शिक्षा बीएड, काम इँटा भट्टामा : ‘तर, मैले हार मानेको छैन’

-हरिसुन्दर छुकां/ भक्तपुर । ‘मेरो विचारमा अहिलेको अवस्थामा आफूसँग योग्यतामात्र भएर पुग्दैन, धेरै कुराहरु चाहिने रहेछन्, त्यो चाहिँ मैले भोगिसकेको कुरा नै हो ।’

मकवानपुरका उर्मिला लामा, २४ ले शिक्षा संकायमा स्नातक सकाएको पनि चार वर्ष बित्यो। पढाइ सकेपछि काम गर्नुपर्छ भन्ने हिसाबले काम खोज्न थालिन्, विभिन्न ठाउँमा प्रयास पनि गरिन् । यतिमात्र नभएर उनले तीन पटक त लोकसेवा आयोगले खुलाएको परीक्षामा पनि सहभागी भइन् । ती प्रयासहरुमा सफल नभएपछि केही निजी कम्पनीहरु पनि धाइन्, तर ती प्रयासहरुले मूर्त रुप लिन सकेनन् ।

खासमा इँटा भट्टामा काम गर्नु नहुने भन्ने हैन, तर स्नातक सकाएकी उनी किन इँटा भट्टामा आइन् भन्ने उनको अुनभव अझै सुनौं भन्ने मनमा लागि नै रह्यो । (इँटा भट्टा भन्ने बित्तिक्कै पढ्न नसकेका, पढ्न नपाएका, नपढेकाहरुले काम गर्ने ठाउँको रुपमा चिनिएको अवस्थामा उनी भने मज्जाले काम गरिरहेकी छन्) अनि त उदाहरण सुन्न मलाई हतार लाग्यो र भनिहाँले, ‘जस्तो कि ?’

‘जस्तै, अब के भन्नु, जागिर खान, पावरको कुरा पनि आउँदो रहेछ क्या! आफ्नो योग्यता भएर मात्र हुँदैन रहेछ क्या, कुनै कुनै ठाउँमा पावरको कुरा, ज्याकहरुको कुरा पनि आउने रहेछ क्या ।’इँटा पोल्ने डगको रापिलो, राता र्याफिस छरिएको ठाउँमा राखिएको मुढामा बस्दै इँटा बोक्ने बोकनियालाई यति खेप भयो भनी छाप लगाइदिने काम गरिरहेकी लामालाई आफ्नै टाउको माथिको चिम्नीबाट पुतपुताउँदै उडिरेको धुँवाको मतलब छैन, हुर्हुरिएर उडने पाँगो माटोको पनि चिन्ता थिएन, न त पुसको चिसो जाडो, उनी ड्याम्म लुगा लगाएर आफ्नो ‘ड्युटी’ गरिरहेकी छन् । त्यही पावर, र ज्याकको कारण पनि स्नातक सकिए पनि विना हिच्किच्याहट, विना संकोच उनी इँटा भट्टामा तीन महिनादेखि काम गरिरहेकी छन् ।

यतिमात्र कहाँ हो र ? उनले फेरि थपिन्, ‘लिखित जाँच पनि दिइयो, पास पनि भएँ, एक नम्बरमा नाम पनि निस्कियो, अन्तवार्तामा पनि बोलाइयो, गएँ, अन्तर्वार्तामा मलाई सोधियो, ‘तिमीले यहाँ काम त पाउँछौं, तर तिमी कसको ‘थ्रु’ आयौ, यहाँका कोहीलाई चिनेको छ ?’
मैले भने, ‘अँह!’

प्रहरी सेवाबाट रिटायर्ड बुबा इन्द्रबहादुरले जस्तै गरी आफूले पनि देशको सेवा गर्ने मन गरेकी उनले निजामति सेवामा छिर्नका लागि एकचोटि अफिसरमा दुईपटक सुब्बा जाँच दिइन्, तर सफल भइनन् ।

दोलखा जिल्लाको गैरीमुडी गाविसको जनज्योति माविबाट वि.सं.२०६४ मा एसएलसी दिएकी उनी अहिले भक्तपुरको ब्रम्हायणीमा बस्छिन् भने काम चाहिँ ताथलीको भतिंडोलस्थित सरस्वती फिक्स इँटा उद्योग(श्री) मा ।

जीवनको उद्देश्य सरकारी कर्मचारी बन्नुलाई बनाएकी उनीसँग त्यति ठूलो र लाखौंलाखको सपना छैन । बिहान सात बजेदेखि साँझ साढे पाँचबजेसम्म इँटा भट्टाको डगमा इँटा बोक्नेहरुलाई यति खेप भयो भनी छाप लगाइ दिँदा दिन कटेको पत्तै नभएको उनको अनुभव छ ।

धेरै ठाउँमा प्रयास गरेपछि पनि रोजगारी नभएपछि, अरु युवाजस्तै विदेश जाने सपना नराखेकी उनलाई इँटा भट्टामा काम गर्नका लागि अरुले नभएर इँटा भट्टा सञ्चालकहरुले नै हौस्याएका थिए, ‘मलाई नाति अंकल(उद्योग सञ्चालक) ले नै हौस्याउनुभएको हो, उहाँले नै किन चुप लागेर बस्ने ? भन्नुभएपछि आएकी हुँ ।’

काम भनेको यो गर्छु, त्यो गर्दिँन नभन्ने, अनि कामलाई सानो ठूलोमा नतौलने स्वभावकी उनले आफूले कमाएको पैसा त्यतिकै खेर फालेकी छैनन्, पढाइमै खर्च गरिरहेकी छन् । उनी अहिले पनि पढिरहेी छन्, लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेकी छन् । उनको विश्वास छ, ‘संघर्ष गर्दै गएपछिमात्र उपलब्धि पाउने त हो नि । मान्छेले काम गरेपछि कहिले राम्रो हुन्छ,कहिले नराम्रो हुन्छ ।’

:1172 Views

Leave a Reply