शिक्षामा सुधारको योजना सुनाएका मेयरलाई प्रश्न : ‘कुरो गर्न त निक्कै सजिलो छ, तर काम गर्न त गाह्रो होला नि?’

सोमप्रसाद मिश्र, भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर हुन् । मेयरभन्दा उनी शिक्षक थिए । शिक्षक पेशा छोडी मेयर बनेका उनले चाँगुनारायण नगरपालिकाको विद्यालयको सुधारका लागि थुप्रै योजनाहरु अघि ल्याएका छन् । शिक्षकदेखि, विद्यालयसम्म, विद्यालयदेखि नगरपालिकासम्म र संघीय संविधानसम्म पनि समस्या देखेका छन् । यी समस्याका बाबजुद पनि शिक्षामा राम्रो गर्छु भन्ने तरिकाले लागिरहेका उनीसँग गरिएको कुराकानी ।

चाँगुनारायण नगरपालिकाको शिक्षाको अवस्था कस्तो छ ?
चाँगुनारायण नगरपालिकामा ३९ वटा सामुदायिक विद्यालयहरु छन्, त्यसमध्ये १४ वटा मावि, बाँकी आधारभूत विद्यालय छन् । निजी क्षेत्रको २४ वटा स्कुल छन्, तीमध्ये १३ वटा मावि छन् ।अरु आविहरु छन् । समग्रमा शिक्षाको स्थिति निराशाजनक छैन । राम्रै छ । चौध मावि मध्ये चार माविहरुको स्थिति अलि सुधार्नुपर्ने छ । बाँकी १० माविहरु एकदमै राम्रो, प्रतिस्पर्धामा चलेका छन् । तिनीहरुलाई अलिकति होस्तेमा हैंसे, माहोल अलि राम्रो बनाइदिने, मोटिभेसन गर्न सके पनि तिनीहरुको गुणस्तर बढ्छ । यो खालकोअ वस्था छ । यसमध्ये ६ वटा आधारभूत विद्यालयमा विद्यार्थी नभएको अवस्था छ ।

६ वटा विद्यालयमा विद्यार्थी संख्या भनेको त ठूलो संख्या भयो नि हैन र ?
हो, ठूलै संख्या छ । एउटा आधारभूत विद्यालय, जो धेरै वर्षदेखि बन्द रहेको थियो, त्यसलाई हामीले गत वर्षदेखि फेरि सञ्चालनमा ल्यायौं । त्याभन्दा एक वर्ष अगाडिदेखि चल्न सुरुश्र गरेको कालिका आधारभूत विद्यालय पनि चल्न थालेको छ । त्यो चलाउन तत्कालिन जिल्ला शिक्षा कार्यालयले गर्दा भएको हो । हामी आइसकेपछि हामीले पनि त्यहाँ थप शिक्षकको व्यवस्था गर्यौं । विनायक सरस्वतीमा पनि शिक्षकहरु हेरफेर गरेर, शिक्षक सरुवा गरेर चहलपहल बढाएका छौं । छ वटा विद्यालय चाहिँ अहिले विद्यार्थीविहीन अवस्थामा छ । विद्यार्थी नभएको, ६ दिन सात दिनमा स्कुल आउने, हाजिर गर्ने, तलब खाने, यस्तो स्थिति छ । त्यसलाई के गर्ने, कसो गर्ने भन्ने सन्दर्भमा कुनै हिसाबले नि चल्दैन भने त बन्दै गरेर त्यहाँको शिक्षकलाई अन्त लान पर्यो, त्यहाँ भएको सरसामग्रीहरु अर्को ठाउँमा लानुपर्यो । त्यो हिसाबले त्यसो किन नगर्ने भनेर हामी त्यहाँको समुदायलाई, व्यवस्थापन समितिलाई, हेडसरलाई, जनप्रतिनीधिलाई हामीले पत्राचार गर्यौं । पत्राचार गरिसकेपछि अहिले दुईवटा विद्यालयमा अलि भूकम्प ल्याएको छ । उहाँहरु घरदैलो गर्दैहुनुहुन्छ, योजना बनाउँदै हुनुहुन्छ । स्कुल बन्द हुने भो, स्कुल बन्द गर्न दिनुहुन्न भन्ने हिसाबले उहाँहरु जुटेर काम गर्दै हुनुहुन्छ ।

