज्जत बढ्छ । यस्तो खालको सामाजिक संरचना किन भयो ? यस्तो मान्यता किन बन्यो ? त्यस्ता प्रश्नहरुमा गम्भीर अनुसन्धान, चिन्तन, बहसहरु हुन जरुरी छ । त्यस्ता कुराहरुमा हामी कहिले पनि लागेका छैनौं ।

एसईईको रिजल्ट आएको छ, अहिले पनि संकायगत रुपले विषय छनोट गर्ने परिपाटी छ नि ?
जसले राम्रो ग्रेड ल्याएका छन्, तिनको पहिलो आकर्षण, हाम्रो समाजिक मान्यताले के भन्छ भने त्यसले विज्ञान नै पढ्नुपर्छ । विज्ञानबाहेक अरु कुनै पनि विषयको पढाइ काम छैन । विज्ञान पढ्न नपाउने, नसक्ने, हुतिहाराहरुले मात्रै, कमजोर र मुर्ख विद्यार्थीहरुले मात्रै कमर्स, व्यवस्थापन, आर्टस् अरु के, के विषय पढ्दै जाने हो । त्यस्तो खालको गलत खालको मानसिकताको विकास कसरी भयो ? त्यो बारेमा छलफल हुनुपर्छ ।

त्यो मान्यता कसरी स्थापित हुन गयो ?
त्यो भनेको हामी पैसाको पूजक भयौं । हाम्रो सामाजिक संरचना नै यस्तो खालको बन्यो वा बनाइयो, जहाँ केही व्यक्ति, केही समूहले सबै कुरा कब्जा गर्ने, उसैको नियन्त्रणमा हुने, अरु सबै त्यसैको पछाडि लाग्ने भयो । यस्तो किन भयो त साँच्चिकै ? जवाफ खोज्न अत्यावश्यक भइसकेको छ । हामी त्यस्ता गहन, मूलभूत कुराहरुतिर लागेका छैनौं । एउटा आधारभूत ज्ञान जसलाई भन्छौं, त्यतातिर जानै पाएका छैनन् । मान्छे एसएलसीमा किन फेल भए ? उनीहरुले किताव पाएनन् कि , ट्युशन पढ्न पाएनन् कि ? त्यो कुरा पनि खोज्नु जरुरी छ । किताव नपाउनु, तालिम प्राप्त शिक्षक नपाउनु, विद्यालयमा राम्रोसँग बुझाइदिने वातावरण नहुनुका विषय पनि खोजी गर्नुपर्छ । यो भन्दा मूल कुरा, हाम्रो अर्को जरुरी, हाम्रो समाजिक संरचना जुन बनेको छ, त्यसैले नै सबैकुरा बिगारी रहेको छ ।

तपाइँ काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनको डीन हुनुहुन्छ, यसहिसाबले एसईईपछि शिक्षा संकाय नै किन पढ्ने त ?
अरु विषय पढ्न आँट नआउने, पढ्न नपाउने, नसक्ने विद्यार्थीहरुको विकल्परहित संकायको रुपमा शिक्षा हुने गरेको छ । त्यो हुनुको पछाडि उनीहरुमा विज्ञान पढ्ने आँट छैन, अर्को शिक्षा पढेपछि सजिलै पास गर्न सकिन्छ, चाहिएको डिग्री हो, भर्ना भएपछि पाइहाल्छ, जाँचै नदिए पनि आउँछ भन्ने बुझाइ छ । त्यो बुझाइ नै लगत छ । त्यसैले मान्छेहरुको भीड त्यतातिर छ । गाउँगाउँमा खोल्ने स्कुलहरुमा पनि शिक्षा स्कुल, वा शिक्षा कलेज छ । त्यसले एउटा अवसर त दियो तर शिक्षा पढ्ने र भोलिका विद्यार्थीलाई, भोलिका विद्यार्थी शिक्षक बन्ने कत्तिको गहन दायित्व, अभिभारा हो भन्ने कुरा गलत मानसिकताले बिग्रिरहेको छ । शिक्षा पढ्नु भनेको सामान्यतया शिक्षक हुन भन्ने कल्पना गर्छौं । शिक्षक बन्नु भनेको त समाज निर्माणको ठूलो दायित्वलाई स्वीकार गर्नु हो । हाम्रो ध्यान त्यतातिर जाँदै गएको छैन ।
तपाइँको प्रश्नलाई दुई हिसाबले हरौं न । एउटा, त्यो दायित्व स्वीकार गरेर जाने हो कि ? म समाज निर्माणको गहनतम् दायित्वमा छु भन्ने स्वीकार गरेर जाने कि, हैन, यो विषय सजिलो छ, खुरुखुरु पास भैहाल्छ, डिग्री पाइहाल्छ भन्ने सोचेर जाने हो? त्यसले निर्धारण गर्छ ।

