श्रमिक शान्ति च्यासलमा सिभिल इन्जिनियरको पढाई

ललितपुर । ललितपुर महानगरपालिकाको च्यासलस्थित अव्वल सामुदायिक विद्यालय श्री श्रमिक शान्ति माविलाई सरकारले चालु शैक्षिकसत्रदेखि ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिंग विषयको पढाईको अनुमति दिएपछि प्राविधिक विषय अध्ययन गर्न चाहने मध्यम आय भएका मेधावि विद्यार्थीहरु खुसी भएका छन् ।

सरकारको प्रविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदद्वारा चालु शैक्षिक सत्रदेखिनै प्राविधिक शिक्षा अध्यापनको लागि स्विकृत प्राप्त गरेका ९५ वटा विद्यालयमध्ये श्रमिक शान्ति पनि एक भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकारले बताउनुभएको छ ।

२०१२ सालमा स्थापित सो विद्यालयले यसअघि साधारण धारको शिक्षा दिँदै आएकोमा चालु शैक्षिक सत्रदेखि रोजगारीमूलक प्राविधिक धारको शिक्षा दिन लागेको विद्यालयका प्रधानाध्यापक सानुलाल व्यञ्जनकारले बताउनुभयो । ‘साधारण शिक्षातर्फ हाम्रो जति मिहेनत र इमान्दारिता थियो र छ, त्यति नै गुणस्तरीय प्राविधिक धारतर्फ पनि रहने छ’—प्रधानाध्यापक व्यञ्जनकारले भन्नुभयो ।

३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिंग विषय अध्यापनको लागि पहिलो वर्ष ४८ सिट प्राप्त भएको र विद्यार्थीहरु भर्ना हुने क्रम शुरु भईसकेको ललितपुर महानगरपालिकाको तर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य (वडाध्यक्ष) राजु महर्जनले बताउनुभयो ।

मध्यमवर्गका विद्यार्थीलाई लक्षित गरि ३ वर्षे शुल्क पनि तोकिसकेको व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकारले बताउनुभएको छ ।

:1969 Views

Leave a Reply