स्कुल चलाउने तयारी गरेर उहाँहरु मकहाँ डेलिगेशन आउनुभएको छ । उहाँहरुले स्कुल बन्द नगरौं, हामी सबै मिलेर चलाउँछौं, बरु हामीलाई शिक्षक अलिकति हेरफेर, अनुकूल, अलि खट्ने शिक्षक पठाइदिनुस् भन्ने कुरा गर्नु भएको छ । स्कुल बन्द गर्ने हाम्रो नियत हुँदै हैन । त्यसलाई फेरि चलाउने नियत हो । बन्द हुँदैछ है तपाइँको स्कुल भनेर प्रचारप्रसार गर्दा पनि कोही मान्छे तातेन, वास्ता गरेन भने त्यो त स्वभाविक रुपमा मर्ज हुन्छ, तर हलचल आएर, चिन्ता चासो बढाएर अभिभावकहरु लाग्नुभयो भने त्यसले पुनः जिवन्तता पाउँछ । त्यसहिसाबले ६ वटा आधारभूत विद्यालयलाई चिठ्ठी पठाएको मध्ये, दुईवटाको फेरि सञ्चालनको माहोल बनेर आएको छ । त्यसलाई हामी जस्तोसुकै सहयोग गर्छौं ।

चाँगुनारायण नपाभित्रका विद्यालयमा समस्या चाहिँ कहाँनिर छ त ?
अहिले यो एकै ठाउँमा समस्या भएर त यो स्थिति आएको हैन ? समस्या सबैतिर छ । संघीय शिक्षा ऐनमा समस्या छ । ऐन नियममा भन्दा पनि मान्छेको मनोवृत्तिमा समस्या छ ।

जस्तो ?
जस्तो कि शिक्षक बढुवा, सरुवा, करार नियुक्ति यो सबै कुरामा हिजो शिक्षा कार्यालयको हालीमुहाली हुन्थ्यो । त्यसमा विभिन्न खालको चलखेलहरु हुन्थे । म पनि एकजना शिक्षक थिएँ, त्यो पृष्ठभूमिबाटै आएको हुँ । मैले जिल्ला शिक्षा कार्यालयमा शिक्षाको गुणस्तर विकास गर्न सकिन्छ, कुन कुन स्कुलको पर्टिकुलर विषयमा छलफल भएको कहिले पनि पाउँदिन थेँ । को शिक्षकलाई सरुवा गर्ने, कसलाई बढुवा गर्ने, कसलाई करार नियुक्ति गर्ने, कसलाई जिल्लान्तर सरुवा ल्याउने, के तालिम गोष्ठी चलाउने ? त्यो खालको कुरामात्र हुन्थ्यो। शिक्षाको गुणस्तर बढाउने कुरामा छलफलै हुन्नथ्यो ।

अब त त्यो समस्या समाधान गर्ने जिम्मा तपाइँको काँधमा आएको छ नि ?
समस्या त्यहाँ हो, स्कुलमा पनि त्यो समस्या भइसकेपछि, कुनै पार्टीको पक्षमा लागिसकेपछि, कुनै नेताको कार्यकर्ता भइसकेपछि वा जिल्ला शिक्षा कार्यालयको कुनै कर्मचारीको, हाकिमको आर्शिवाद पाइसकेपछि, शिक्षकहरुले राम्रो मेहनत नगरिदिने, त्यो खालको पनि एउटा समस्या हो । विधि, विधान, नियमको हिसाबले अहिले उपयुक्त छ तर अब के छ भने केही शिक्षक साथीहरु, शिक्षा मन्त्रालय, विभाग यो सबै स्थानीय तहमा गएको यो अधिकार फिर्ता गर्नुपर्छ भनेर लागिरहुनुभएको छ । शिक्षकहरु पनि त्यसरी लागिरहनुभएको छ । मलाई लाग्छ, अब स्थानीय तहमा यो अधिकार आएपछि त हिजोको भन्दा मेहनत गर्नुपर्छ, अलि ज्यादा । ज्यादा खट्नुपर्छ । शिक्षा मन्त्रालय, विभागका कर्मचारीले पाइरहेको रसबस, चलखmेल पनि गर्न पाइँदैन । त्यो हिसाबले ब्युरोक्रेसीमा त्यो भएको होला, शिक्षकहरुमा पनि अब ज्यादा खट्नुपर्ने भो, भनेको ठाउँमा सरुवा जान नपाइने हुनसक्छ, या नचाहेको ठाउँमा पनि सरुवा हुनुपर्ने हुनसक्छ, स्थानीय तहभित्र, हिजो गरिरहेको भन्दा बढ्ता मेहनत गर्नुपर्ने भो, हिजो पनि मेहनत गर्नुभएको थियो, ठगेर खानुभयो भन्ने मेरो भनाइ हैन । बहुत खट्नुभएको छ, मेहनत गनुभएको थियो, तर अब त्यतिले पुगेन । त्योभन्दा बढ्ता खट्नुपर्ने भो, त्यो हिसाबले पनि एउटा असन्तुष्टि, त्रास पैदा भएको होला ।

