शिक्षाविद्को माग :‘शिक्षाको सिन्डिकेट अन्त्य गर’

manapd wagle

१. बाल मनोविज्ञान बिपरित, उमेर र मानसिक क्षमता भन्दा ठुलो पुस्तकको भारी बोकाउने सवैखाले शिक्षण संस्था बन्द गर ।

२. पुस्तक, स्कूल ड्रेस र स्टेसनरीको व्यापार गर्ने निजी शिक्षण संस्थाको सिन्डिकेट हटाऊ ।

३.. शिक्षालयमा नेपाली बोल्न लगाम लगाउने सवै खाले शिक्षण संस्था बन्द गर ।

४.. सामाजिक शिक्षा र नैतिक शिक्षा पनि अंग्रेजीमा पढाउने शिक्षण संस्था खारेज गर ।

५. शिक्षालयको कक्षा खालि राखी संघ, संगठन,र राजनैतिक दलको कार्यक्रममा हाजिर हुने सवै शिक्षक हटाऊ ।

६. विद्यार्थीको हित भन्दा आफ्नो हितको लागि मात्रै गठन भएका सवै खाले संघ, संगठन र महासंघ खारेज गर ।

७. सरकारले लागु गरेको शुल्क तथा अन्य मापदण्ड लागू नगर्ने शिक्षालयको दर्ता खारेज गर ।

८. निःशुल्क शिक्षा भित्र अभिभावक माथि अनेक निहूँमा शुल्कको लगाम लगाउने सवै खाले प्रधानाध्यापक हटाऊ ।

९. शिक्षाको व्यापार गर्न पाउने गरी शिक्षा आठौँ संसोधन अगिका कम्पनीमा दर्ता भएका सवै विद्यालय कि गुठीमा ल्याऊ कि हटाऊ ।

१०. शिक्षालयको नाममा गएको रकम विचैमा चलखेल गर्ने सवै खाले प्रवृत्ति निष्तेज पार ।

११. विद्यालय शिक्षा र उच्च शिक्षाका बिभिन्न पाठ्यक्रम बिषय समितिमा बस्ने बिज्ञले नै पाठ्यपुस्तक लेख्ने र व्यापार गर्ने प्रथा बन्द गर ।

११.. शिक्षामा लगानी घटाउने तर प्रतिफल खोज्ने अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगको सिन्डिकेट तुरुन्त हटाऊ ।

१२. राजनैतिक घोषणापत्रमा शिक्षाको विकास देखाएर चुनाव जित्ने अनि त्यही शिक्षाको लागि रकम घटाएर अलपत्र पार्ने सवै राजनीतिक दललाई जिम्मेवार बनाऊ ।

१२. विश्वविद्यालय, राष्ट्रिय योजना आयोग र लोक सेवा आयोगको शिक्षा हेर्ने सदस्य , विश्वविद्यालय अनुदान आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, शिक्षक सेवा आयोग तथा अन्य शैक्षिक निकायका पदाधिकारी नियुक्तिमा लादिएको राजनीतिक दलको सिन्डिकेट खारेज गर ।

१३. “थिंक ट्यांक“को रूपमा रहनु पर्ने राष्ट्रिय शिक्षा आयोगको गठनमा हुने गरेको राजनैतिक दलको बेइमानी अन्त्य गर ।

१४. शिक्षालय भित्र गरिने सवै खाले राजनैतिक दल र तिनका भ्रातृ संगठनका कार्यक्रम बन्द गर ।

१५. बिभिन्न संघ, संगठनको निहूँमा शिक्षालयलाई लक्ष बनाई शिक्षक र विद्यार्थीले गर्ने सवै खाले हड्ताल निष्क्रिय पार ।

१६. ब्रिज कोर्सका नाममा खुलेका र अन्य सवै खाले ट्युसन सेन्टर बन्द गर ।

१७. पाठ्यपुस्तक पढ्नबाट विद्यार्थीको ध्यान मोडी प्रकाशन हुने सवै खाले गाइड बुक, प्रश्नोत्तर, र “की“ का गुणस्तरहीन व्यापार बन्द गर ।

१८. विद्यार्थीलाई नचाहिँदो प्रलोभनमा पारी विदेश धकेल्ने सवै खाले कन्सल्टेन्सी बन्द गर ।

१९. प्रति विद्यार्थी निश्चित रकम असुलेर तोकिएका उच्च शिक्षण संस्थामा विद्यार्थी भर्ना गर्ने ठेकेदारी प्रथा निष्तेज पार ।

२०. सार्वजनिक शिक्षाको गुणस्तरमा खेलाँची गर्ने सवै खाले सिन्डिकेट अन्त्य गर ।

शिक्षाविद् मनप्रसाद वाग्लेको फेसबुकबाट साभार ।

:576 Views

Leave a Reply