ग्रेड कम आएकाहरुको रोजाइमा मात्र शिक्षा पर्नुको कारण के पाउनुभएको छ ?
त्यसलाई पनि दुईटा हिसाबले हेरौं, हाम्रो सामाजिक मान्यता भनेको अलिकति ग्रेड राम्रो ल्याउनेहरुले पढ्नुपर्ने भनेको विज्ञान नै हो । उनीहरुलाई हुनुपर्ने डाक्टर, इञ्जिनियर नै हो । समाज अध्ययन गर्ने मान्छे चाहिएकै छैन भन्ने हिसाबको बुझाइ छ । माटोको भाँडो बनाउने कुम्हाले चाहिएकै छैन, प्लम्बिङ काम गर्ने प्लम्बर चाहिएकै छैन । शिक्षक चाहिएकै छैन, खाली डाक्टर र इञ्जिनियर चाहिएको छ । अनि त्यो बाटो जो हिँड्न सक्तैन, त्यसले छान्ने बाटो भनेको शिक्षा नै हो । शिक्षा पढ्न आउनेहरु अन्त नपाएर, पढ्न नसकेर आइरहेका छन् । त्यसमा थोरै प्रतिशत राम्रो ग्रेड आएका पनि होलान् तर हामीले त्यसमा अध्ययन गरेका छैनौं । साँच्चिकै म अरु विषय पढ्दिनँ, मेरो पहिलो रोजाइ शिक्षा हो, म शिक्षक बन्छु भनी प्रतिवद्ध भएर आउने विद्यार्थीको अनुपात कति छ ? त्यो हामीलाई थाहा छैन । हामीले देखे, सुनेको र भोगेको आधारमा कुरामात्र गर्ने हो । त्यस्ता कुराहरुमा अध्ययन पनि छैन ।

भनेपछि विज्ञान, व्यवस्थापनलगायतले शिक्षा क्षेत्रलाई थिचिएको अवस्था देखियो भन्दा हुन्छ ?
एकदम सही कुरा । शिक्षा क्षेत्रको आफ्नै कमजोरी, शिक्षा क्षेत्रलाई व्यवस्थापन गर्न नसक्ने, यसमा विद्यार्थीलाई आर्कषण गर्न नसक्ने अवसथा पनि त विद्यमान छ ।

अब कसरी आर्कर्षित गर्ने होला त ?
मेरो व्यक्तिगत अनुभवको कुरा भन्छु, त्यसमा पनि प्रशस्त छलफल, अध्ययन हुनुपर्छ । मुख्य कुरा शिक्षामा कसरी आर्कर्षित गर्ने ? भन्ने हो । राम्रा विद्यार्थीको पहिलो रोजाइ शिक्षा किन हुने ? भन्ने कुरालाई शिक्षा स्कुल, कलेजहरुले कसरी पाठ्यक्रम बनाउँछन् ? राम्रा शिक्षक त्यहाँ हुन्छन् कि हुँदैनन्, राम्रा कलेज हुन्छन् कि हुँदैनन् भन्ने प्रश्नमा मात्र सीमित हुँदैन । यो कुरा शिक्षाको सम्पूर्ण संरचनामा आधारित छ । संसारमा केही देशहरु छन्, जहाँ मानिसको पहिलो प्राथमिकता शिक्षण पेशा हुन्छ । तिनीहरुले कसरी त्यस्तो बनाउन सके ? त्यो प्रश्नतिर हामी जाँदै जाँदैनौं, हामी तत्कालको फाइदामात्र हेर्छौं । त्यसैमा सीमित भइरहेका छौं ।

शिक्षा संकाय ओझेलमा पर्दाको असर कहाँ परिरहेको छ ?
हामी राम्रा शिक्षक निकालिरहेका छैनौं । जो आउँछन्, ति कमजोर विद्यार्थी आउँछन् । कमजोर विद्यार्थीलाई पनि त राम्रो शिक्षक बनाउँछु भन्ने चुनौति शिक्षा क्षेत्रले कति स्वीकार गरेको छ ? राम्रा विद्यार्थी त आफै पढ्छन्, कमजोर भनीएका विद्यार्थीलाई पनि राम्रो कसरी बनाउने हो ? त्यो चुनौतिलाई आत्मसात गर्न शिक्षा स्कुल, कलेज तयार हुनुपर्छ, तर त्यो हुन सकेको छैन । त्यसको लागि त प्रतिवद्धता चाहिन्छ । वातावरण चाहिन्छ, देशले, समाजले, सरकारले, विश्वविद्यालयले त्यस्तो वातावरण बनाउँदै जानुपर्छ । हामी प्राय ः फर्मुलाको खोजीका हुन्छौं, यस्तो किन भयो, के भयो, यसलाई यसो गर्दिउँ न त भन्नेमा गयौं । एउटा कुरा समाधान गरेर सबै कुराको समाधान हुँदैन । सबै कुरा एकआपसमा जेलिएको छ । त्यो विषयमा छलफल हुनुपर्छ ।

:619 Views

Leave a Reply