म के आह्वान गर्छु भने निश्चय नै हिजो जुन व्यवस्थामा थियौं, त्यो प्रणालीले शिक्षा, हाम्रो सामुदायिक शिक्षा प्रणाली ध्वस्त भयो, कमजोर भयो, यो कुरालाई त मान्नैपर्छ, सबैले मानेकै चीज छ । अब त्यसलाई बदलेर हामी यो प्रणालीमा जाँदा पक्कै पनि यो प्रणालीले शिक्षालाई सुुर्धाछ । विकास गर्छ । हामी के चाहन्छौं, भने मैले सार्वजनिक रुपमा भनेको छु, दशवर्षभित्र चाँगुनारायण नगरपालिकामा कुनै प्राइभेट स्कुल हुने छैन ।

हो, त्यही अभिव्यक्तिले पनि तपाइँ विवादमा तानिनुभयो,नि जबकि संविधानले नै निजी स्कुलको बचाउ गरेको छ ? त्यो कसरी सम्भव होला र ?
हैन, प्रयत्न हो मेरो, सपना हो, कोशिस हो । किनभने नियम कानून प्रयोग गरेर, स्वीकृति नदिएर प्राइभेट स्कुललाई पेलेर हैन, प्राइभेट स्कुललाई पनि हामी त्यतिकै सहयोग गर्छौं ।सामुदायिक स्कुल राम्रो बनाएर त्यो काम हामी गर्छौं ।

सामुदायिक स्कूल राम्रो बनाउने बुटी चाहिँ कहाँबाट खोज्नुहुन्छ ?
गुणस्तर वृद्धि गरेर त्यो सम्भव देखिन्छ । त्यसका लागि शिक्षण प्रविधिमा सुधार गर्नुपर्छ । पढाउने विधि जुन छ, हामीले प्रयोग गर्दै आएको, त्यो विधिमा अलिकति सुधार गर्नुपर्छ । व्यवस्थापन समिति, शिक्षकले खास किसिमको अनुशासन कायम गर्नुपर्छ । मूलत ः त्यसमा म एउटै कुरामा बढी जोड दिन चाहन्छु भने, शिक्षकले कक्षामा पस्नुभन्दा अगाडि आज म के विषयमा कक्षा लिँदैछु, के सिकाउँदै छु, त्यो विषय कुन तरिकाले सिकाउने हो, कुन विधि अपनाउँछु र मैले ४५ मिनेट कक्षा लिइसकेपछि मैले सिकाएको कुरा विद्यार्थीले सिके कि सिकेनन् भनेर स्व मूल्यांकन गरेर निस्कने हो । पाँच मिनेट चाहिँ मैले, चालिस मिनेट कक्षा लिएँ, सिकाएँ, मैले डेलिभरी गरेको कुरा चाहिँ विद्यार्थीले बुझे कि बुझेनन् भन्ने कुरा थाहा पाएर निस्कनुपर्छ । त्यसले शिक्षकलाई पनि सन्तुष्ट हुन्छ । यसरी शिक्षण विधिमा पनि सुधार गर्नुपर्छ ।

यसरी गराउनका लागि त नगरपालिकाको शिक्षा ऐन पनि त्यो अनुसारको हुनुपर्छं कि ?
नीति त छ, नीति चाहिँ कक्षाकोठामा शिक्षकले के के गर्नुपर्छ भन्ने नीति बनाएर सम्भव छैन । शिक्षकहरुको आफ्नो पर्फमेन्समा भर पर्ने कुरा हो। शिक्षकहरुले के कुरामा ध्यान दिनुपर्यो भने मैले सिकाएको कुरा विद्यार्थीहरुले जानेमात्रै म सफल हुन्छु । यसमा अँग्रेजीमा एउटा भनाइ छ, इफ द चाइल्ड हाड्नट लर्र्नड, द टिचर ह्याडनट टट’ भन्ने । यदि विद्यार्थीले सिकेन भने शिक्षकले पढाएन, सिकाएन भन्ने बुझिन्छ, चाहे उसले जति नै राम्रो पढाएको होओस्, रिजल्टमा त बच्चाले राम्रो गरेको देख्नुपर्छ । त्यो रिजल्ट मेरो बच्चामार्फत् देखाउँछु भन्ने भावना शिक्षकमा हुनुपर्यो ।

त्यसको लागि के गर्नुपर्छ त ?
त्यसको लागि धेरै पुराना शिक्षकहरुलाई राजिनामा दिन उत्साहित गरिरहेका छौं । नयाँ शिक्षकहरु, फ्रेस जनशक्तिमा जोश छ, नयाँ प्रविधिको ज्ञान हुन्छ, विचार हुन्छ, त्यो हिसाबले शिक्षा नयाँ तरिकाले जान्छ भनेर हाम्रो नगरपालिकामा कम्तीमा पनि १२÷१५ जना पुराना शिक्षकहरुले राजिनामा गरिसक्नुभएको छ । त्यसमा एकदमै नयाँ युवाहरु प्रवेश गरिरहुनुभएको छ ।

त्यो राजिनामा दिनुको खास कारण चाहिँ के ?
अब धेरै पुरानो भयो, मैले गर्दा मेरो स्कूलको विद्यार्थी संख्या पनि बढेन, मलाई सन्तुष्टि पनि भएन, मेरो पेन्सन पनि भइसकेको छ भन्ने हिसाबले पनि होला । हामीले पनि पेन्सनज भइसकेका शिक्षकहरुले छोडेपनि हुन्छ भन्ने हाम्रो सन्देशले पनि मोटिभेट गरेको हुनुपर्छ । हामीले नयाँ करारमा शिक्षक नियुक्ति गर्दा पनि यो मेरो मान्छे, यो तेरो मान्छे, यो पार्टीको मान्छे, त्यो पार्टीको मान्छे भनेर भनेका छैनौं । हाम्रा मान्छे हैन, राम्रा मान्छे छान्नुपर्छ । त्यो हामीले गरेका छौं । त्यसहिसाबले २२/२५ जना नयाँ जनशक्ति विद्यालयमा घुसेका छन् । त्यसले पनि सुधार ल्याउँछ ।
चाँगुनारायण नगरपालिकामा चारपाँचवटा परीक्षा समिति छन्, कोही सामुहिक, कोही सामुदायिक, कोही संयुक्त परीक्षा समिति, प्याब्सन, एनप्याब्सन, कोही के, कोही के को स्थिति पनि छ । त्यसलाई पनि हामी आगामी दिनमा एक गरेर लैजान्छौं । यसपालि हामीले तिनीहरुलाई धेरै नजिक ल्यायौं । नगरपालिकाले यी सबै पक्षको प्रतिनीधित्व हुने गरी साझा परीक्षा समिति बनाएका छौं । हामी कक्षा ८ को परीक्षा यही समितिबाट गर्छौं, यही वर्षबाट गर्छौं । कक्षा पाँचको परीक्षा स्रोतकेन्द्रस्तरीय गर्छौं । आउने शैक्षिक सत्रदेखि सबै कक्षाको परीक्षा एउटै प्रश्नपत्रबाट गर्छौं । चाँगुनारायण नपाभरी एकरुपमा ल्याउँछौं । यसहिसाबले विस्तारै हामी सामुदायिक स्कूल र प्राइभेट स्कुलको एउटै प्रश्नपत्रबाट परीक्षा लिने तहमा पुग्नेछौं । त्यसो गर्दा सामुदायिक विद्यालयलाई एकप्रकारको दबाब पनि पर्छ, गुणस्तरमा सुधारका लागि । त्यसपछि क्रमशः एउटै कोर्शमा पनि लग्नेछौं । त्यसहिसाबले हामी अघि बढिरहेका छौं । साथै लोकस, सार्कजस्ता विभिन्न प्रविधिमार्फत् पनि शिक्षणका लागि उत्प्रेरणा दिने काम भइरहेका छन् । यसहिसाबले. पनि मैले आत्मविश्वासका साथ १० वर्षसम्ममा सामुदायिक विद्यालयको शिक्षालाई बिल्कुल प्रतिस्पर्धी बनाउन सक्छौं भनेर लागिरहेका छौं ।

कुरो गर्न त निक्कै सजिलो छ, तर काम गर्न त गाह्रो छ नि हैन र ?
गाह्रो छ, एक्लै गरेर हुन्न, यसमा सबैको साथ छ ।

समस्या चाहिँ के छ त ?
समस्या त शिक्षक दरबन्दीको छ । दरबन्दी मिलानको समस्या छ । दरबन्दीको कुरा गरिरहँदा कहिँ धेरै शिक्षक छन्, विद्यार्थी कम छन् । कहिँ धेरै विद्यार्थी शिक्षक कम छन् , विषय शिक्षकहरु नमिलिरहेको अवस्था छ । यसलाई हामी मिलाउँदै, समायोजन गर्दै, सरुवा गर्दै, पुनः स्थापना गर्दै जानुपर्छ ।

दरबन्दी मिलान त अहिलेको मुद्धा हैन, उसबेलादेखि नै यो विषय फलामको चिउरा चपाइ भइरहेको छ नि ?
यो विषयमा नेपाल सरकारले २० औं वर्षदेखि कोशिस गर्दै रहेको हो तर सकेन । नारा लगाए, तर सकेन, तर हामी सक्छौं ।

कसरी ? गर्नुहुन्छ ? त्यो कुरा, जस्तो कि एउटा उदाहरण यही नगरपालिकाको स्कुलको, नगरपालिकाको ९ नं. वडाको देवी माविमा ६५० को हाराहारीमा विद्यार्थी छन्, तर मावि दरबन्दीमा मात्र ५ जना शिक्षक छन्, तर अर्को एउटा स्कुल छ, जहाँ विद्यार्थी थोरै छन्, तर दरबन्दीका शिक्षक धेरै छन् ? त्यसलाई कसरी मिलाउनुहुन्छ ?
त्यो हामी शिक्षा समिति, नगर शिक्षा समितिमा पनि सबै क्षेत्र लगायत शिक्षक महासंघको पनि प्रतिनीधि हुनुहुन्छ, हामीले कानूनी व्यवस्थापन गरेका छौं । त्यो हिसाबले हामी खुला छलफल गरेर, कुराकानी गरेर, भरसक जर्बजस्ती नगरीकन हामी दरबन्दी मिलानको कुरा गर्छौं । दरबन्दी मिलानको कुरा भन्दा पहिला स्कुल मर्ज गर्ने कुरालाई अघि बढाउँछौं ।

शिक्षक महासंघको पनि कुरा जोड्नुभयो, शिक्षकहरु विभिन्न दलनिकट छन्, ती शिक्षकहरुले तपाईंले भन्नुभएजस्तै गरी काम गर्न सदन्छन् त ?
मलाई दिन्छन् जस्तो लाग्छ, किनभने शिक्षकहरु पनि विद्यालयको, शिक्षाको गुणस्तर सुधार गर्ने कुरा शिक्षकको व्यक्तिगत प्रतिष्ठासँग जोडिएको कुरा पनि हो । बरु मेरो व्यक्तिगत कुरा हैन होला, तर शिक्षकको त हो नि, त्यस हिसाबले राम्रो कुराको निम्ति सबैको साथ सहयोग पक्कै हुन्छ भन्ने लाग्छ ।

प्रस्तुति : हरिसुन्दर छुकां

:835 Views

Leave a Reply